यो बर्ष मनसुन ढिला शुरु हुने

धनगढी

  गत बर्षको तुलनामा नेपालमा यो वर्ष मनसुन केही ढिला सुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

   सामान्यतया नेपालमा जनु १० मा मनसुन सुरु हुने गरेको भए पनि यो वर्ष केही ढिला हुने भएको हो ।  मौसमविद शान्ति कँडेललका अनुसार यो वर्ष मनसुनका लागि अनुकुल वातावरण अझै बनिसकेको छैन जसका कारण केही ढिला शुरु हुनेछ ।

   उनले अहिले नेपालमा दक्षिण पूर्वी हावा मनसुनका लागि आवश्यक पर्ने गरी सक्रिय नरहेकोले मनसुनका भित्रनका लागि केही दिन लाग्ने बताईन ।

    मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा सक्रिय हुनुका साथै सतल १५०० मिटरमाथि जलवाष्पयुक्त वायु हुनु पर्ने उनले बताइन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपालको पूर्व हुँदै भित्रिएपछि मनसुन सुरु हुन्छ ।

  तर अहिले पूर्वमा पानी पर्ने गतिविधि नरहेको र बंगालको खाडीमा बनेको मनसुनी न्यून चापीय रेखा पनि त्यति सक्रिय छैन । केही दिनमा जलवाष्पयुक्त वायु आउने तथा मनसुनी न्यून चापीय रेखा पनि सक्रिय भएपछि नेपालमा मनसुन सुरु हुने मौसमविद कँडेलले बताएकी छन् । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव छ ।

   हाल बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का सबै भूभाग तथा प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडि भूभागमा सामान्य बदली भएको छ । यस्तै प्रदेश २ का पश्चिमतिरका भूभागमा पनि सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम आंशिक बदली भएको महाखाशाले जनाएको छ । । प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थान र प्रदेश २, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।