धनगढी पोष्ट बिहिबार, १३ कार्तिक २०८२   October 30, 2025

लम्की (दोदोधारा) – बरेली र इनरूवा–पुर्णिया  अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल भारतबीच सम्झौता

संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ ।

लम्की (दोदोधारा) – बरेली र इनरूवा–पुर्णिया  अन्तरदेशीय प्रसारण लाइन बनाउन नेपाल भारतबीच सम्झौता

नेपाल र भारत सरकारबीच लम्की (दोदोधारा)–बरेली र इनरूवा–पुर्णिया  ४०० केभी अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न सम्झौता भएको छ ।  नयाँ दिल्लीमा बुधवार  अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पुर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र भारतका विद्युत मन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उपकार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेशन अफ इण्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले सम्झौतापत्रमा  हस्ताक्षर गरेका हुन् ।

संयुक्त लगानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी संस्थापना गर्न बाटो खुलेको छ ।

मन्त्रिपरिषद्को ३० असोजको बैठकले प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा नेपाल तथा भारत दुवै भूमिमा दुई वटा संयुक्त कम्पनी स्थापना गर्न र उक्त कम्पनीहरूमा स्वपूँजी (इक्विटी) लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

दुई वटा अन्तरदेशीय प्रसारण लाइनको भारतीय भुभागमा पर्ने खण्ड निर्माणका लागि भारतमा संस्थापना गरिने संयुक्त कम्पनीमा प्राधिकरणको ४९ प्रतिशत र पावर ग्रिडको ५१ प्रतिशत सेयर हिस्सा रहनेछ । त्यस्तै नेपाली भूभागमा पर्ने खण्ड नेपालका लागि नेपालमा संस्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत सेयर हिस्सा रहनेछ ।

दुई प्रसारण लाइनको निर्माणमा ८० प्रतिशत ऋण र २० प्रतिशत सेयर पूँजी रहने गरी वित्तीय व्यवस्थापन गरिनेछ । इनरुवा–पूर्णिया प्रसारण लाइनको करिब २६ किलोमिटर खण्ड नेपाली र १०९ किलोमिटर खण्ड भारतीय भूभागमा पर्नेछ ।

लम्की–बरेली प्रसारण लाइनको करिब ३३ किलोमिटर खण्ड नेपाली र १८५ किलोमिटर खण्ड भारतीय भुभागमा निर्माण हुनेछ ।

नेपाल–भारत संयुक्त प्राविधिक टोलीले सन् २०१० मा तयार पारेको अध्ययन प्रतिवेदन अनुसार इनरुवा–पुर्णिया प्रसारण लाइनको प्रारम्भिक लागत नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ६५ लाख र ४ अर्ब १३ करोड भारतीय रुपैयाँ  ( भारु ) लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै लम्की–बरेली प्रसारण लाइनको नेपालमा प्रारम्भिक लागत अनुमान नेपाली र भारतीय खण्डको क्रमशः २ अर्ब ५७ करोड र ६ अर्ब १४ करोड भारु रहेको छ । प्राधिकरणले आफ्नै स्रोतबाट नेपाल र भारतमा संस्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब र २ अर्ब बराबरको इक्विटी लगानी गर्नेछ ।