शेर बहादुर ऐर
आइतबार, ३० असोज २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका समेत रहेको धनगढी उपमहानगरपालिकामा आर्थिक वर्ष २०७८/७९ मा ५१ जना घरमै सुत्केरी भए । धनगढीमा संस्थागत सुत्केरी हुने संख्या बढ्दै गए पनि जनचेतना अभाव, आर्थिक अवस्था कमजोरका कारण अझै घरमै सुत्केरी हुने गरेका छन् ।
कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा तीन सय ३६ जना घरमै सुत्केरी भएका छन् । त्यसमध्ये सबैभन्दा बढी चुरे गाउँपालिकाका महिला रहेका छन् । चुरे गाउँपालिकामा एक सय एक महिला घरमै सुत्केरी भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा कैलालीको भजनी नगरपालिकामा २८, टीकापुरमा ११, लम्की चुहा नगरपालिकामा १२, गौरिगंगा नगरपालिकामा १६, घोडाघोडीमा २४ र गोदावरी नगरपालिकामा एक सय एक महिला घरमै सुत्केरी भए भने मोहन्याल गाउँपालिकामा ४० र बर्दगोरिया गाउँपालिकामा नौ महिला घरमै सुत्केरी भए ।
जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा एक हजार छ सय ९२ जना र आर्थिक वर्ष २०७७/७८ मा छ सय १० जना घरमै सुत्केरी भएका थिए । आर्थिक वर्ष २०७६/७७ मा मात्र धनगढी उपमहानगरपालिकाभित्रै घरमै सुत्केरी हुनेको संख्या बढी छ । एक हजार छ सय ९२ मध्ये धनगढीमा एक हजार एक सय २५ महिला घरमै सुत्केरी भए । आर्थिक वर्ष २०७७/७८ मा ७९ जना घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा रहेको छ ।
घरमै सुत्केरी हुने संख्या सबै भन्दा कम जोशीपुर, कैलारी र जानकी गाउँपालिकामा रहेको छ । ती पालिकामा आर्थिक वर्ष २०७६/७७ मा एक, आर्थिक वर्ष २०७७/७८ मा पाँच र आर्थिक वर्ष २०७८/७९ शून्य महिला घरमै सुत्केरी भएको उल्लेख छ ।
जोशीपुर गाउँपालिकामा दुई आर्थिक वर्षदेखि घरमै सुत्केरी हुनेको संख्या शून्य रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा सो गाउँपालिकामा दुई महिला घरमै सुत्केरी भए पनि आर्थिक वर्ष २०७७/७८ र ७८/७९ मा घरमै सुत्केरी हुनेको संख्या शून्य रहेको छ ।
जानकी गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा छ र आर्थिक वर्ष २०७७/७८ मा छ जना घरमै सुत्केरी भएका छन् भने आर्थिक वर्ष २०७८/७९ मा एक महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा रहेको छ ।
जिल्लाका पालिकाहरुमा स्वास्थ्य संस्था, जनशक्ति र उपकरण भए पनि महिलामा जनचेतना, आर्थिक अभाव, रोग लुकाउने बानी लगायतका कारण अझै पनि महिलाहरु घरमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । उनले भने –‘घरमै सुत्केरी हुँदा महिलाहरुले भोग्नुपर्ने समस्या, बालबालिकामा हुने कुपोषण लगायतका बारेमा जनचेतनामुलक कार्यक्रम हरेक पालिकामा सञ्चालन गर्नुपर्ने देखिन्छ ।’
घरमै बच्चा जन्माउँदा आमा र बच्चा दुबै जोखिममा पर्ने गर्छन् । स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुँदा महिला र बच्चाको ज्यान जोगाउन सकिने उनले बताए ।