धनगढी पोष्ट मङ्गलबार, ३१ भदौ २०८२   September 16, 2025

सुदुरपश्चिममा पशुपंक्षी औषधी व्यवसायको जग बसाएका बुर्लाकोटी : व्यापारीदेखि उत्पादकसम्म

युनिसेफमा काम गर्दाको ५० हजारले २०४४ साल मंसिरमा बुर्लाकोटीले धनगढीमा व्यवसाय शुरु गरे ।

सुदुरपश्चिममा पशुपंक्षी औषधी व्यवसायको जग बसाएका बुर्लाकोटी :  व्यापारीदेखि उत्पादकसम्म
बिष्णु राज बुर्लाकोटी प्रवन्ध निर्देशक किसान एग्रोभेट सेन्टर

२०४४ मा धनगढीमा जिल्ला पञ्चायत (हाल सुदुरपश्चिम प्रदेश सभा) को अगाडी कृष्ण सिटौलाको घरका छेउमा टीनका तीन चार सेट थिए । ती सेटहरु मध्य एउटामा बिष्णुराज बुर्लाकोटीको पशुपंक्षीको औषधीको पसल थियो, किसान एग्रोभट । त्यही पसल राखेको सेटमा नै उनी सुत्थे । औषधी बिक्री हुने बित्तिकै छेउमै रहेको किराना पसलबाट खाद्यान्न नगदमै  किन्थे ।  औषधी बिक्री नभएको देखेपछि ती किरानाका साहु बुर्लाकोटीलाई भनिराख्थे  ‘यहा नचल्ने यो काम किन शुरु गरेको, तिमीहरु भोकभोकै मर्छौ ।’  एक दिनभरि औषधी  बिक्री नभएपछि बुर्लाकोटीसँग खाद्यान्न किन्ने पैसा नै भएन, उदारोमा चामल माग्दा किराना साहुले दिन मानेनन् ।  ‘अहँ हुदैनतिमीहरुको औषधी नै बिक्री हुदैन, कहाँबाट तिर्छौ ? ३८ बर्षअघि  धनगढीमा पहिलो पशुपंक्षीको औषधीको पसल शुरुआत गरेका बुर्लाकोटी किराना पसलेले भनेको सम्झिन्छन्  ‘सामान लिने भए नगद देऊ, नत्र हुन्न भनेको अझै मलाई याद आइराख्छ ।’

 त्यतिखेर भेटेरीनरीबाट लेखेर पठाएको पर्चा बोकेर फाट्टफुट्ट किसानहरु आउँथे । ‘ औषधीको त पैसा पर्छ भनेपछि  लिदैनौं भनेर त्यत्तिकै फर्किन्थे ।’ व्यवसायी बुर्लाकोटीको भोगाइ छ   ‘भेटेरीनरी अस्पतालबाट जे पायो, त्यो मात्र लगेर खुवाउथे ।’ 

त्यतिखेर प्रति महिना नौ शय रुपैया भाडा तिर्थे बुर्लाकोटी । ‘तर  बिक्री पहिलो छ महिनामा ३ हजार ६ शय मात्र भएको थियो ।’ धनगढीमा व्यवसाय शुरु गर्दाको शुरुआती  समयको तीतो अनुभव याद गर्दै बुर्लाकोटी भन्छन्   ‘त्यो मेरो एकदम कठिन समय हो ।’ पसलको बिक्रीेले नधानेपछि चितवनको लोखर भन्ने ठाउमा पुगेर दश हजारको नाङलो र सुप्पो  किनेर ल्याए । ‘त्यतिखेर बसको भाडा तिरेर पनि राम्रै बच्थ्यो ।’ बुर्लाकोटीको अनुभव छ  ‘पशुपंक्षीको औषधी नबिकेपछि  नाङलो र सुप्पा  बेचेर पनि आफ्नो खानपिनको व्यवस्था मिलायौं ।’

त्यो बेलामा बुर्लाकोटीलाई उनका दाजुले धनगढीमा काम गर्न गाह्रो भए फर्किन सल्लाह दिएका थिए, तर उनी गएनन्गाह्रो समयको व्यवस्थापन गर्दै अघि बढे ।  ‘यदि त्यो बेला म हिडेको भए आज म यसरी सपल व्यवसायी हुने थिइन ।’ बुर्लाकोटीको जीवनमा सफलता पाउनका लागि सुझाव छ  ‘मान्छेलाई नराम्रा परिस्थितिहरु आउन सक्छन्, त्यसलाई पर्खेर अघि बढ्यो भने हामी अघि सफल हुन्छौं   भन्ने मैले अनुभव गरे ।’

