धनगढी पोष्ट
मङ्गलबार, ०४ कार्तिक २०८२ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमल बहादुर शाहले किसानहरुले धानको समर्थन मूल्य पाए/नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।
किसानहरुबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासो आएपछि मुख्यमन्त्रि शाहले आज (मंगलबार) प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन दिनु भएको हो । उहाँले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरुले कार्यान्वयन नगरेको पाएईमा कारवाहीको दायरमा ल्याउन निर्देशन दिनुभयो ।टेलिफोन संवादमा मुख्यमन्त्रि शाहले सरकारले निर्धारण गरेको धानको मूल्य किसानले पाउनु पर्ने बताउनु भयो ।
२०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक सूचना मार्फत मोटा धानको मूल्य प्रति क्विन्टल तीन हजार ४६३ दशमलव ८१ रुपियाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार ६२८ दशमलव ३३ रुपियाँ निर्धारण गरिएको जानकारी गराउनु भएको थियो । साथै उहाँले सूचनामा सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउनका सबै पालिकालाई आग्रह गर्नु भएको थियो ।
टेलिफोन संवादमा प्रमुख जिल्ला अधिकारी लम्सालले छठ लगत्तै कैलालीका बसै स्थानियतहहरुमा अनुगमन गर्ने बताउनु भएको थियो ।