धनगढी पोष्ट आइतबार, २९ भदौ २०८२   September 14, 2025

आजबाट स्थानीय तहका सेवा सुचारु हुने

धनगढी । आन्दोलनपछि कफ्र्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा आज (आइतबार) बाट सुचारु गरिने भएको छ । विद्यालय पनि खोल्ने तयारी छ । शनिबारबाट स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७ सय ५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सेवा सञ्चालन गर्न सबैलाई निर्देशन दिइसकिएको छ । ‘क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ’ प्रवक्ता पराजुलीले भने, ‘क्षति नभएका कार्यालयहरूले त सहज रूपमा सञ्जालन गर्न सकिने अवस्था छ ।’

 उनका अनुसार सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने छ । स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए ।

प्रवक्ता पराजुलीका अनुसार क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनिएको छ । आन्दोलनका कारण केही दिन रोकिएका विद्यालयहरू पनि अब खोल्न तयारी छ । शिक्षा मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव मधुप्रसाद घिमिरेका अनुसार, स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्ने तयारी छ ।

विद्यालय स्थानीय तहमा अन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाहरूले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन् । उनी भन्छन्, ‘सम्बन्धित स्थानीय तहले अवस्था हेरेर विद्यालयहरू सञ्चालन गर्ने कुरा छ, धेरैजसो ठाँउमा आइतबारदेखि स्कूल खुल्ने तयारी भएको सूचना पाएका छौं ।’