राम धामी
शनिबार, २२ जेठ २०७८ मा प्रकाशित
डडेल्धुरा . डडेल्धुरा जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे आफै भिडभाडका कार्यक्रमहरुमा सहभागी भएर निषेधाज्ञा उल्लंघन गर्न थालेका छन ।
कोरोना भाईरस महामारी संक्रमण न्युनीकरणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जेष्ठ मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ । गत बैशाख १६ गतेदेखि डडेल्धुरामा निरन्तर निषेधाज्ञा जारी छ । तर, पछिल्लो समयमा जिल्लाका बिभिन्न स्थानिय तहदेखि जिल्लास्थित कोरोना महामारी संकट ब्यवस्थापन केन्द्रका पदाधिकारीहरु र स्वयम् निषेज्ञाधा जारी गर्ने जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाटै निषेधाज्ञा उल्लंघन हुन थालेको छ ।
जिल्लास्थित प्रमुख सरोकारवाला निकायबाटै निषेधाज्ञा उल्लंघन गर्नमा होडबाजी भइरहेकोले सर्वसधारणमा पनि अटेरी गर्ने प्रवृती मौलाउन थालेको स्थानीय बताउछन । निषेधाज्ञाकै क्रममा परशुराम नगरपालिकाका नगर प्रमुख भिमवहादुर साउँद लावालस्कर सहित सडक, खानेपानी, भवन निर्माण जस्ता योजनाको उद्घाटनमा झण्डै एक साता ब्यस्त रहेको परशुराम नगरपालिकाले जनाएको छ ।
योजना अनुगमन र उद्घाटनका क्रममा लावालस्कर सहित नगर प्रमुख आफैले निषेधाज्ञा उल्लङ्घन गरेकाले सर्वसधारणबाट पनि निषेधाज्ञा पालना गर्न अटेरी हुन थालेको परशुराम नगरपालिका–५ का परिगाँउका बिरबहादुर चन्दले गुनासो गरे । उनले समाजका अगुवाहरुले निषेधाज्ञा उल्लङ्घन गर्दा निषेधाज्ञा प्रभावकारी हुन नसकेको जिकिर गरे ।
शनिवार अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट ‘विकास’ले सो गाँउपालिकाको वडा नम्वर २ को कार्यालय भवनको वृहत समारोहकाबीच उद्दघाटन गरेका छन । सो समारोहमा व्यापक जनसहभागिता रहको स्थानीय बताउछन् । स्थानीय स्तरमा मात्रै नभई शनिवार परेको विश्व वातावरण दिवसका अवशरमा डिभिजन वन कार्यालय डडेल्धुराले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी घिमिरे दलबल सहित सहभागी भएर निषेधाज्ञा उल्लङ्घन गरिएको छ ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्ट सहित जिल्ला स्थित अधिकांस कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो । बृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी अधिकृतहरुदेखि ठुलो संख्यामा प्रहरी जवानहरुको सहभागिता थियो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको निषेधाज्ञाको उल्लंघन गर्दै सदरमुकाम नजिकै रहेको उग्रतारा मन्दिर परिसरमा व्यापक सहभागिताका साथ गरिएको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
आफैले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्दै कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी घिमिरेले अन्य योजनाको अनुगमन गर्न गएको टिम पनि वृक्षारोपण कार्यक्रममा सहभागी भएकोले सहभागी संंख्या तोकिएको भन्दा बढि भएको स्वीकार गरे । उनले सरकारी कार्यालयका प्रमुखहरुसँगै सामाजिक संघ संस्थाका प्रतिनिधी, पत्रकार र संरक्षणकर्मीहरु सहभागी भएकाले ब्यक्तिको संख्या बढी भए पनि खुला क्षेत्र भएकाले भोतिक दुरी कायम गर्दै वृक्षारोपण गरिएको दाबी गरे ।
डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल प्रमुख विष्णु प्रसाद आचार्यले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर वृक्षारोपण गरिएको बताए । निषेधाज्ञाका कारण आम सर्वसाधारण घर भित्रै बस्न वाध्य भईरहेको समयमा सरोकारवाला निकायका प्रमुखहरु लावालस्करका साथ औपचारिक कार्यक्रममा सहभागी हुन थालेपछि सर्वसाधारणले विरोध जनाएका छन् ।
ग्रामीण क्षेत्रमा भीडभाडवाला औपचारिक कार्यक्रमहरुका कारण कोरोना महामारीको संक्रमण फैलिरहेका समयमा अझै पनि भौतिक उपस्थितिका साथ बिभिन्न समारोहको आयोजना हुन नछाडेको नेपाल नागरिक समाज डडेल्धुराका उपाध्यक्ष तेजराज भट्टले बताए । उनले जिम्मेवार ब्यक्तिबाटै निषेधाज्ञा उल्लङ्घन हुनु गम्भीर लापरवाही भएको जिकिर गरे । निषेधाज्ञाका क्रममा भिडभाड र औपचारिक कार्यक्रमहरु सम्पन्न हुन थालेपछि कोरोना संक्रमण वढ्न सक्ने भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।