धनगढी पोष्ट
सोमबार, १५ पुष २०८१ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवाले धनगढीमा गरिएको राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवले शिक्षा क्षेत्रमा नयाँ आयाम थप्ने बताएका छन् ।
सोमबार धनगढीमा नवाँै राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ को समापन गर्दै पुर्वमन्त्री देउवाले महोत्सवले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन महत्वपुर्ण टेउवा पुराउने बताएका हुन् ।
उनले शैक्षिक महोत्सवले शिक्षा क्षेत्रलाई सुचनामैत्री र समय सुहाउँदो बनाउनका लागि कोसेढुंगा साविक भएको बताए । उनले शिक्षा क्षेत्रको विकासका लागि नयाँ व्यवस्था आवश्यक रहेको दावी गरे ।
उनले कैलाली क्षेत्र नम्बर ५ को विकासका लागि आफु सधैं लागिरहेको र यसक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सकियो, एक लाख बढी दर्शकद्धारा अवलोकन
धनगढीमा भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ सकिएको छ । १४ बर्षपछि धनगढीमा भएको शैक्षिक महोत्सव पुस ९ गतेदेखि सुरु भएको शैक्षिक महोत्सव सकिएको हो ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालको अध्यक्षमा सम्पन्न समापन समारोहका प्रमसख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रकाशवहादुर देउवा रहनु भएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै औपचारिक रुपमा समापन गरिएको हो ।
सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान भन्ने नाराका साथ भएको नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्बन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेका थिए । महोत्सवलाई एक लाख बढी दर्शकले अवलोकन गरेका छन् ।
विभिन्न विद्यालय स्तरीय प्रतियोगिता आयोजना, दुई लाख बढी पुरस्कार वितरण
महोत्सव अविध भरमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना गरिएका छन् ।
चार वटा प्रतियोगिताका गरी विभिन्न सात वटा विधाहरुमा विद्यालय स्तरीय प्रतियोगिताहरु आयोजना गरिएका हुन् ।
त्यसमा झण्डै दुई लाख बीस हजार नगद पुरस्कार वितरण गरिएको छ । प्रत्येक विधामा प्रथम हुनेलाई नगद १५ हजार, दोस्रो हुनेलाई नगद दश हजार र तेस्रो हुनेलाई नगद पाच हजार सहित सम्मान गरिएको छ ।
विद्यालय स्तरीय नृत्य प्रतियोगितामा थ्रीस्टार बोर्डिङ स्कुल पहिलो भएको छ । बात्सल्य विद्या निकेतन दोस्रो हुँदा ग्ली एकेडेमी तेस्रो भएको छ ।
चित्रकला प्रतियोगिता आधारभुत तह तर्फ शैलेश्वरी बोर्डिङ स्कुलकी भावना चन्द प्रथम भईन् । हिमाल एकेडेमीका निरज ठकुल्ला द्धितीय हुँदा डिस्कभरी बोर्डिङ स्कुलकी आयुषा खड्का तृतीय भईन् ।
चित्रकला प्रतियोगिता माध्यमिक तह तर्फ एक्सीस विद्याश्रमकी निधि पाण्डेय पहिलो भईन् । थ्रीस्टार बोर्डिङ स्कुलकी रेखा ओझा दोस्रो र डिस्कभरी बोर्डिङ स्कुलका निरज सिंह जागरी तेस्रो भए ।
वक्तृत्वकला प्रतियोगिता आधारभुत तह तर्फ ऐश्वर्य विद्या निकेतनकी साक्षी भट्ट पहिलो भईन् । राईजिङ स्टार बोर्डिङ स्कुलकी तृप्ती सिंह दोस्रो र ग्यालेक्सी सेकेन्डरी स्कुलका वैभव बिष्ट तेस्रो भए ।
वक्तृत्वकला प्रतियोगिता माध्यमिक तह तर्फ फारवेष्ट बोर्डिङ स्कुलका प्रज्वल भट्ट प्रथम भए । वात्यल्य विद्या निकेतनकी सान्त्वना पोखरेल दोस्रो हुँदा कुमुदिनी आदर्श विद्या निकेतनका नरेन्द्र आचार्य तेस्रो भए ।
कविता प्रतियोगिता आधारभुत तह तर्फ माईलस्टोन बोर्डिङ स्कुलका शिशिर ओझा प्रथम भए । ग्ली एकेडेमीकी आयुषा कटुवाल दोस्रो हुँदा मालाखेती भिजन स्कुलकी दिक्षा जोशी तेस्रो भईन् ।
कविता प्रतियोगिता माध्यमिक तह तर्फ एरिष्टो बोर्डिङ स्कुलका गौरव उपाध्याय प्रथम भए भने एक्सिस विद्याश्रमका करन सिंह धामी दोस्रो भए ।
एयाईन्स ईन्टरनेशनल स्कुलका दिनेश फराडा र चैतन्य पाठशालाकी जेनी चौधरी संयुक्त रुपमा तेस्रो भईन् । सात वटा विधाहरुमा विजयी प्रथम भएकाहरुलाई नगद १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई पाँच हजार नगद सहित सम्मान गरिएको छ ।
दैनिक रुपमा शैक्षिक बहस आयोजना
महोत्सव अवधिभर दैनिक रुपमा शैक्षिक वहस आयोजना गरिएको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु आयोजना गरिएका छन् ।
विभिन्न विषयवस्तुहरुसँग रहेर सहजकर्ता टेकराज अवस्थी र दिर्घराज उपाध्यायले सहजकर्ताको रुपमा बहस कार्यक्रम सञ्चालन गरेका छन् ।