धनगढी पोष्ट
बुधबार, ०३ असार २०७७ मा प्रकाशित
धनगढी
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।
उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि जेठ ४ गते बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ ।