धनगढी पोष्ट शुक्रबार, १२ मङि्सर २०८२   November 28, 2025
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट

काठमाण्डू गोर्खाजले  दियो  चितवन राइनोजलाई एक सय ४३ रनको लक्ष्य

काठमाण्डू गोर्खाजले  दियो  चितवन राइनोजलाई एक सय ४३ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबारको पहिलो खेलमा काठमाण्डू गोर्खाजले चितवन राइनोजलाई जितका लागि एक सय ४३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डूले १९.४ ओभरमा अलआउट हुँदै एक सय ४२ रन बनाएको हो ।

काठमाण्डूका लागि जोन सिम्पसनले उत्कृष्ट अर्धशतकीय पारी खेले । पाँचौं नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान सिम्पसन आक्रामक ब्याटिङ गर्दै ६० रन बनाए ।

सिम्पसनले केवल २९ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे । उनले केवल २५ बलमा चार छक्का र तीन चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका थिए ।

सिम्पसनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको १५औं अर्धशतक हो । उनी जारी सिजनको एनपीएलमा अर्धशतक बनाउने १२औं ब्याट्सम्यान पनि हुन् ।

काठमाण्डूले केवल २४ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो । त्यसपछि सिम्पसन र मिलिन्द कुमारले टोलीको स्कोरलाई एक सय २२ रनको बलियो स्थितिसम्म डोर्‍याए ।

सिम्पसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरे । चौथो नम्बरमा क्रिज समाल्न आएका मिलिन्द कुमार ३८ रन बनाउँदै आउट भए । उनले ४३ बलमा पाँच चौका प्रहार गरे ।

ओपनर ब्याट्सम्यान बेन चार्ल्सवर्थ १३ रन बनाउँदै आउट भए । अर्का ओपनर आकाश त्रिपाठी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका रासिद खान पनि ६ रनमै पेभेलियन फर्किए । मोहम्मद आदिल आलम पाँच बलमा एक चौकाको मद्दतले केवल आठ रन बनाउँदै आउट भए ।

चितवनका बलर सोहेल तनवीर एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल २५ रन खर्चिए । रञ्जीतकुमार र कमल ऐरीले दुई/दुई विकेट हात पारे । रवि बोपराले एक विकेट लिए ।