नवजीवनको सदस्यमैत्री सेवाले  आकर्षण बढेको  छ : बम

नवजीवनको सदस्यमैत्री सेवाले  आकर्षण बढेको  छ : बम

नवीजवन सहकारीको चार बर्षे कार्यकाल पुरा गर्दै हुनुहुन्छ, यस अवधिलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?

मेरो नेतृत्वको चार बर्षे कार्यकाल  पुरा हुँदैछ । हामी निर्वाचित भएर आउदा धेरै ठुलो चुनौती थियो ।  शेयर सदस्यहरुले सहज रुपमा ऋण नपाउने,   ऋण लिदा पनि कमिशन दिनु पर्ने अवस्था थियो ।  त्यसलाई हामीले निर्मुल गरेका छौं ।  जस अन्तर्गत हामीसँग सात वटा फाइल थिए, त्यसबाट हामीले १ करोड ५५ लाख असुल गरेका छौं ।   एक महिलाको समस्या थियो, २१ लाखको ऋणमा २ लाख खाएको थियो, त्यसलाई समेत समाधान गरेका छौं ।  शुरुको एक बर्ष त संगठन शुद्धिकरणमै बितेको छ ।  खराब ऋणीहरुलाई व्यवस्थापन गर्न सफल भएका छौं ।  यो कार्यकालमा नवजीवन सहकारीले बचत तथा ऋणको मात्र कारोवार नगरीकन  उत्पादनमा पनि जोडिनु पर्ने सपनालालाई पनि साकार पारेका छौं ।  मजगाउमा रहेको डेढ बिगाह जग्गामा  दश हजार मेट्रिक टनको  गोदाम र चार हजार मेट्रिक टनको मिलघर बनायौं ।  ९९ लाख ९६ हजारको मिलघरलाई  टेण्डर प्रकृया मार्फत ४२ प्रतिशत कममा ५२ लाखमा मिलघर तयार गरयौं ।  ५५ लाखमा मेशीनहरु जडान गरेर  एक घण्टामा २० क्वीन्टल धान कुट्ने  अत्याधुनिक प्रविधिको   चामल मिल लगायौं ।   त्यो मिलबाट उत्पादन भएका चामललाई बजारीकरण गर्ने क्रममा धनगढीका ६५ पसलमा र हाम्रा १० वटा सेवा केन्द्रबाट चामल बिक्री वितरण गरिरहेका छौं ।

काठमाण्डौंका बिभिन्न सहकारीहरुले चामल बिक्री गर्ने गरेका छन् । कनिका, ब्रान, कन पनि बजारको भन्दा गुणस्तरीय भएका कारण दाङ र पुनर्वासका सहकारीहरुमा बिक्री बितरण गर्ने गरेका छौं ।

नवजीवमा हामी आइसकेपछि शेयर सदस्य हितकोष स्थापना गरयौं । जस अन्तर्गत अहिलेसम्म ३९४ जान शेयर सदस्यको मृत्यु भएपछि दाहसंस्कार खर्च भनेर प्रति सदस्य २० हजार दिएका छौं ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रातोपुलदेखि  कैलालीपुलसम्म धनगढी उपमहानगरपालिकाले  बृक्षारोपण गरेको क्षेत्रलाई नवजीवन बाटिका भनेर सपोर्ट गरेका छौं ।  गोदावरी धामको मन्दिरको बाहिरको  काम गरेका छौं ।  घोडोघोडीको अगाडी पट्टी धर्मशालामा ५ वटा  कोठा बनाएका छौं ।

देशभरिमै उत्कृष्ठ सहकारी भनेर नेपाल सरकारको  भुमि व्यवस्थापन तथा कृषि मन्त्रालयबाट २ लाख ५१ हजारको  नगद र  देशभरिकै उत्कृष्ट सहकारी  पुरस्कार प्राप्त गरेका छौं ।  ५५ हजार ५ शय नगद सहित  कनकमणि दिक्षित पुरस्कारबाट पुरस्कृत भएका छौं ।  सुदुरपश्चिमममा सबै भन्दा बढी कर तिर्ने बित्तीय संस्थाको रुपमा  आन्तरिक राजश्व कार्यालयले सम्मानित गरेको छ । 

