धनगढी पोष्ट
बुधबार, १४ साउन २०७७ मा प्रकाशित
धनगढी
लगातारको बर्षाका कारण आएको बाढीबाट कैलाली जिल्लामा तीन जना बेपत्ता भएका छन् भने ६ हजार भन्दा बढी घर डुबनामा परेका छन् । बुधबार रातिबाट लगातार परेको पानीका कारण कैलालीको मध्य दक्षिणी क्षेत्रमा पालिकाहरुमा घरहरु डुबानमा परेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको वडा नम्बर ८ सोनाफाटाका ठग्गु चौधरीको ११ बर्षको छोरा स्केल चौधरी, इश्वर शाही र चक्र बिक बपत्ता भएका छन् ।
बाढीबाट बगेका सानाफाटाकै हेमन्त शाही, बल बहादुर चौधरी र बिक्की शाहीको भने उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भजनी नगरपालिकामा १ हजार ८ शय ४० घर र जोशीपुर गाउपालिकामा २ हजार ३ शय १५ घर डुबानमा परेका छन् । त्यस्तै जानकी गाउँपालिकामा १ हजार घर, टीकापुर नगरपालिकामा १ हजार ६८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।
भजनी नगरपालिकामा डुबानमा परेको घरका सदस्यहरुलाई नजीकैका बिद्यालय र हुलाकी राजमार्गमा राखिएको जोशीले बताए ।