धनगढी पोष्ट बिहिबार, ०२ असोज २०८२   September 18, 2025

सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा खड्का

सुदूरपश्चिम खेलकुद परिषद्को सदस्य सचिवमा खड्का

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयको सिफारिसमा बिहीबार प्रदेश मन्त्रीपरिषद्को बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

खड्का फुटबल र हक्कीका पुर्व खेलाडी हुन् । उनले आधा दर्जन बढी राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेका छन् भने एउटा राष्ट्रिय हक्की खेल पनि खेलेका थिए ।

कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष भइसकेका खड्का क्रिकेट विकास समिति क्षेत्र नम्बर ९ का कोषाध्यक्ष पनि थिए । तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिको सदस्य भएर पनि खड्काले काम गरिसकेको अनुभव छ ।

झण्डै तीन महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद रिक्त थियो । २०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए । उनको कार्यकाल ९ चैतदेखि सकिएको थियो ।