धनगढी पोष्ट सोमबार, १९ माघ २०८२   February 2, 2026
डडेल्धुरामा त्रिपक्षीय प्रतिष्प्रर्धा

देउवाको बिरासत जोगाउन काँग्रेसलाई सकस

देउवाको बिरासत जोगाउन काँग्रेसलाई सकस

डडेल्धुरा । नेपाली काँग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रमुख तीन राजनीतिक दलहरुबीच कडा प्रतिष्प्रर्धा हुने भएको छ ।

२०१५ सालमा सम्पन्न आम निर्वाचनदेखि नै काँग्रेसको गढ मानिने डडेल्धुरामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीबीच त्रिपक्षीय कडा प्रतिष्प्रर्धा हुने देखिएको छ । नवयुवा मतदाताहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति रुझान देखिन थालेको छ भने सांगठिक रुपमा बलियो नेपाली कम्युनिष्ट पार्टी पनि काँग्रेसको बलियो प्रतिष्प्रर्धीका रुपमा देखिएको छ ।

२०४८ सालको आम निर्वाचनदेखि हालसम्म निरन्तर विजयी हुँदै आएका देउवाको विरासत जोगाउन काँग्रेसलाई सकस छ । काँग्रेसको विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले युवा नेता नैनसिंह महरलाई डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । २०७९ सालको प्रदेशसभा निर्वाचनमा विपी कांग्रेसको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी डा. ताराप्रसाद जोशीलाई रास्वपाले उम्मेदवार बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट युवा नेता मानसिँह माल चुनावी मैदानमा छन ।

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा  प्रतिनिधिसभा सदस्यका लागि १३ जनाको उमेदवारी दर्ता भएको छ, जसमध्ये  १० राजनीतिक दलका उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिष्प्रर्धामा छन । मतदाताहरुको रुझान अनुसार चौथो शक्तिका रुपमा देखिएको एमालेले राष्ट्रिय सभाका पुर्व सदस्य चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको छ । भित्रिमधेस क्षेत्रका प्रभावशाली नेता स्नेही पनि कमजोर उम्मेदवारका रुपमा नरहेको एमाले डडेल्धुराका इन्चार्ज पुर्वमन्त्री पठानसिँह बोहरा बताउछन ।

पछिल्लो स्थानीय तह निर्वाचनमा सात मध्ये पाँच स्थानीय तहमा विजयी हासिल गरेको काँग्रेस सांगठिनक रुपमा जिल्लामा बलियो राजनीतिक दल हो । दुई स्थानीय तहको नेतृत्वमा, परशुराम नगरपालिकामा उपप्रमुख सहित बहुमत बडाध्यक्ष र अन्य स्थानीय तहका वडा अध्यक्ष र सदस्यमा बलियो उपस्थिति रहेको तत्कालिन माओवादी र एकीकृत समाजवादी लगायत दलहरु मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी पनि सांगठिनक रुपमा कमजोर नरहेको माओवादीका पुराना नेता चन्द्रबहादुर ठकुराठी ‘प्रतिरोध’ बताउछन ।

वैदेशिक रोजगारीमा रहेका युवादेखि नवयुवा मतदाताहरुको बलियो समर्थन पाएका रास्वपाका उम्मेदवार डा. जोशी साढे तीन दशकदेखि जिल्ला राजनीतिमा क्रियासिल निष्कलंक र इमान्दार छविका कारण लोकप्रीय मत बढि पाउने आकलन गरिन थालिएको छ । तत्कालिन एमाले र मालेको डडेल्धुरामा पटक पटक नेतृत्व गरेका डा. जोशी पछिल्लो निर्वाचनका क्रममा एकीकृत समाजवादीमा समाहित भएका थिए । पाँच दलीय गठबन्धनमा भागबण्डा नमिलेका कारण टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभामा विजयी डा. जोशी उज्यालो नेपाल पार्टीको संस्थापक सदस्य हुँदै रास्वपाको उम्मेदवार बनेका हुन ।

विद्यार्थी राजनीतिबाट उदाएर नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य युवा नेता महर सामु जिल्लामा पार्टी एकतावद्ध बनाएर चुनाव जित्ने अवशर भने कायमै छ । उम्मेदवारी मनोनयनका क्रममा देउवाकै निर्देशन अनुसार टिकट लिएर चुनावी मैदानमा उत्रिएको दाबी गरेका महरलाई पाका कांग्रेस कार्यकर्ताहरुले खासै पत्याएका छैनन् । उम्मेदवारी मनोनयन दर्ता पश्चात यँहाका प्रशिद्ध देवीदेवताहरुको मन्दिरमा पूजाअर्चना गरेपछि कार्यकर्ताहरुमा देखिएको अन्यौलता चिर्न देउवालाई भेट्न काठमाडौं पुगेका महरले पाँच दिनसम्म प्रयास गरे पनि भेटघाट हुन नसकेको नेपाली काँग्रेस डडेल्धुराका एक सदस्यले जानकारी दिए ।

देउवासँग भेटघाट हुन नसकेपछि महरले नेपाली कांग्रेसबाट विद्रोह गरेर नेपाली कांग्रेस (विपी) को राजनीति गरिरहेका सुदूरपश्चिम प्रदेशसभाका पुर्व सदस्य कर्णबहादुर मल्लसँग भेटघाट गरेका थिए । ‘कांग्रेस र बीपी काँग्रेसबीच पार्टी एकता प्रकृया सकरात्मक ढंगले अघि बढेको छ, मल्लले भने, ‘सहयोग गर्नुहोस् भनेर नैनसिँहजी भेटन आउनु भएको थियो, मैले पार्टी एकता भएपछि सहयोग गरिहाल्छु भनेको छु ।’

क्रियासिल सदस्यता विवाद समाधानका लागि न्याय माग्दै पार्टी मुख्यालय सानेपामा अनसनमा बसेका तत्कालिन डडेल्धुरा काँग्रेसका सभापति मल्ल सहित दुई तिहाई जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बाइपास गरेर सातौं जिल्ला अधिवेशन सम्पन्न गरिएपछि मल्लले विद्रोह गरेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा विपी काँग्रेसबाट उम्मेदवार बनेर तत्कालिन कांग्रेस सभापति देउवासँग प्रतिष्प्रर्धा गरेका मल्लले सात हजार पाँच सय ३५ मत प्राप्त गरेका थिए ।

विपी काँग्रेससँग पार्टी एकताका लागि पहल भइरहेको डडेल्धुरा काँग्रेसका सभापति भीमबहादुर साँउद बताउछन । ‘दुबै काँग्रेसबीच एकता हुने बितिक्कै डडेल्धुरामा जस्तोसुकै कमजोर उम्मेदवारले पनि विजय हासिल गर्ने निश्चित छ, विपी काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति करुणाकर भट्टले भने,‘विपी काँग्रेस निर्णायक शक्तिका रुपमा देखिएको छ ।’

निर्वाचनका बेला काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मात्रै विपी काँग्रेससँग एकताको प्रस्ताव ल्याइएको हो भने डडेल्धुरामा काँग्रेसलाई हराउने तागत विपी काँग्रेससँग रहेको विपी काँग्रेस डडेल्धुराका सचिव युवा नेता सन्तोष देउवाले बताए । ‘राजनीतिक विचारमा सहमति भए मात्रै हामी काँग्रेसमा फर्किन्छौ, उनले भने, ‘अन्यथा काँग्रेसलाई हराउन सक्रिय रुपमा लाग्नैपर्ने हुनसक्छ ।’