हाम्रो चार बर्षीय कार्यकालमा  बिगतमा दश बार बर्षमा  भन्दा बढी शेयर सदस्य  थपिएका छन् । हरेक चार बर्षमा चार पाँच हजार मात्र शेयर सदस्य थपिने गरेकोमा यो चार बर्षमा १४ हजार भन्दा बढी  शेयर  सदस्य थप्न सफल भएका छौं । हामी निर्वाचित हुदा २७ हजार शेयर सदस्य थिए, अहिले एकचालीस  हजार पुगिसकेका छन् ।  हाम्रो लक्ष्य भन्दा एक हजार बढी शेयर सदस्य थपिएका छन् ।

चार बर्ष अघिसम्म चार अरबको कारोवार थियोचार बर्षमा कोरोना, नाकाबन्दी र आर्थिक मन्दीको बावजुद पनि  तीन अर्ब रुपैया प्लस गरेर आजसम्म सात अर्बको  कारोवार गर्न सफल भएका छौं ।

नवजीवनको बित्तीय अवस्था कस्तो छ ? 

नवजीवनले ४ अर्ब ३५ करोड  लगानी गरेको छ भने हाल २ अर्ब २० करोड तरलता मौजदात छ ।  त्यसलाई व्यवस्थापन गर्नको लागि  यो बर्ष मात्र हामीले ७० करोड रुपैया थप लगानी गरेका छौं ।  बिगत चार बर्षदेखि बिना धितोको लघुबित्त पनि संचालन गरेका छौं ।   लघुबित्त अन्तर्गत ८९५ परिवारलाई ११ करोड  भन्दा बढी लगानी गरेका छौं ।  यो बिना धितोको लगानी हो, तर यसको ब्याज कुनै महिना पनि रुकेको छैन । तर दुःखका साथ भन्नु पर्छ जसको ४ करोडको सम्पति धितो राखेर २ करोड ऋण दिएका छौं, वहाहरुको ब्याज असुली गर्न गाह्रो भैरहेको छ । हामी  बाध्य भएर वहाहरुको सुचना पत्रिकामा निकाल्न बाध्य भएका छौं ।  ४० हजार शेयर सदस्यको पैसा भएकोले त्यसको संरक्षण गर्ने कर्तव्य हाम्रो हो ।

स्थापनाको लामो समयपछि नवजीवन चामल उत्पादनतिर किन लागेको हो  ?

दश बर्षअघिको साधारण सभाले कोल्ड स्टोर स्थापना गर्ने निर्णय गरेको थियो ।  त्यसपछि कोल्डस्टोरको लागि  डेढ बिगाह जग्गा किन्यौं ।  राज्यबाट अनुदान आएमा कोल्डस्टोर संचालन गर्ने, अनुदान आएन भने  उत्पादनसँग जोडिने अरु काम गर्ने  निर्णय भएको थियो । कोल्ड स्टोरको लागि हामीले धेरै पहल गरयौं, तर भएन ।  हाम्रो निर्णयपछि नै सुदुरपश्चिममा २६ कोल्ड स्टोर खुलेका छन् । तर ती कुनै पनि सन्तोषजनक रुपमा चलेका छैनन् ।  नवजीवनमा पैसा छ, जनशक्ति छ, सोच पनि छ, तर कोल्डस्टोर नभैसकेपछि  केही न केही उत्पादनमा त जानै परयो । नवजीवनले बचत तथा ऋणको मात्र कारोवार गर्ने हो भने  हामीले एक शेयर सदस्यबाट पचास लाख भन्दा बढी निक्षेप लिन नपाउने, ५० लाख भन्दा बढी लगानी गर्न पनि नपाउने, तर बहुउदेश्यीयमा गइसकेपछि हामीसँग  जगेडा कोषमा भएको  रकमको १५ प्रतिशत सम्म लगानी र बचत गर्न पाइने भयो । हाम्रो जगेडा कोषमा ६० करोड भएकोले बहुउदेश्यीयमा जादा एक शेयर सदस्यलाई ९ करोडसम्म लगानी गर्न पाइनेकुनै हाम्रा शेयर सदस्यले घरजग्गा बेचेर ९ करोडसम्म बचत गर्न पनि पाउने  कानुनी प्रावधान भएकोले  बहुृउदेश्यीयमा जान हाम्रो रोजाइमा  कैलाली कन्चनपुर, बाके बर्दिया कृषिको उर्वर भुमि भएकोले र साझा बिहान चामल चाहिने भएकोले  हामी पहिलो चरणमा चामलमा लाग्यौं । दोश्रो चरणमा  मसुरोको दाल, तोरीको तेल र पीठोमा लाग्दैछौं ।

