धनगढी पोष्ट शुक्रबार, १२ मङि्सर २०८२   November 28, 2025

नेता र नेतृत्व: समाजले गर्ने आविष्कार

नेता र नेतृत्व: समाजले गर्ने आविष्कार
दीर्घ बहादुर चन्द

“मैले डाका मार्या छ ?  मैले कसैको स्वास्नी ताक्या छ ?  मैले अनैतिक काम गर्या छ ?  मैले घुस खा’छ ?  मैले भ्रष्टाचार गर्या छ ? मैले राष्ट्रद्रोही काम गर्या छ ? मलाई गालि गर्ने यार ? नेता भन्ने ? म राष्ट्र द्रोही हो ? मैले राष्ट्रको हित विपरित केहि काम गर्या छ ? कुरा गर्नु हुन्छ, नेता भन्ने तपाइंले ? म देशको माया गर्ने मान्छे नेता भन्ने तपाइंले ? मैले देशको दोहन गर्या छ ? मैले जनता मारेर आफ्नो पार्टीलाई पोष्या छ ? के गर्या छु ? मु... ” केहि वर्ष पहिले कुनै सार्वजनिक कार्यक्रममा कुनै पत्रकारले नेताको संज्ञा दिएपछि प्रख्यात हास्य कलाकार सन्तोष पन्तले पोखेको आक्रोश हो यो । उक्त भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो र अझै पनि उक्त भिडियो हेर्न सकिन्छ । उनको आक्रोशमा नेता शब्दले उनलाई होच्याएको र गाली गरेको झल्किएको छ तथा वर्तमान नेपाली समाजले अर्थ्याएको नेताको पूर्ण परिभाषा चित्रित भएको छ । नेताले सम्मानित आदर्श व्यक्तिको चित्रण गर्नुपर्नेमा नेपाली समाजले नेतालाई माथि प्रस्तुत शब्दहरुमा अलंकृत गरिदिएको छ । राजनीति भनेको फोहोरी खेल हो । मेधावी, सज्जन, राम्रो क्यारियर भएका र इमान्दार व्यक्तिहरुले राजनीति गर्ने होइन र राजनीतिबाट टाढै रहनु पर्छ भन्ने भाष्य निर्माण गरिएको छ । वर्तमान नेपाली समाजमा आफ्ना बाबुनानीहरुलाई जागिर गर्नकोलागि पढाउने, पढेपछी सकेसम्म लोकसेवा पास गरि सरकारी जागिरको खोजि गर्ने त्यसपछिको प्राथमिकता अनुसार प्राइभेट नै भए पनि जागिर गर्ने, सानोतिनो पसल खोलेर व्यापार गर्ने, स्टुडेन्ट भिसामा विदेश जाने, वैदेशिक रोजगारीमा जाने र अन्तमा कतै कुनै सम्भावना नभए मात्र कुनै चिने जानेको नेताको पछी लागेर राजनीति गर्ने प्रवृत्ति रहेको छ । त्यस्तै कक्षा १२ पास गरेपछि कृषिमा आधारित पेशा र घरायसी काम गरेमा इज्जत जाने भन्ने मानसिकता विकास भएको छ तसर्थ अधिकांश पुरुषहरु कामदार भएर वैदेशिक  रोजगारीमा जाने र महिलाहरु सदरमुकाम वा शहरमा भाडामा बसेर भए पनि सानोतिनो जागिर गर्ने चाहे त्यो जागिर कसैको घरको काम वा अफिसको सहयोगीको काम नै किन नहोस् । यस्तो प्रवृत्तिले वृद्ध व्यक्तिहरु गाउँघरमा एक्लिने तथा युवाहरु शहर केन्द्रित हुँदा विभिन्न सामाजिक विकृतिहरु विशेषगरी विवाहेत्तर सम्बन्धले वैवाहिक सम्बन्ध विच्छेदका घटनाहरु वर्षेनी बढ्दै गएको तथ्यांकले देखाएको छ । 

