धनगढी पोष्ट
सोमबार, २७ भदौ २०७९ मा प्रकाशित
बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा कुपोषण स्मार्ट सर्वेक्षण शुरु भएको छ ।
प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला निकायहरुको संलग्नातामा गाउँपालिकाको वडा नम्बर १ मुक्तीकोटको पोषणको अवस्थाको स्मार्ट सर्वेक्षण शुरु गरिएको हो ।
स्मार्ट सर्वेक्षणका क्रममा शनिबार वडा नम्बर १ मा गरिएको सर्वेक्षणमा ६ महिनादेखि पाँच बर्ष मुनिका कुल दुई सय ९३ बालबालिकाहरू मध्ये ४५ जनामा मध्यम शिघ्र कुपोषण र १६ जनामा कडा शिघ्र कुपोषणका देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले बताए ।
मुक्तीकोटमा खाद्य सुरक्षाको अवस्था अत्यन्त कमजोर रहेको छ । मुक्तिकोटमा रहेका दुई सय ४३ घरधुरी मध्य बर्ष दिनसम्म खान पुग्ने एक परिवार पनि नरहेको, खाद्य आपूर्ति र स्वच्छ पानीको अभाव, लैंगिक विभेद, बालविवाह प्रमुख समस्या रहेको छ । समुदाय नै पहिरोको जोखिममा छ । तसर्थ मुक्तिकोट त प्रतिनिधि स्थान मात्र हो । यस्ता समस्या अन्य धेरै स्थानमा हुन सक्छ भनेर इयु र युनिसेफ नेपालको आर्थिक र प्राविधिक सहयोगमा प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा शनिबारबाट गणक र सुपरभाइजरहरुलाइ ५ दिने स्मार्ट सर्वे सम्बन्धि तालिम सदरमुकाम मार्तडीमा शुरु भएको हो ।
प्रदेश नीति तथा योजना आयोग बहुक्षेत्रिय पोषण योजनाका प्रदेश संयोजक ज्ञानेन्द्र दवाडीले भने– ‘यस समस्यालाई बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गरी विकासका सवै आयामहरु (कृषि, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ, महिला सशक्तिकरण, जीविकोपार्जन, सिपमूलक कियाकलाप ) लाई एकिकृत गरी तीनै तहका सरकारले विशेष प्याकेज तयार गरी लक्षित वर्ग केन्द्रित बहुक्षेत्रीय कार्यक्रम लागु गर्न जरुरी देखिन्छ ।’
अनुगमन मुल्याङकन बिशेषज्ञ डा संजय रिजालले भने– ‘यो सर्वेक्षण पश्चात जिल्लाको पोषण अवस्थाको यथार्थ चित्रण हुने र आगामी दिनमा नीति तथा योजना बनाउन महत्वपूर्ण हुने विश्वास छ ।’
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत डिएन गिरीले भने– ‘कार्यक्रम यो सर्वेक्षणलाइ आधार मान्दै आगामि दिनमा अन्य जिल्लामा विस्तार गर्ने तयारीमा छौं ।’
मानव विकास प्रतिवेदन २०१४ अनुसार बाजुरा जिल्लाको मानव विकास सुचाकंक सबै भन्दा कम अर्थात ०.४२५ रहेको छ । बाजुरा जिल्लामा ९ स्थानीय तह छन् । बाजुरेलीले बेहोर्ने अर्को दुःख हो–खाद्य संकट ।
जिल्लावासीको प्रमुख पेशा कृषि हो । तर, खाद्यसंकटको हिसाबले यो जिल्ला सुदूर पहाडकै सबै भन्दा जोखिमयुक्त जिल्ला हो । जिल्लामा बाली सप्रेकै सिजनमा समेत बार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार ४० प्रतिशत बाजुरेलीलाई आफ्नो उत्पादनले ३ महिनासम्म पनि खान पुग्दैन । त्यसो त ९.२१ प्रतिशत जमीन मात्रै खेतीयोग्य छ, सिंचाई १.४२ मा मात्रै । चरम भोकमरी, गरिबी, अशिक्षा र भौगोलिक विकटताका कारण पोषणको पहुचबाट टाढा र कुपोषणको मात्रा धेरै रहेको छ ।
भौगोलिक विकटता, खेतीयोग्य जमिनको अभाव, खडेरी, पानीको स्रोतको अभाव, चरम बेरोजगारी, शिक्षा, खानेपानी, सरसफाई जस्ता आधारभूत सेवाको अभाव, बाल विवाह, छाउपढी जस्ता सामाजिक कुरीति विद्यमान हुनु, अन्य जीविकोपार्जनका लागि वैकल्पिक उपाय र अन्य आम्दानीका स्रोतको कमी, स्वास्थ्य सेवाका लागि सहज पँहूच नहुनु, सामाजिक सुरक्षाका कार्यक्रमहरुको न्यूनता जस्ता कारणले पोषणको अवस्थामा अपेक्षित सुधार हुन सकेको छैन ।