धनगढी पोष्ट शुक्रबार, १४ कार्तिक २०८२   October 31, 2025

रेशमले दिए नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताको निवेदन

रेशमले दिए नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताको निवेदन

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार निर्वाचन आयोगमा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सहित उनले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । जनमत पार्टी छाडेका अब्दुल खानलाई उक्त पार्टीको वरिष्ठ उपाध्यक्ष बनाइएको छ । 

नाउपा नेपालको महासचिवमा उमाशंकर चौधरी छन् । कार्यसमितिमा रेशम चौधरी आफु पनि छैनन् र परिवारका कसैलाई पनि राखेका छैनन् । पार्टी नेतृत्वलाई लिएर विवाद भएपछि रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीबाट अलग भएका थिए । उनले जेनजी पुस्ताका कबीर सोपलाई अध्यक्षको जिम्मेवारी दिएका छन् ।

केही समयअघि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच एकताको प्रयास समेत भएको थियो । तर अन्तिम समयमा एउटा फर्जी पत्रका कारण रेशम चौधरी थुनामा गएपछि एकता प्रक्रिया नै भाँडिएको थियो । त्यसपछि दुवै पार्टीबिच एकता हुन सकेनन् ।

जेनजी आन्दोलनपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले राजीनामा दिएर निस्केका थिए । अहिले उनी रेशम चौधरीले दर्ता गराएको नागरिक उन्मुक्ति पार्टी नेपालको वरिष्ठ उपाध्यक्ष भएका छन् । रेशम चौधरी आफु जेलमै रहेको बेला श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष राखेर २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी दर्ता गराएका थिए । जेलबाट नै उनले गठन गरेको पार्टीले २०७९ को चुनावमा राम्रै परिणाम ल्याएको थियो ।