धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

एनसेल सधैं अन गर्नुस, ढुक्कले इन्टरनेट चलाउनुस् : उपाध्याय

एनसेल सधैं अन गर्नुस, ढुक्कले इन्टरनेट चलाउनुस् : उपाध्याय
विशालमणि उपाध्याय प्रमुख अधिकृत, कानुन तथा नियामक मामिला एनसेल

देशकै ठूलो मोबाइल सेवा प्रदायक एनसेलको अहिले सेवाको अवस्था कस्तो छ ? सुदुरपश्चिम प्रदेशमा हामी कहाँ छौँ M?

हामी राष्ट्रव्यापी रुपमा नै चारैतिर पुगेका छौँ । जनसंख्याको हिसाबले राष्ट्रिय रुपमा ९० प्रतिशत जनसंख्यासम्म फोरजीको कभरेज पुर्याएका छौं भने टुजीको कभरेज ९२ प्रतिशत भन्दा माथि  छ ।

राष्ट्रिय स्तरमा सबै भन्दा ठूलो करदाता एनसेल हो । एनसेलले अहिलेसम्म तीन खर्ब भन्दा बढी करको योगदान नेपाल राष्ट्रको लागि गरेको छ । गत आर्थिक वर्ष मात्रै २० अर्ब रुपैयाँ कर र विभिन्न रोयल्टीमा  तिरेको थियो ।

प्रदेशको कुरा गर्दा, हामीले सुदूरपश्चिममा तीन सय भन्दा बढी बीटीएस टावरको माध्यमबाट ८८ प्रतिशत जनघनत्वलाई सेवामा पहुँच सुनिश्चित गरेका छौँ । प्रतिशतका हिसावले यहाँ सबै भन्दा बढी फोरजीको कभरेज नै छ । 

सुदूरपश्चिमको भुगोल र जनसंख्याका आधारमा यो सन्तोषजनक हो त ?

हामीले आफ्नो सेवा त सधैं बढाउने नै हो ।  सन्तुष्ट भएर बस्ने कुरा हुदैन ।  सुदुरपश्चिममा अझै विकट क्षेत्रहरु पनि छन्, दुरदराजका क्षेत्रहरु पनि छन् । त्यहाँ कसरी पुग्न सकिन्छ भनेर हामी  नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गरेर काम गर्न खोजिरहेका छौँ । किनभने यस्तै विकट क्षेत्र, जहा व्यवसायिक सम्भावना नहुन सक्छ, त्यस्ता क्षेत्रको लागि भनेर ग्रामीण दूसञ्चार कोषको स्थापना भएको छ र त्यसमा प्रत्येक वर्ष कुल आयको दुई प्रतिशत जम्मा गर्दै आइरहेका छौं । कुनै बेला वार्षिक आय ४० अर्ब थियो भने त्यसको २ प्रतिशत हिसाबले ८० करोड रुपैयाँ हुन आउँछ । त्यो बेला ८० करोड कोषमा जम्मा गरेका छौं र त्यो भन्दा पनि आयका हिसाबले कोषमा वार्षिक १ अर्ब रुपैयाँ भन्दा बढी योगदान गरेका छौं । यो कोषमा नेपाल टेलिकम भन्दा ठुलो योगदानदाता   एनसेल छ ।

यो कोषको रकम त्यस्ता दुरदराजका ठाउँमा प्रयोग हुनुपर्छ ।  किनकि दूरसञ्चारको पुर्वाधार पुग्नु भन्दा पहिले बिजुलीको पुर्वाधार पुग्न एकदम जरुरी छ । बिजुली नै नपुगेको ठाउमा दूरसञ्चार सेवा पुयाउन एकदम अप्ठेरो हुन्छ । त्यसैले राज्यले दूरसञ्चार कोषको प्रयोग गरेर त्यस्ता विकट ठाउँहरुमा बिजुलीको पुर्वाधार बनाउनु पर्छ । बिजुली पुगेको ठाउँमा दूरसञ्चारका पुर्वाधार त हामी बनाइहाल्छौं । यसका लागि सहकार्य पनि गरि नै रहेका छौँ । तर हामी कोषलाई कुरेर मात्र बसेका छैनौं ।

आजको दिनमा नेपालका प्रत्येक प्रदेश र जिल्लामा फोरजी पुगेको अवस्था छ । यसो भन्दैमा ग्रामीणका प्रत्येक दुरदराजका ठाउँमा कभरेज पुगेको छ भन्न खोजेको हैन । यसमा हामीले काम गर्नु पर्ने अझै बाँकी छ ।

एनसेलको सेवाको गुणस्तर कस्तो छ ?