नवजीवनप्रति किन आकर्षण बढिरहेको छ  ?

नवजीवनप्रतिको  आकर्षणको केन्द्रबिन्दु त यसको लाभांश नै हो । हामीले अरु सहकारीको भन्दा बढी लाभांश दिने गरेका छौं ।  हामीले बार्षिक साधाण सभामा आउदा पनि  खाजा खर्च, यातायात खर्च भनेर दिने गरेका छौं ।  त्यसको अलावा हामीले जन्मदेखि मृत्युसम्मको सुविधाको कार्यान्वयन गरेका छौं । महिला सदस्यहरुलाई सुत्केरी भत्ता, सदस्यको अंग प्रत्यारोपण सुविधाशेयर सदस्यको मृत्यु भएमा परिवारका सदस्यलाई दाहसंस्कार खर्च, दिइरहेका छौं । लघुबित्तबाट बिना धितो ऋण दिइरहेका छौं । शेयर सदस्यहरुलाई ५ लाखसम्म ऋण चाहिएमा बिहान १० बजे मालपोतमा ठाडो रोक्का गरेर २ बजे पैसा दिने व्यवस्था गरेका छौं । ठुलो खालको फाइलमा पनि तीन दिनभित्र पैसा दिने गरेका छौं । पछिल्लो समयमा बिश्वसनियता बढेको छ । यसअघि केही घटेको थियो । सामाजिक सन्जालमा पनि आएका छन् । हामीले १० जना कर्मचारीलाई निर्मम तरिकाले कारवाही पनि गरयौं ।  वहाहरुलाई पद घटुवा गर्नेदेखि अयोग्य ठहरिनेसम्म गर्न खोजेका थियौं, वहाहरुले पैसा तिरिसकेपछि त्यो नगरौं भनेर  रोकेका हौं ।

आन्तरिक सुशासनको अभ्यास कस्तो छ ? 

आन्तरिक सुशासनका लागि तालिम गोठी मार्फत क्षमता बिकास गर्ने गरेका छौं । पहिले हुदैनथे । अन्तरराष्ट्रिय स्तरमा हाम्रो सम्वन्ध बिस्तार  भएको छ ।  राष्टियस्तरमा  सम्बन्ध बिस्तार भएको छ । सुदुरपश्चिमान्चलमा  सहकारीको नेतृत्व नवजीवनले गरेको छ ।  प्रथम केन्द्रिय उपाध्यक्षसम्म हुन सकेका छौं ।  चामलको बजारकरणमा लागि काठमाण्डौंमा माननीय र वष्ठि व्यक्तित्वज्युहरुसँग अन्तरक्रिया गरेपछि सहकारीको ९० प्रतिशत कुरा नेगेटिभ मात्र गर्ने कान्तिपुर टिभीले पनि  नवजीवनको कामलाई हाइलाइट गरयो । त्यसपछि शेयर सदस्य बन्ने क्रम ह्रवात्तै बढ्यो ।