धनगढी पोष्ट 
                                आइतबार, २८ असोज २०८०  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । कैलालीको धनगढीसंग गौरिफण्टा नाका नजिकै पर्ने भारतको वनगाउँ बजारका व्यापारीले भारतीय रुपैया लगेर जाने नेपालीबाट कमिसन खाएर ठग्ने गरेको पाइएको छ ।
जनगाउँमा नेपाली रुपैंयामै कारोवार हुने र भारतीय रुपैंयाको पनि नेपामा हुने चलनचल्ती अनुसारकै कारोवार हुनेगरेकोमा पछिल्लो समय त्यहाँका व्यापारीले भारतीय रुपैंयालाई सटही गर्दा चलनचल्ती भन्दा कम दिने गरेको सामान किन्न वनगाउँ जाने नेपालीले बताएका छन् ।
नेपालमा पछिल्लो समय भारतीय रुपैंयाको कारोवार नहुँदा त्यसको फाइदा उठाउँदै भारतीय व्यापारीले भारु रुपैंया सटहीमा कमिसन खाने गरेको धनगढी–२ का स्थानीय रमेस बिसिले बताए । ५ सय भारतीय रुपैंयाको नेपाली ८ सय रुपैंया हुनेगरेकोमा पछिल्लो समय त्यहाँका व्यापारीले ५ सय भारुको ७ सय ५० देखि ७ सय ७५ मात्रै दिने गरेको उनले बताए ।  
वनगाउँमा नेपाली रुपैंयामै कारोवार हुने गरेको छ । जस अनुसार ५ सय भारतीय रुपैंयाको ८ सय नेपाली हुनुपर्ने भएपनि वनगाउँका व्यापारीले भने ७ सय ५० मात्रै दिने गरेको बिसिले बताए । ‘नेपालमा भारतीय रुपैंया लग्न व्यापारीले मान्ने गरेका छैनन्,’ बिसिले भने, ‘सामान पनि सस्तोमा पाइने र आफुसंग भएको भारु रुपैंया पनि साट्न पाइन्छ भनेर बनगाउँ गएको थिए, तर यहाँका व्यापारिले मलाई ठगे, उनिहरुकै देशको पैसा पनि सस्तोमा खरिद गरेर कमिसन खाए ।’
‘वनगाउँमा नेपाली रुपैंयाका कारोवार हुनेगरेको छ,’ उनले भने, ‘भारतीय रुपैंया सटही गरेर नेपाली मुल्यमै कारोवार गर्ने गरिएको थियो, नेपालमा भारतीय रुपैंया चल्न छोडेपछि त्यसको फाइदा उठाउँदै वनगाउँका व्यापारीले नेपालीलाई ठग्ने गरेका छन् ।’
धनगढी–२ कै प्रकाश सेठ्ठीले ५ सय भारतीय रुपैया सठहीमा वनगाउँका व्यापारीले मनपरी तरिकाले कमिसन खाने गरेको बताए । ‘म दुई तीन पटक दुई–चार हजार भारतीय रुपैंया लगेर वनगाउँ गएको छु,’ उनले भने, ‘त्यहाँ ५ सय भारुको कसैले ७ सय ७५, कसैले ७ सय ५० नेपाली मानेर कारोवार गरे, त्यसो किन गरेको भन्दा कुनै जवाफ आउँदैन, साट्नेभए साट नत्र जाउ भन्छन् ।’
कैलालीको गोदावरी नगरपालिका–३ की विस्ना कोलीले भने ५ सय भारु रुपैंया लगेर जाँदा वनगाउँका भारतीय व्यापारीले ७ सय मात्रै दिएको गुनासो गरिन् । ‘दशैका लागि सामान किन्न हामि ३ जना महिला भारु रुपैंयानै लगेर वनगाउँ गएका थियौं,’ उनले भनिन्, ‘सामान सस्तो पर्छभनेर यती टाढाबाट त्यहाँ पुग्यौं, त्यहाँका व्यापारीले ५ सय भारुको ७ सय भन्दा बढी दिएनन्, उल्टै घाटा व्यहोरेर नेपाल फर्कियौं ।’ आफ्नै रुपैंयामा किन कमिसन खाएको भन्ने प्रश्न गर्दा वनगाउँका व्यापारीले दिनेभए देउ नत्र जाउ भन्ने गरेको उनले बताइन् । ‘यति टाढाबाट आएपछि रित्तै हात जान पनि मनले मान्दैन, घाटा खाएरै भएपनि थोरै सामान किनेर फर्कियौं ।’
चाडवाडको समयमा सस्तोमा सामान पाइने आशामा वनगाउँ जाने नेपालीलाई त्यहाँका व्यापारीले ठग्ने दाउ खोजेको गोदावरी ३ कै महिला रेवति बाहराले बताइन् । ‘एक साता अघि सम्म ७ सयमा पाइने सुटपिसको अहिले ११ सय भने,’ उनले भनिन्, ‘भारतीय रुपैंया सटहीमा पनि कमिसन खानेगरेका छन्, यो उनिहरुको लुट्ने दाउहो ।’ वनगाउँ जाने नेपालीले उनिहरुले भनेको मुल्यमा सामान किन्ने गरेका कारण पनि मनमानी मुल्य भन्ने गरेको उनले बताइन् । ‘चिनिको पनि फरक–फरक पसलमा फरक–फरक मुल्य भेटिन्छ,’ उनले भनिन्, ‘भारु रुपैयाँमा पनि कसनैले एक सय सम्म पनि काट्ने र न्यूनतम ५० काट्ने गरेको पायौं, वनगाउँ जाने नेपाली सजग हुनु जरुरी छ ।’