धनगढी पोष्ट
बिहिबार, ०१ साउन २०८२ मा प्रकाशित
धनगढी । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) कैलालीले एसइई २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालय तथा विद्यार्थीहरूलाई सम्मान गरेको छ । धनगढीमा बिहीबार एक कार्यक्रमका बिच धनगढीका तीन विद्यालय र एक विद्यार्थीलाई सम्मान गरेको हो ।
प्रिन्सिपल एसोसिएसन अफ नेपालले एसइई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय धनगढीको पञ्चोदय माध्यमिक विद्यालय, सर्वोदय माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयलाई सम्मान गरेको हो । भने एसइईमा चार जिपिए ल्याउन त्रिभुवन माध्यमिक विद्यालयका छात्र अशोककुमार अवस्थीलाई समेत सम्मान गरेको हो ।
सम्मानित विद्यालयका प्रधानाध्यापकहरु र विद्यार्थी अवस्थीलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा.कमलप्रसाद पोखरेलले खादा, माला र प्रमाणपत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा.पोखरेलले सार्वजनिक शिक्षाको गुणस्तर सुनिश्चित गर्नेका लागि यस विषयमा गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताए । शिक्षाबाट कुनै पनि बालबालिका बचित हुन नपरोस् भनेर प्रिन्सिपल एसोसिएसनको यसतर्फ ध्यान जान जरुरी रहेको उनले बताए ।
विद्यार्थीलाई विद्यालयमा टिकाउने जिम्मेवारी पनि प्रधानाध्यापक रहेको उनको भनाइ छ ।
विद्यालयमा विद्यार्थीहरूलाई टिकाउनका लागि सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको उनले बताए ।
सार्वजनिक विद्यालयमा शैक्षिक गुणस्तर सुनिश्चित गर्नेका लागि नियमित पठनपाठन, अन्तरक्रियालगायतका अन्य विभिन्न क्रियाकलापहरू पनि गर्ने आवश्यक रहेको उनले बताए ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा।हेमराज रेग्मीले विद्यार्थीलाई शिक्षाका साथ साथै सिपहरू पनि सिकाउन जरुरी रहेको बताए । सरकारले विद्यालयका भौतिक संरचना निर्माणमा ठुलो रकम खर्च गरिरहेको उनले बताए ।
आगामी आर्थिक वर्षका लागि पनि विद्यालयका भौतिक संरचना निर्माणका लागि रकम नै विनियोजन गरिएको उनले बताए । विद्यालयको गुणस्तर सुधार लगायत शिक्षक–शिक्षिकाहरूलाई सक्षम बनाउनका लागि केही कार्यक्रमहरू सञ्चालन गरिरहेको उनको भनाइ छ ।
अभिभावकको पहिलो रोजाइ निजी विद्यालय नभई सामुदायिक विद्यालय बनाउनमा प्रधानाध्यापक ठुलो भूमिका रहेको बताउँदै उनले यहाँहरू सँग समन्वय सहकार्य गर्ने प्रदेश सरकार तयार समेत रहेको बताए ।
प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) सुदूरपश्चिमका अध्यक्ष एवं धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउने हो भने पहिला प्रधानाध्यापक क्षमता अभिवृद्धि गर्ने जरुरी रहेको बताए ।
एसइईमा प्रदेशभरका चार जिपिए ल्याउने विद्यालयका विद्यार्थीहरूलाई जिल्लामा एक हप्तासम्म सम्मान कार्यक्रमहरू राखिएको उनले बताए । उनले सार्वजनिक शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने र गुणस्तरीय शिक्षा हुनुपर्ने बताए । प्रदेशका सबै स्थानीय तहरुमा पनि समिति गठन गर्ने उनको भनाइ छ ।
सार्वजनिक विद्यालयको गुणस्तरीय शिक्षा र उत्कृष्ट विद्यालय बनाउने नै संस्थाको महत्त्वपूर्ण उद्देश्य रहेको उनले बताए । उनले शैक्षिक कार्यक्रमलगायत कक्षा कोठाहरूमा पनि रूपान्तरण गर्ने यसको उद्देश्य लक्ष्य समेत रहेको बताए ।
प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) कैलालीका अध्यक्ष तर्कराज जोशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक खगेन्द्रराज ओझाले गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिकालगायत विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।