 धादिङ जन्म घर भई चितवनमा अध्ययन गरेका बुर्लाकोटीले २०४४ सालमा युनिसेफको जागीर छोडेर धनगढीमा  पशुपंक्षीको औषधी पसल शुरु गरेका हुन् । युनिसेफमा सुर्खेतमा कार्यरत रहेकै बेलाज जागीर छोडेर धनगढीमा व्यवसाय शुरु गरेका हुन्  । ‘नेपालगन्जमा  एग्रोभेट चलेको देखेर नोकरी गर्नु भन्दा  आफ्नै व्यवसाय गरौं भन्ने लाग्यो ।  अनि आफै सबै ठाउ पुगेर अध्ययन गरें ।’ बुर्लाकोटी भन्छन्   ‘धनगढीमा जोशी मेडिकलमा मान्छेको औषधी पनि थियो, बिषादी पनि थियो, पशुको औषधी पनि थियो । सबै औषधी रयाकहरुमा राखेको थियो । नेपालगन्ज भन्दा पश्चिम   धनगढीमा मात्र भेटेरीनरीको औषधीको पसल भएकोले अनि अलिअलि बिक्दो रहेछ भन्ने लाग्यो र यही ठाउ छाने ।’

 युनिसेफमा काम गर्दाको ५० हजारले २०४४ साल मंसिरमा धनगढीमा व्यवसाय शुरु गरे । नेपालगन्जमा कहिलेकाही भेटेका सुदुरपश्चिमका  पशु कार्यालयका हाकिमहरुसँगको कुराकानीले  यहा काम गर्न सकिन्छ भन्ने बिश्वासले काम गर्ने उर्जा थपेको थियो ।

  • पहिलो जागीर :  शिक्षक

कलेज अध्ययनपछि बुर्लाकोटी २०४० मा  बर्दियामा टीसीएनमा जागीर खुलेको सुनेर साथीहरुसँगै बर्दिया आए । तर उनी पुग्दा ढिलो भैसकेको थियो ।  तर बर्दियाकै जनप्रिय निमावि दमौलीमा शिक्षकको काम  पाए । सात कक्षासम्म पढाइ हुने उक्त बिद्यालयमा उनी  प्रअ नै भए । केहीपछि घरायसी कारणले बर्दिया छोडेर मकवानपुरको सुनाचोरीमा अध्यापन शुरु गरे ।  सुनाचोरीमा रहेका पिसकोरहरुको कार्यक्रममा  आएका युनिसेफका व्यक्तिहरुसँगको कुराकानीपछि बुर्लाकोटीले बिद्यालय छोडेर युनिसेफमा काम शुरु गरे । केही समयछि उनी युनिसेफमा सुर्खेतमा काम गर्न थाले ।

सुर्खेतमा रहेकै बेला उनका दाई  भारतबाट घर फर्किए, त्यही बेला उनको पनि विवाह भयो । ‘विवाहपछि दुवै दाजुभाई एकै ठाउमा बस्दा कतिपय कुरा नमिलेमा विवाद हुन सक्छ, त्यसैले टाढा बसेर काम गर्नु पर्छ भन्ने लाग्यो ।’ बुर्लाकोटी घर छोडेर टाढाको धनगढीमा व्यवसाय शुरु गर्नाको कारण खोतल्दै भन्छन्   ‘त्यसैले परिवारलाई नै ल्याएर धनगढी आए ।’

  • गुजारा गर्न व्यवसाय बिस्तार

शुरुका केही बर्ष व्यवसाय राम्रो नहुदा  अप्ठेरो अवस्था थियो ।  २०४७ मा  भाजुरत्न इन्जिनियरिङमा  नेपालगन्जमा कार्यरत श्याम शर्माले मान्छेको औषधी पनि शुरु गर्न सल्लाह  दिए ।  ‘तेरो लाइन पनि मिल्छ, अब मान्छेको औषधी पनि शुरु गर, उधारो दिन्छु, बेचेर तिर भन्नु भयो ।’ बुर्लाकोटी भन्छन्  ‘अनि एउटा पार्टनर खोजेर मान्छेको औषधी पनि शुरु गरे ।’ अनि दुवै अलिअलि चल्न थालेपछि बुर्लाकोटीको जीवनमा शुरु भएको व्यवसायिक सफलता कहिल्यै रुकेको छैन, निरन्तर अघि बढिरहेको छ ।

  • २०४६ पछि बढेको बिक्री

२०४६ पछि सरकारको निति किसानलाई सहयोग गर्ने आएपछि पशुपंक्षीको औषधी बिक्री बढ्न लागेको हो । त्यतिखेर पशुपन्छीको सबै औषधी भारतबाट आयात हुन्थो ।  भारतको साहरनपुर, लखनउबाट धेरै  कम्पनीका औषधी र बिषाधी आउथे ।