 “आवश्यकता नै आविष्कारको जननी हो” भन्ने कथनलाई चरितार्थ गर्दै जब समाज कुनै समस्याले आक्रान्त हुन्छ भने उक्त समस्या समाधान नै तत्काल समाजको आवश्यकता रहन्छ । सोहि सामाजिक समस्याको समाधानार्थ  खोजिने उपाय वा विचारलाई कार्यन्वयन गर्ने व्यक्ति वा समुहको खोजि नै नेतृत्व निर्माणको प्रक्रिया हो । अर्को शब्दमा भन्नेहो भने समस्या समाधान आवश्यकता हो र नेतृत्वको खोज नै आविष्कार हो । नेताले समग्र समाजको प्रतिनिधित्व गर्दछ । समाज सभ्य, शिक्षित, परिष्कृत र सकारात्मक सोचको छ भने खोजिएको नेतृत्व पनि राम्रो हुनेछ र समाज अशिक्षित, असभ्य, भ्रष्ट र नकारात्मक छ भने त्यस्तो समाजले खोजेको नेतृत्व कमसल हुन्छ भन्ने कुरा स्वयम् सिद्ध छ । भन्नुको तात्पर्य कुहिएको आलुको बोरामा जति खोजेपनि कुहियेकै आलु फेला पर्नेछ कथंकदाचित राम्रो आलु भेटिए पनि कुहिएको आलुहरुको संगतमा उक्त राम्रो आलुपनि छिटै कुहिने सम्भावना अत्यधिक रहन्छ ।

समाजमा भएका अनेकौं आन्दोलन, विचार, बहस र घटनाक्रमले नेताको जन्म हुन्छ । नेपालको एकीकरणको लागि पृथ्वीनारायण शाहको जन्म भयो, दरबारको षड्यन्त्र, जालझेल, सत्तामोह  र दाउपेचले जंगबहादुरको जन्म भयो, २००७ सालले विशेश्वरप्रसाद कोइराला जन्मायो, माओवादी द्वन्द्वबाट प्रचण्ड जन्मे भने भर्खरको जेन-जी आन्दोलन (क्रान्ति?)ले पनि कसै न कसैलाई त अवश्य जन्माउला किनकी जेन-जी आन्दोलनको नेता गर्भमै छन् र देश अहिले प्रसवपीडाले ग्रस्त छ ।

नेता र नेतृत्व कुनै विद्यालयमा पढाएर वा कुनै प्रतिष्ठित संस्थामा तालिम दिएर तयार हुँदैन नेतृत्व परिस्थिति अनुसार समाजले सिर्जना गर्छ । देशमा संकट, प्राकृतिक विपत्ति वा राजनीतिक अस्थिरता हुँदा नेतृत्वको आवश्यकता महसुस हुन्छ, र समाजले त्यस्तो व्यक्तिलाई अघि ल्याउँछ जसले समाधान देखाउँछ । जब समाज विभाजित हुन्छ, त्यसलाई एकता दिलाउने व्यक्तिहरू स्वतः नेता बन्न पुग्छन् । नयाँ विचार र नीतिको आवश्यकता पर्दा, नवप्रवर्तन गर्नेहरू नेतृत्वमा आउँछन् । यसरी नेतृत्व कुनै आकस्मिक घटना होइन; त्यो समाजको अनुभव, आवश्यकता र सामूहिक चेतनाको प्रतिफलको रुपमा जन्मिन्छ र नेतालाई समाजले परिष्कृत गराउंछ । आगलागि हुँदा अग्नि समनमा अघि बढ्ने, बाढीपहिरो आउँदा उद्धारमा अग्रसर हुने लगायत कुनैपनि विपत्तिमा समाजसेवाको लागि अगाडी आउने व्यक्ति नै नेता हो त्यस्तो अवस्थामा राजनैतिक नेतृत्व भन्दा परिस्थितिजन्य नेतृत्वले बढी योगदान गर्न सक्दछ र उक्त परिस्थीको नेता उ स्वयम् हुन्छ ।

