धनगढी पोष्ट
आइतबार, २९ भदौ २०८२ मा प्रकाशित
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले आज (आइतबार)देखि अत्यावश्यक सेवा प्रदान गर्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले भौतिक संरचना ध्वस्त बनेका कारण जिल्ला प्रशासन कार्यालयले टेन्ट गाडेर सेवा प्रदान गर्न लागेको हो ।
आगजनीले भवनमा क्षति पुग्नुका सँगै सामानहरु पनि नष्ट भएकाले अत्यावश्यक सेवा टेन्ट गाडेर शुरु गरिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवंम् सूचना अधिकारी शिवराज जोशीले बताए ।
जोशीका अनुसार तत्काललाई नागरिकता र विभिन्न खालका सिफारिस सम्बन्धिका सेवा सञ्चालन गर्ने तयारी छ ।
सेवा सञ्चालन गर्न दाताले कम्प्युटर, प्रिन्टर, स्क्यानर लगायतका नभइ नहुने सामान उपलब्ध गराउने वचन दिएकाले टेन्ट गाढेर भए पनि अत्यावश्यक सेवा सुचारू गर्न लागिएको जोशीले बताए ।
जेनजीले आन्दोलनका क्रममा आगो लगाउँदा प्रशासन कार्यालयका सबै भौतिक संरचना, सरसामान तथा कागजपत्र जलेर नष्ट भएका छन् । सेवा सुचारु गर्न आगोले जलेर खण्डहरमा परिणत भएको प्रशासन कार्यालय परिसरमा शनिबार सरसफाइ गरिएको छ ।