फोरजी इन्टरनेटकै प्रयोगका लागि हो । यसलाई अझै राम्रो बनाउन हाम्रा केही योजनाहरु त छन् । तर मैले भन्नै पर्छ । नेपाल दूरसञ्चार प्राधिकरणले केही इक्युपमेन्टहरु आयात गर्न रोक लगाइदिएका कारण  पुर्वाधार विस्तार गर्ने योजना अलि पछाडी धकेलिएको छ । कुनै ठाउँमा नयाँ टावर राख्नु पर्ने अवस्था आउँछ, कुनै ठाउँमा भएकै उपकरणहरु पनि अपग्रेड गर्नु पर्ने अवस्था आउँछ । करिब ६ महिनादेखि हामीले केही पनि मगाउन  सकिरहेका छैनौं । त्यसैले पनि हाम्रा योजनाहरु अलि पछाडी धकेलिएको अवस्था छ ।

हाम्रो यहाँ प्रादेशिक टिम नै छ । हामीले गत वर्ष मात्रै संरचनामा परिवर्तन गरेका छौं । प्रत्येक प्रदेशलाई भिन्दै रुपले हेर्ने भनेर प्रोभिन्सियल म्यानेजरको अवधारण अघि ल्याएका छौं । प्रदेशलाई चाहिले कुरा स्वतन्त्र रुपले गर्न सकियोस्, केन्द्रसँग धेरै निर्भर  हुन नपरोस् भनेर प्रादेशिक संरचना बनाएका छौं । तर सोचेको जति अगाडि बढन् सकिरहेको अवस्था छैन । किन भन्दा आयातको अनुमति नपाएको अवस्थामा केही कठिनाइ भैरहेका छन् ।

ग्राहकले एनसेलको सेवा उपभोग गर्दा आउने समस्याको सहज समाधानका लागि के कस्ता उपाय अपनाइएका छन् ?

पहिला सबै काम गर्दा परम्परागत रुपमा फाराम नै भर्ने चलन थियो । कसले किन्यो कसले किनेन भनेर भेरीफाइ गर्न समय लाथ्यो । अब अनलाइनबाट नै फर्म भर्न शुरु गरेका छौ । दुरदराजमा पनि कसरी  छिटो भन्दा छिटो पुर्याउने भनेर कामहरु गरिहेका छौ  । एउटै मान्छेले थुप्रै सिम किन्ने अर्काको नाममा किनिदिने जस्ता विकृतिहरुलाई सुधार्ने कोसिसमा लागेका छौं ।

ग्राहक सेवा र सुविधालाई हामी सधैं प्रमुख प्राथमिकतामा राख्छौं । सेवा उपभोगका दौरान केही समस्या भएमा ग्राहकहरुले हामीलाई विभिन्न माध्यम मार्फत सम्पर्क गर्न सक्छन् र हामी त्यस्ता समस्याहरुलाई त्यसको प्रकृति हेरी जति सक्दो चाडै हल गर्दछौं । यहाँ धनगढी लगायत देशका विभिन्न स्थानहरुमा हाम्रा ३२ वटा एनसेल सेन्टर रहेका छन् । त्यसैगरि कल सेन्टर, विभिन्न सामाजिक सञ्जाल मार्फत पनि सम्पर्क गरी ग्राहकले आफ्ना गुनासा र सुझावहरु राख्न सक्छन् ।

अहिले एनसेलले संचालनमा ल्याएको ‘सधैं अन’ कस्तो खालको क्याम्पेन हो ?