  • २ शय एग्रोभेटको सञ्जाल

अहिले संख्यात्मक र गुणात्मक दुवै हिसाले बजार बिस्तार भएको छ । सुदुरपश्चिमको पहिलो  एग्रोभेटको रुपमा किसान थियो । अहिले हामीसँग सुदुरपश्चिममा दुई शय भन्दा बढी  एग्रोभेट जोडिएका छन् । सुदुरपश्चिममा संख्यात्मक र गुणात्मक दुवै हिसाबले विकास भएको छ ।

  • सुपर स्टोकिस्टको शुरुआत

भारतीय कम्पनीहरुले नेपालमा एउटा सुपर स्टोकिस्ट राख्थे र  ठाउँ ठाउमा रहेका स्टोकिस्टलाई सुपरस्टोकिस्ट मार्फत सामान पठाउने काम शुरु गरे । ‘धेरै कम्पनी म सँग आइपुगे र मैले सुपर स्टोकिस्टको काम शुरु गरें ।’ बुर्लाकोटी भन्छन्  ‘अनि बिभिन्न ठाउमा खुद्रा पसल खोल्न प्रोत्साहित गरयौं ।  आयातको लाइसेन्स लिन गाह्रो थिएन ।’

  • किसानमा धैर्यताको कमी

सरकारले  केही नगरेकै चाहि होइन, ती सरकारी प्रयासहरु कामचलाउन व्यवसायीकरण मात्र भएका छन् ।  पहिलो कुरा, व्यवसायीले धैर्यता गर्नु पर्छ, हामीकहा त्यसको कमी छ । कसैको लहडमा, कुरा नबुझीकन किसानले व्यवसाय गर्न थाल्यो भने  व्यवसायमा लागिसकेपछि अचानक रोगव्याधीले नोक्सान गरयो भने  धैर्यता हुदैन । अनि एकै पटकमा त्यसलाई छोडेर अर्कोतिर लाग्ने समस्या छ ।

  • नया व्यवसायीलाई शिक्षाको कमी

सरकारको एकपटक व्यवसायीलाई सहयोग गरयो, ऊ असफल हुने बित्तिकै उतिर फर्केर नै नहेर्ने प्रवृत्ति छ । असफल हुनेहरुलाई थप सहयोग गरेर उकास्ने तिर गएको देखिदैन ।  अर्कोकुरा, व्यवसाय गर्नु अघि त्यस व्यवसाय सम्वन्धी सम्पुर्ण जानकारी दिएर मात्र शुरु गर्न राज्यले प्रोत्साहित गर्नुपर्छ  भन्ने मलाई लाग्छ ।

  • अनुदानमा नितिगत त्रुटी

 अनुदानमा नितीगत त्रुटी नै छ ।  कुनै पनि कार्यक्रम लागु गर्दा सुचना जारी गर्नु हुन्छ । यति दिन भित्र यस्ताले निवेदन दिनु होला भनेर ।  अनि जो मान्छे खाली हुन्छ, झोलामा आफ्नो फर्म राखेर बसेको छउनीहरु त्यो थाहा पाएर निवेदन दिन्छन् । तर खेतीपातीमा लागेका  खास किसानहरु खेतीमा नै ठीक्क हुन्छन्थाहा नै पाउदैनन् । त्यसैले अनुदान पाउनेहरु व्यवसायमा लागेका वा झोलामा फर्म भएका पनि हुन सक्छन् ।

 संघ, प्रदेश र स्थानीय तहले एउटै खालका  अनुदान दिइरहेका छन् ।  एक आपसमा समन्वय नभएका कारण  बहुसंख्यक किसानले नपाएर जो झोलामा सक्रिय छन्, उनीहरुले पाइरहेको हो कि ?

  • बीउ व्यवसायीदेखि बीउ कम्पनी संचालकसम्म

व्यवसाय गर्दै जादा सम्वन्धित बिषयको कमी महशुश हुदो रहेछ । शुरुमा गरेको भेटेरिनरीको काममा अप्ठेरो भएपछि मान्छेको औषधी थप्यौं । त्यसपछि बीउबिजनको काम शुरु गरयौं । यहा बीउको माग हुदा कृषि सामाग्री संस्थानले पुरयाउन सक्दैन थियो ।  हामीले भारतबाट ट्रकका ट्रक बीउ ल्याउनु पर्ने भो । भारतीय भेराइटी कत्तिको बिश्वसनिय हुने भन्ने जानकारी पनि नहुने, आफ्नै देशको भेराइटी देश र किसान दुवैका लागि राम्रो  हुने भएकोले एउटा समुह बनाएर पञ्चशक्ति बीउ कम्पनी  शुरु गरयौं ।  हाम्रो टीममा बीएस्सी एजी पढेका साथीहरु पनि हुनुहुन्छ ।  अहिले हाइब्रिड बीउ समेत उत्पादन गर्ने कम्पनीको रुपमा बिकास गरेका छौं । निटक भवियमा नै आरएनडी  फर्म पनि खोल्छौं, जसले बिभिन्न बालीहरुको अनुसन्धान गर्ने काम गर्नेछ । अहिले पन्चशक्ति नेपालकै बीउ उत्पादन गर्ने उत्कृष्ट सात आठ कम्पनीभित्र पर्दछ ।

