धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

नक्कली बैंक ग्यारेन्टी बनाएर १० कुम्ल्याउन खोज्ने व्यवसायी पक्राउ

नक्कली बैंक ग्यारेन्टी बनाएर १० कुम्ल्याउन खोज्ने व्यवसायी पक्राउ

डडेल्धुरा

 डडेल्धुराको परशुराम नगरपालिकामा नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिएका निर्माण व्यवयायी पक्राउ परेका छन् ।

 पक्राउ पर्नेमा बोहरा निर्माण सेवाका प्रोपराईटर लोकबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पक्राउ गरेको थियो । आवश्यक अनुसन्धान गरेर कारवाहीका लागि निर्माण व्यवसायी बोहरालाई डडेल्धुरा ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । घटना सम्बन्धी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 बोहरा निर्माण सेवाले परशुराम नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनको ठेक्कामा नक्कली बैङ्क ग्यारेन्टी पत्र बनाएर १० लाख भुक्तानी लिएको थियो ।

 नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले बोहरा निर्माण सेवाले नक्कली बैङ्क ग्यारेन्टी बनाएको भन्दै किटानी जाहेर दिएपछि बोहरा निर्माण सेवाका प्रोपराईटर बोहरालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

 पक्राउ परेका बोहरालाई थप अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढाउन कञ्चनपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको जिम्मा लगाएपछि अदालतबाट म्याद थप गरेर हिरासतमा लिई थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

 यसअघि परशुराम नगरपालिकाले नक्कली बैंक ग्यारेन्टी पेश गरेको आशंकामा निर्माण कम्पनीलाई पत्राचारगर्दै तीनदिन भित्र सक्कली कागजात पेश गर्न पत्राचार गरेको थियो ।

 सो अवधीमा सक्कली बैंक ग्यारेन्टी पेश गर्न नसकेकाले बोहरा निर्माण सेवाले लिएको पेश्की रकम रु १० लाख र तीन महिनाको हर्जना ब्याज रकम थप ३३ हजार पाँच सय असुल उपर गरिसकेको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।

 उनले निर्माण कम्पनीलाई थप कारवाहीका लागि आवश्यक छलफल गर्न मंगलबार नगर कार्यपालिकाको बैठक बोलाइएको जानकारी दिए ।

 नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखाले बैंकको लेटरप्याड दुरुपयोग गरेर नक्कली कागजात पेश गरेकाले बोहरा निर्माण सेवालाई कारवाहीको मागगर्दै कञ्चनपुर प्रहरीलाई किटानी जाहेरी दिएकोमा हाल किर्ते कागजात बनाएको अभियोगमा अनुसन्धान थालिएको र परशुराम नगरपालिकाले पनि उजुरी दिएमा ठगी मुद्दा अन्तर्गत थप कारवाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।

 हाल डडेल्धुरा प्रहरीको हिरासतमा रहेका बोहरा निर्माण सेवाका प्रोपराईटर लोकबहादुर बोहराले भने आफ्नो कम्पनीका तर्फबाट काम गराउने जिम्मेवारी दिइएका ब्यक्तिबाट सो गलत कार्य भएको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परशुराम नगर कमिटीका सदस्य दिलबहादुर बोहराले बोहरा निर्माण कम्पनीको कागजात प्रयोग गरेर वडा कार्यालय भवन निर्माणको ठेक्कामा कामगर्दै आएको स्थानीय बताउछन ।

 निर्माण कम्पनीका प्रोपराईटर बोहराको बयानका आधारमा सो कार्यमा संलग्न अन्य ब्यक्तिहरुलाई पनि कारवाहीको दायरामा ल्याईने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।