अहिले इन्टरनेट नभई नहुने सेवाको रुपमा स्थापित भईसकेको छ । धेरैले इन्टरनेट सेवा प्रयोग गर्छन् । यद्यपी मोबाइल डेटा अर्थात इन्टरनेटका हकमा १० प्रयोगकर्ता मध्ये दुई जना मात्रले इन्टरनेट चलाउने गरेको पायौ । चाहिएको बेला चलाउने त हो, यसरी चलाउनेमा १० जनामा दुईले मात्र सधैं चलाउने गरेको देख्यौं । जहिलेसम्म उपभोक्ताहरुले मोबाइल डेटा अन अफ गरिररहनु हुन्छ, तबसम्म यसले पिकअप लिन सक्दैन र उपभोक्ताले पनि इन्टरनेटले दिने लाभहरुबाट फाइदा लिन सक्दैनन् । अनि हामीले कहा गल्ती गरेछौ त ? ग्राहकहरुलाई मोबाइल डेटा अन र अफ गरिरहनु परिरहेको छ त भनेर एउटा अध्ययन गर्यौं । हामीले जनगुनासो पनि सुन्यौं । त्यसमा सबै भन्दा ठूलो एउटा गुनासो  सुनियो— ‘मैले प्याक किनेको हुन्छु र पनि मेरो मेन ब्यालेन्सबाट पैसा खाइदिन्छ ।’ यो क्षेत्रमा हाम्रो दायित्व छ र यसलाई सुधार्नु पर्दछ भनेर धेरै प्रोडक्टहरु लिएर आयौं । ग्राहकहरु पनि के किन्ने के नकिन्ने भनेर कन्फ्युज हुन थाल्नु भयो । हामीले के पायौं भने, यदि ग्राहकहरुले मोबाइल अफ नगर्ने हो भने वहाँहरुको बजेटको हिसाबले प्याक ल्याउनु पर्दछ र प्याक निर्धक्कसँग चलाएर बस्न पाउनु पर्दछ । प्याक सकिएपछि मेन ब्यालेन्सबाट पैसा काटिनु हुन्न । इन्टरनेट मात्र हैन, ग्राहकलाई एसएमएस, कल सेवा पनि चाहिन्छ । त्यसैले हामीे सधैं अन अन्तर्गत ७ दिने र २८ दिने मोडलमा गएका छौं । डाटा , कल  र एसएमएस तीन वटै सुविधा एउटै प्याकमा छ । साथै निःशुल्क सोसल मिडिया डेटा पनि रहेको छ । सधैं अनमा प्रयोग गरेर डेटा सिद्धिएमा मेन ब्यालेन्सबाट पैसा काटिदैन । तपाईंले अर्को प्याक किन्नुस्, चलाउनुस् । यदि अवधि सकियो, डेटा बाँकी नै छ भने सधैं  अनको नयाँ प्याक किन्नु भयो भने पुरानो बाँकी रहेको डेटा पनि नयाँमा जोडिन्छ । हामीले सकेसम्म ग्राहकहरुका कठिनाईहरु निरुपण गरौं भनेर नै सधैं अन ल्याएका हौं ।  अफ नगर्नुस्, निर्धक्कसाथ चलाउनु भनेर सधैं  अन ल्याएका छौं ।

यस क्याम्पेनमा ग्राहकहरुको कतिको आकर्षण बढेको छ?

हामीले राम्रो आर्कषण देखेका छौँ । मेन ब्यालेसबाट पैसा नकाटिने भयो र मैले डेटा निर्धक्कसँग चलाउन सक्ने भएँ र मलाई कहिले सकिन्छ भने कुराको जानकारी हुने भयो । किनकि अब हामीले प्याकहरु ७ दिन वा २८ दिनको बनाएका छौं । एक महिना जति भयो संचालनमा ल्याएको, आजका दिनसम्म ग्राहकहरुको राम्रो रेस्पोन्स पाएका छौं । सेवाग्राहीले मन पराउनु भएको छ । नेपालमा हामीले नयाँ शुरु गरेको हो । तर यो नयाँ आविष्कार गरेर ल्याएको होइन । भारत सहितका अन्य देशहरुमा धेरै अगाडिबाट यस्तो शुरु भैसकेको छ ।

एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (ऋक्च्) मा कस्तो  भूमिका खेल्दै छ ?