  • एसबी कृषि मार्ट : परम्परागत परिकारको रेष्टुरेन्ट

बिभिन्न खालको किसानहरुको  एकै ठाउमा  पुरा गर्न एसबी कृषि मार्ट प्रा.लि.  शुरु गरेका छौं । यसमा कृषिका एटुजेट  सामान राख्ने  उदेश्यले साढे दुई बर्षअघि खोलिएको हो । सुदुरपश्चिमका बिभिन्न जिल्ला र प्रदेश बाहिर पनि शाखा खोल्ने लक्ष्य छ ।

एसबी कृषि मार्टमा परम्परागत परिकारको रेष्टुरेन्ट पनि छ । हाम्रा बाउबाजेहरुले परम्परागत रुपमा खाने गरेका  परिकारहरु हाम्रा सन्ततिहरुलाई परिचित  गराउन, परम्परागत स्वाद दिन  मार्टमा परम्परागत परिकारको स्वाद लिने व्यवस्था  छ । रैथाने बालीका परिकार व्यवस्था गछौ । सकेसम्म स्वास्थ्यको विचार गरेर कृषि परिकार तयार पार्ने लक्ष्य हो ।

  • सफलता खोज्दै आउँछन् कम्पनीहरु

जब एउटा काम गर्दा गर्दै  थुप्रै अफर आउछन्, दाई तपाईसँग यो काम अथवा अको कुनै काम छ भने मिलेर गरौन भनेर  । यसरी कुरा आउदा मैले आफुलाई  सबै भन्दा खुशीको बिषय ठान्छु ।  बीउ कम्पनीमा पनि मिलेर काम गरौं भनेर साथीहरु आएका हुन् ।

कम्पनीहरु नै म कहा आएर एजेन्सी लिइदिन अनुरोध गर्छन् ।   शुरुआतका  छ महिना भन्दा पछि यसरी आउने क्रम जारी छ ।  म  कुनै पनि कम्पनीको एजेन्सी खोज्न गएको होइन, सबै कम्पनीका प्रतिनिधिले नै अनुरोध गरेर मैले लिएको हुँ । अहिले मसँग पशुसँग सम्वन्धित ५६ कम्पनीको र मान्छेको औषधीसँग सम्वन्धित  त्यत्ति नै छ ।

  • कस्तो थियो धनगढी ?

धनगढीमा प्रहरीको वडा कार्यालय अहिलेको जिल्ला प्रशासन कार्यालयको अगाडी थियो । त्यहा झिलिमिलि बजार थियो । धनगढीको मुख्य बजार नै त्यही थियो । त्यहा हार्डवेयर  सहितका बीस पच्चीस पसल थिए । अस्पतालको वरपर र चौराहमा केही लज थिए । बजारमा सबै मान्छेहरु चिनिन्थे ।

  • संस्थागत संलग्नता 

हाम्रा केही सामाजिक दायित्वहरु पनि छन् । आफ्नो कारणले अरुले दुःख नपाओस्, अरुलाई समस्या नहोस्  भनेर सामािजक दायित्वहरुलाई मनन गर्न खोज्छु ।  व्यवसायका साथै सामाजिक काममा संलग्नता मेरो हबी नै हो । शुरुदेखि नै सामाजिक संस्थामा थिएँ  । व्यवसायिक मात्र भएको भए आर्थिक लाभ बढी हुन्थ्यो । तर मैले दुवै सँगसँगै लिएर हिडेको छुँ । 

नेपाल पशुपन्छी औषधी व्यवसायी संघको केन्द्रिय वरिष्ठ  उपाध्यक्षको भुमिका निर्वाह गरिसकेका बुर्लाकोटी अहिले  लायन्स क्लबको सिनियर डिष्टिक्ट एक्जुकेटिभ  चिफ एडभाइजरनेपाल मलखाद व्यवसायी संघको केन्दिय कोषाध्यक्ष, नेपाल बीउ व्यवसायी संघको केन्द्रिय उपाध्यक्ष र राष्ट्रिय बीउ उत्पादक संघको बरिष्ट केन्द्रिय उपाध्यक्षका रुपमा कार्यरत हुनुहुन्छ ।