धनगढी पोष्ट शुक्रबार, ३० फागुन २०८१   March 14, 2025

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’ उपन्यास विमोचन

क्याप्टेन वेद उप्रेतीको ‘पायलट प्रेम’ उपन्यास विमोचन

धनगढी । धनगढीमा क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ को विमोचन गरिएको छ । धनगढीमा शनिबार सुदूरपश्चिम विश्वविद्यालयका डिन प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखकका आमा सरस्वती उप्रेती लगायतकाले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन् ।

क्याप्टेन उप्रेतीले आफ्नो १३ औं कृतिको रूपमा पायलट प्रेम उपन्यास लेखेका हुन् । यस उपन्यासभित्र पाइलटका चुनौतीपूर्ण जीवन, उतारचढाव, रोमान्सका कुराहरू समेटिएको उनले बताए । 

उपन्यासभित्र ९० प्रतिशत वास्तविक कथा समेटिएको उनले जानकारी दिए । यसैगरी, १० प्रतिशत काल्पनिक कुराहरू राखिएका छन् । उनले भने,‘ यो उपन्यास पाइलट अध्ययन गर्ने विद्यार्थीलाई मार्गदर्शनसमेत हुने छ ।’ उप्रेतीले उपन्यासभित्र समेटिएका कथा आफ्नोभन्दा पनि अरूको रहेको बताए । 

पुस्तकमाथि समीक्षा गर्दै कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले उपन्यासको बाहिर पायलट प्रेम भनिए पनि भित्र जीवनवादी र आशावादी उपन्यास रहेको बताए । 

उनले उपन्यासभित्र विभिन्न किसिमको प्रेमका व्याख्या गरिएको उल्लेख गर्दै प्रेममा ब्रेकअप भएमा निराश हुन नहुने सन्देश उपन्यासले दिएको उल्लेख गरे । लेखकले दार्शनिकतामा बग्दै आशावादीका मोटिभेसनल कुरा, प्रकृति प्रेम र वियोगका कुराहरू समेटेको भट्टले बताए । 

अर्का टिप्पणीकर्ता कलमराज जोशीले लेखक क्याप्टेन उप्रेतीले जहाजको उडानमात्रै नभएर शब्दको उडान पनि उपन्यासमा भरेको उल्लेख गरे । उनले जीवनलाई बहुआयामिक तरिकाले अगाडि बढाउन उपन्यासले सन्देश दिएको बताए ।