स्थापना कालदेखि आजसम्म झण्डै दुई अर्ब रुपैयाँ सीएसआरमा योगदान गरिसकेको अवस्था छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ भनेर धनगढी उपमहानगरपालिकासँग स्टिम एजुकेशनका  बारेमा पनि एउटा सम्झौता गरेका छौँ । यो कार्यक्रम विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न लक्षित धनगढी उपमहानगरपालिका, कारखाना र एनसेलको संयुक्त प्रयास हो ।

नेपालमा प्राकृतिक विपद परिरहन्छ । दूरसञ्चार सेवालाई आपतकालिन सेवा सरह नै राखेको हुन्छ । एनसेलले जल तथा मौसम विज्ञान विभागसँग मिलेर बाढी आउने भएमा बाढीको पूर्व सूचना अर्थात जानकारी दिने काम धेरै पहिलेदेखि गर्दै आइरहेका छ । विपद जाने बेलामा ४० देखि ५० लाख एसएमएस  सुदूरपश्चिम प्रदेशमा मात्र जान्छ । यसको प्रभावकारीताका कारण हामीले यस्ता विपद्का संख्या पनि बढाएर कुल १३ वटा बनाएका छौं । यसमा आगलागी, पहिरो सहितका विपदका अरु क्षेत्रका सन्देश दिन समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौं ।

अब सुदूरपश्चिमकै बारेमा भन्नु पर्दा हामीले यहाँका चार स्थानियस्तरका पाँच विद्यालयहरुमा आधुनिक आईटी ल्याब स्थापना गरेका छौं । त्यसमा अमरगढी नगरपालिकाका श्री भागेश्वर माध्यामिक विद्यालय र सहश्रलिङ्ग माध्यामिक विद्यालय, छबिस पाथिभेरा गाउँपालिकाको श्री शान्ति माध्यामिक विद्यालय, खप्तड छेडेदह गाउँपालिकाको काँडा भवानी माध्यामिक विद्यालय र  अजयमेरु गाउँपालिकाको भद्रपुर माध्यामिक विद्यालय रहेका छन् । भीमदत्तका ४० छात्राहरुलाई विद्यालय आउन जान सजिलो होस् भनेर साइकल दिएका थियौं । यो कार्यक्रम ग्रीन रिकभरी प्रोजेक्ट भनेर युएनडीसपीसँग मिलेर गरेका थियौं ।

त्यसैगरी १० कक्षा पास भएका छात्राहरुलाई छात्रवृत्ति समेत दिएका थियौं । सुदूरपश्चिमका अन्य ५ वटा विद्यालयमा एडप्ट अ स्कुल कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, खानेपानी, शौचालय निर्माण, फर्निचर जस्ता विभिन्न सहयोग प्रदान गरेका थियौ र श्री दरख माध्यामिक विद्यालय, कैलालीमा पनि डिजिटल लाईब्रेरी स्थापना गरेका थियौं ।

हामीले सामाजिक उत्तरदायित्वको काम गर्दा अलि फरक रुपमा गर्दछौं । हामी बरु थोरै गर्छौ, तर दिगोपना सहित चलोस् भनेर गर्छौ ।

एनसेलका सामाजिक जिम्मेवारीका कार्यक्रम को सँगको सहकार्यमा संचालन हुन्छन् ?

यसमा विभिन्न मोडेलहरु छन् । एनसेलको १८ औं वार्षिकोत्सवमा हामीले वेबसाइट मार्फन नै सबैलाई आवहान गर्यौं । हामी १८ वटा प्रोजेक्ट गर्दैछौं, के गर्न सकिन्छ भनेर सुझाव दिनुस भनेर भनेका थियौं । ती सुझाव लिएर विज्ञ टीम बनाएर छलफल गर्यौं । त्यसको दिगोपना के हुन सक्छ भनेर हेर्यौं । हामी सामाजिक उत्तरदायित्वका लागि शिक्षा, स्वास्थ्य र वातावरणमा एकदमै फोकस हुन्छौं । सकेसम्म यिनै भित्र बसेर काम गरौं भन्छौं । तर यतिमा मात्र बसेका छैनौं । जस्तै : प्यारालिम्पिक खेलाडीहरुलाई हामीले सपोर्ट गरेका छौं ।

एनसेलका सेवामा समस्या आउदा ग्राहक सेवालाई कसरी हेरिन्छ ?

