कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका कैलालीका गोदावरी, गौरिगंगा र घोडाघोडी नगरपालिकामा पुगेर भौतिक संरचनाहरूको अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।
आन्दोलनका क्रममा यस अघि प्रदेश स्थितका तोडफोड र आगजनीबाट ध्वस्त भएका २९ वटा कार्यालयहरुको भौतिक संरचनाहरुको अनुगमन तथा निरिक्षण गर्नु भएका मुख्यमन्त्री शाहले र्आइतबार तीन वटा नगरपालिकामा अनुगमन तथा निरिक्षण गर्नु भएको हो । आन्दोलनबाट गोदावरी नगरपालिकामा ९ करोड ५४ लाख २६ हजार ५ रुपैंया, गौरिगंगा नगरपालिकामा ७ करोड १२ लाख २३ हजार ५ सय रुपैंया र घोडाघोडी नगरपालिकामा ८ करोड ५० लाख २५ हजार ७ सय २९ रुपैंया क्षति भएको छ ।
अनुगमन तथा निरिक्षणका क्रममा मुख्यमन्त्री शाहले आन्दोलनबाट भौतिक संरचनामा भएको क्षतिबाट नआत्तिएर सबै एकजुट भई अगाडी बढ्नु पर्ने बताउनु भयो । “विषम परिस्थितिमा पनि जनतालाई हामीले सेवा प्रवाह गर्नु पर्दछ,” मुख्यमन्त्री शाहले भन्नुभयो, “पालिकाहरुले सेवा प्रवाह गरिरहनुभएको छ, धन्यवाद ।”
भौतिक संरचना निर्माण तथा प्रदेशलाई मितव्ययी बनाउन सुदूरपश्चिम प्रदेश सरकारले दश लाखभन्दा साना आयोजना कटौती तथा बैठक भत्ता, बिभिन्न किसिमका छपाई र सेमिनार गोष्ठिमा खर्च कटौती गरेको बताउनु भयो । सुदूरपश्चिम सरकारले अन्य प्रदेश भन्दा अगाडी खर्च कटौती गरेको उहाँले बताउनु भयो ।
यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लम्कीचुहा–७ हरैयापुरमा अण्डा उत्पादन गरिरहेको एक पोल्ट्री फर्ममा अनुगमन तथा निरीक्षण गर्नुभएको छ । विद्युत आपूर्ति कम हुँदा गय राती उक्त पोल्ट्री फर्मका १२ हजार कुखुरा मरेका र जसबाट करौडको क्षती भएको पीडित दुर्गा वोहरा बताएका छन । मुख्यमन्त्री शाहका साथमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा अनुगमन तथा निरक्षणमा सहभागी हुनुहुन्थ्यो ।
विधुत आपूर्तिले सो पोल्ट्री फर्मका कुखुरा मरेको गुनासो आएपछि मुख्यमन्त्री शाहले विधुत आपूर्ति प्रभावकारी बनाउन नेपाल विधुत प्राधिकरण टीकापुर शाखाका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई सो विषयमा आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।