धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९

प्रदेश सभामै दोहोरिने प्रयास

२०७४ को निर्वाचनमा प्रत्यक्ष बिजयी भएका सुदुरपश्चिम प्रदेश सभाका ३२ प्रदेश सभा मध्य यस पटकको निर्वाचनमा  १३ जना प्रदेश सभाकै लागि पुनः प्रतिस्पर्धाममा उत्रिएका छन् ।

धनगढी । पहिलो प्रदेश सभा निर्वाचन २०७४ मा बाम गठबन्धनबाट उम्मेदवार थिए नेकपा एमालेका पठानसिंह बोहरा । २०७४ सालमा प्रदेश सभामा निर्वाचित भएका बोहरा आगामी मंसिर ४ गते हुन लागेको प्रदेश सभामा पुनः उम्मेदवार बन्ने भएका छन् ।

आईतबार डडेल्धुरामा उनले निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । डडेल्धुरामा पठानसंग नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका खगराज भट्टबीच प्रतिष्पर्धा हुने भएको छ ।

२०७४ सालमै सम्पन्न प्रदेश सभा निर्वाचनमा बाजुरा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘१’ बलदेव रेग्मी निर्वाचित भए । मंसिर ४ गते हुन लागेको प्रदेश सभा निर्वाचनका लागि उनले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

पुर्व प्रदेश सभा सदस्य बोहरा र रेग्मी झै २०७४ सालको निर्वाचनमा निर्वाचित आधा उम्मेदवारहरुले पुनः प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराई प्रतिष्पर्धा गर्न लागेका छन् । प्रदेश सभामा दोहोरिन चाहेर उम्मेदवारी दर्ता गराउनेमा मन्त्री, पुर्व मन्त्रीदेखि संसदीय समितिका सभापति, प्रमुख सचेतक, प्रदेश सभा सदस्यहरु रहेका छन् ।

एकीकृत समाजवादी पार्टीकै इन्चार्ज समेत रहेका दीर्घबहादुर सोडारीले कैलाली क्षेत्र नम्बर ४ प्रदेश सभा ‘१’ बाट उम्मेदवारी दर्ता गराई प्रदेश सभामा दोहोरिने तयारी गरिरहेका छन् । उनी प्रदेशको भौतिक पुर्वाधार मन्त्री समेत हुन् ।

पुर्व सामाजिक विकास मन्त्री समेत रहेका लालबहादुर खडकाले एकीकृत समाजवादी पार्टीबाट कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश सभा ‘२’ बाट उम्मेदवारी दर्ता गराएका छन् । 

नेकपा एमालेबाटै कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘१’ नेपालु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी प्रदेश सभामा विद्यायन तथा प्रदेश मामिला समिति सभापति पनि थिए ।

बैतडी क्षेत्र नम्बर १ को प्रदेश सभा ‘२’ मा नेकपा एमालेबाट लिलाधर भट्टले आईतबार उम्मेदवारी दर्ता गराए । उनी नेकपा एमालेको संसदीय दलको प्रमुख सचेतक समेत बनिसकेका छन् ।

२०७४ सालमा बाम गठबन्धनबाट नेकपा एमालेबाट उम्मेदवार बनेर कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट निर्वाचित बनेका थिए रतन थापा । २०७९ सालको निर्वाचनमा पार्टीको विधान विपरित कार्य गरेको भन्दै पार्टीले अनुशासनको कारबाही गरेपछि उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । अब हुने प्रदेश सभा निर्वाचनमा उनले आईतबार निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका रणबहादुर रावलले आईतबार टीकापुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रदेश सभामा उम्मेदवारी दर्ता गराए । उनले कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा ‘२’ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका नेकपा माओवादी केन्द्रका मान बहादुर धामीले दार्चुला क्षेत्र नम्बर १ प्रदेश सभा ‘२’, सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले डडेल्धुरा प्रदेश १ क्षेत्र नम्बर २, आर्थिक मामिला राज्यमन्त्री प्रकाश रावलले कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेश सभा ‘१’, पूर्व आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउदले कैलाली क्षेत्र नम्बर ३ प्रदेश सभा ‘२’ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा सदस्य रहेका माओवादी केन्द्रका अक्क लबहादुर रावलले अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ‘१’ र लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णबहादुर चौधरीले कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा ‘१’ मा उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ को निर्वाचनमा प्रत्यक्ष बिजयी भएका सुदुरपश्चिम प्रदेश सभाका ३२ प्रदेश सभा मध्य यस पटकको निर्वाचनमा  १३ जना प्रदेश सभाकै लागि पुनः प्रतिस्पर्धाममा उत्रिएका छन् । 

प्रतिनिधि सभामा प्रयासरत प्रदेश सभा सदस्य 

२०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रदेश सभामा निर्वाचित भए डिल्लीराज पन्त । मंसिर ४ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि आईतबार उनले सत्ता गठबन्धनका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालमै प्रदेश सभा सदस्य बनेका पुर्व आर्थिक मामिला मन्त्री तारा लामा तामाङले आईतबार कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी बिना मगरसंग प्रतिष्पर्धा गर्ने छन् ।

प्रदेशको आर्थिक मामिला मन्त्रीको नेतृत्व गरिसकेका नेकपा एमालेका झपट बहादुर बोहराले अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पहिले प्रतिस्पर्धा, अहिले सहकार्य

कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट आईतबार नेपाली काँग्रेसबाट दिवानसिंह विष्टले उम्मेदवारी दर्ता गराएका छन् । बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रकी विना मगरले उम्मेदवारी दर्ता गराएपछि विष्टले प्रदेशमा उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा बिष्ट नेकपा माओवादी केन्द्रकी उम्मेदवार मगरसंग पराजित भएका थिए । ३६ हजार दुई सय ९५ मत खसेकोमा मगरले ३८ हजार चार सय ६७ मत प्राप्त गर्दै निर्वाचित भएकी थिइन । नेपाली काँग्रेसबाट निर्वाचनमा भाग लिएका विष्टले १९ हजार दुई सय १९ मत प्राप्त गर्दै मगरलाई पन्छ्याएका थिए ।

आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा विष्ट र मगर संगै मिलेर प्रचार–प्रसारमा होमिएका छन् । विष्टले अहिले पनि प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराउने चर्चा रहेको थियो । यद्यपी बाम–लोकतान्त्रिक गठबन्धनका कारण उनी प्रदेशमा उम्मेदवारी दिनु परेको जनाइएको छ ।

प्रतिनिधि सभापछि प्रदेशको प्रतिस्पर्धामा 

२०७४ सालमा बाजुरा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य हुन लाल बहादुर थापा । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा उनले बाजुराको प्रदेश सभा ‘ख’ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आईतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर थापाले प्रदेश सभामा नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।

थापाले २०७४ सालको प्रतिनिधि निर्वाचनमा २८ हजार ६५ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्य बनेका थापाले प्रतिनिधि सभामा टिकट नपाएपछि प्रदेशमा उम्मेदवारी दर्ता गराएका हुन्  । उनी एमाले पार्टीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज समेत हुन । नेकपा एमालेबाट प्रतिनिधि सभामा आईतबार कर्णबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा   कर्ण बहादुर  थापा प्रदेशमा समानुपातिकमा बसेका थिए ।