हाम्रो दुई मोडल छन् । एउटा, २४ घण्टा चल्ने कल सेन्टर छ । केही समस्या आयो भने चौबिसै घण्टा कल गर्न सकिन्छ । कल सेन्टरबाट समस्या समाधान गर्न सकिन्छ भने त्यसबाट तुरुन्तै गरिन्छ र त्यहाँबाट हल नभए निराकरणका लागि कम्पनीको सम्बन्धित च्यानलमा जान्छ ।

हाम्रो मोडल अरु भन्दा अलि अलि फरक छ । सुदूरपश्चिममा हाम्रो आफ्नै दुई वटा एनसेल सेन्टर रहेका छन् । एउटा धनगढीमा र अर्को महेन्द्रनगरमा छ । यहाँबाट पनि केही समस्या समाधान गर्न सकिन्छ । हाम्रा ठूलो डिलर पनि छन् । यो प्रदेशमा मात्रै ४२ वटा एनसेल पसलहरु छन् । १८ वटा पोइन्ट अफ सेल्स छन् । यी जुनसुकै ठाउँमा जादा पनि सामान्यहरु छन् भने निवारण हुन सक्छ । मलाई लाग्छ हाम्रो फैलिएको नेटवर्कले गर्दा उपभोक्ताहरुले कतै न कतै आफुलाई पाएक पर्ने ठाउँबाट सेवा लिन सक्नु हुन्छ । हामी छिटो भन्दा छिटो सेवा दिन सकौं भनेर लागेका छौं ।

सेवा विस्तारमा के समस्या छन् ?

हामी  कभरेज बढाउन चाहन्छौं, त्यसका लागि टावर राख्न चाहन्छौं । दुर्गम र विकट क्षेत्र भएकाले थुप्रै सरकारी जग्गा र वन क्षेत्र पर्छन् । त्यहा एउटा टावर राखौं भने अनुमति लिन एक देखि डेढ वर्ष लाग्छ । राजमार्गमा दुवैतिर जंगलहरु छन् । त्यहाँ टावरै छैन, कभरेज छैन भनेर कम्प्लेन आउँछ । टावर राख्ने जग्गा नै पाइदैन त कसरी समस्या समाधान हुन्छ ? 

पछिल्लो समय सबै ठाउँमा बाटो विस्तारको काम निकै भएका छन् । तपार्इंलाई सुनेर अचम्म लाग्ला, एक दिनमा दुई सय भन्दा बढी ठाउँमा फाइबर काटिन्छन् । तैपनि हाम्रो सर्भिस दुई सय चोटी अफ त हुँदैन । एउटा रुट काटियो भने अर्को रुटबाट डेटा जाने, दुइटै काटियो भने पनि चल्ने बनाएका छौं । यसो गर्दा लगानी बढी हुन्छ ।

राजमार्गहरु विस्तार हुदा  डोजरले फाइबर अप्टिक्सहरु उडाइदिने, कहिलेकाही दुर्घटना हुँदा पोलमा धक्का दिने हुँदा कुनै निश्चित क्षेत्रमा सेवा प्रभावित हुन सक्छ । तैपनि  हाम्रा प्रादेशिक टीम २४ सै घण्टा बसेर सक्रिय रहन्छ । हामी दुई देखि चार घण्टा भित्रै समस्या समाधान गछौँ ।

कतिपय ठाउँमा टावर नै राख्न नदिने देखिएको छ । टावरले रेडियसन फैलाउँछ, क्यान्सर लाग्छ भन्ने भ्रम छ । हामीले जति पनि एन्टिना र टावरहरु राखेका छौं, ती सबै मापदण्ड पुरा गरेर बनेका र स्थापना गरिएका हुन् । हाम्रो देशको दूरसञ्चार प्राधिकरणले मापदण्ड विश्व स्वास्थ्य संगठनको भन्दा अझै कडा बनाएको छ ।  हामी ती मापदण्डभित्र बसेर वहाँहरुलाई रिपोर्ट पनि बुझाएका हुन्छौं । त्यसैले जनसमुदायलाई अनुरोध के छ भने मिथ्याका पछाडी नलाग्नुहोस्, हामीलाई भाडामा स्थान उपलब्ध गराएर सहयोग गरिदिनुहोस् । यसले देशमा दूरसञ्चारको विकासमा पनि भुमिका खेल्छ ।