विकृत समाजले नेतालाई भ्रष्टाचारी हुन उत्प्रेरित गर्छ भने सभ्य समाजले नेतामा सुसंस्कृत हुने प्रेरणा दिन्छ । प्रचलित नियम र कानून विपरित आफ्नो स्वार्थ पुर्तिगर्न नेतालाई भेट्न गएको समयमा नेतासंग खिचेको तस्वीर सामाजिक संजालमा पोष्ट गर्दा गौरव गर्ने समाजले आफ्नो त्यहि स्वार्थ पूर्ति नहुँदा त्यहि नेतालाई तथानाम गाली गर्नेले कसरी राम्रो नेता उत्पादन गर्न सक्दछ ? कुनै पनि प्रतिस्पर्धामा शक्तिकेन्द्रको दयामायाको अपेक्षा गर्ने समाजले आफ्नो अक्षमताले प्रतिस्पर्धाबाट बहिरिंदा त्यहि शक्तिकेन्द्रलाई सत्तोसराप गर्छ, आफु सफल हुँदा गर्व गर्दै म सफल भएँ भन्ने समाजले आफु असफल हुँदा छनोटकर्ता वा शक्तिकेन्द्रलाई आफ्नो असफलता वा अक्षमताको दोष दिन्छ र मलाई असफल गरिदियो वा फालिदियो भन्छ त्यस्तो समाजले भ्रष्ट नेता उत्पादन गर्ने निश्चित हुन्छ । आफ्नो क्षेत्रको कोहि व्यक्ति कुनै उच्च ओहोदामा पुग्दा निजबाट के कस्तो लाभ लिन सकिन्छ ? भनेर सोच्ने स्वार्थी समाजले र स्वार्थ पूर्ति हुनेभए चाकरी चाप्लुसी गर्ने र स्वार्थ पुरा नहुनेभए कर्के आँखाले पनि हेर्न नरुचाउने समाजले कस्तो नेतृत्व निर्माण गर्ला ? तपाइँ आफै सोच्न सक्नु हुन्छ । सोझो इमान्दार व्यक्ति भन्दा जालझेल गर्ने व्यक्ति प्रति विश्वास गर्ने, चुनावमा एक लिटर पेट्रोल वा एक बोत्तल बियर वा एक छाक मासुभातमा आफ्नो अमूल्य मत साट्ने समाजले अन्ततः चोर डाँका र फटाहालाई नै विजयी गराउंछन् जुन कुरा नेपालका विगतका चुनावका तथ्यांक केलाएमा प्रष्ट हुन्छ । अपराधी पृष्ठभूमि भएका वा अपराधी करार गरिएका, भूमिगत अवस्थामा भएका, हत्यारा कहलिएका टोले गुण्डा र बदमासीमा अब्बल व्यक्तिहरुले चुनाव जितेका यथेष्ट प्रमाणहरु हामीसंग छन् । टेलिभिजनमा हरिबहादुर, धुर्मुस जस्ता ठग र पाखण्डी पात्रहरु बढी रुचाइने समाजले कस्तो नेतृत्वको अपेक्षा गरेको हुन्छ? तपाइँ आफै मुल्यांकन गर्न सक्नु हुन्छ ।

समाजले नेता बनाउँछ भने नेतृत्वले समाज बनाउँछ । नेतृत्वका धेरै रुपहरु मध्ये केहि हुन् राजनैतिक नेतृत्व, सामाजिक नेतृत्व, धार्मिक नेतृत्व, प्राविधिक नेतृत्व, शैक्षिक नेतृत्व, प्रसाशनिक नेतृत्व, सैनिक नेतृत्व आदि हुन् । थोरै शब्दमा नेताको सम्बन्धमा बुझ्ने हो भने अमेरिकन लेखक जोन सी माक्सवेलका अनुसार नेता भनेको Who knows the way, who goes the way, who shows the way अर्थात् जसलाई बाटो थाहा छ, जो त्यहि बाटो हिड्छ र जसले त्यहि बाटो देखाउंछ” हो । सामान्यतया नेतृत्वमा सत्यता, ईमानदारी र पारदर्शिता, जनसेवाको भावना, राष्ट्रप्रेम र प्रतिबद्धता, सरलता र जनसम्पर्क, समावेशी दृष्टिकोण, न्याय र समानताको प्रतिवद्धता, ज्ञानी, दूरदर्शिता, निष्पक्षता जस्ता गुणहरूको खोजी गरिन्छ । सबै भन्दा ठूलो कुरा नेताले उदाहरणीय काम गर्न सक्नुपर्दछ जसले नेतालाई समाजको लागि आदर्शको रुपमा स्थापित गर्दछ ।

नेपाली समाजमा माथि उल्लेखित गुण भएका व्यक्तिहरू प्रायः चुनावमा जित्न सक्दैनन् । यसको कारण समाजको सोच, राजनीतिक संस्कार र आर्थिक संरचनामा लुकेको हुन्छ । नेपालजस्ता विकासोन्मुख देशमा नेतृत्वको मापदण्ड अझै पनि पैसा, शक्ति र पहुँच रहेको छ । निर्वाचन खर्चिलो छ, जसले गरीब तर ईमानदार उम्मेदवारको लागि विषम परिस्थिति पैदा गरिदिन्छ । पार्टीहरूमा आन्तरिक लोकतन्त्र कमजोर छ फलस्वरूप नेतृत्व पदमा पुग्न विचार होइन, पैंसा र पंहुच आवश्यक छ । मतदाताले उम्मेदवारको मुल्यांकन गर्दा तत्कालीन व्यक्तिगत फाइदालाई ध्यान दिन्छन न कि उम्मेदवारको दीर्घकालीन सोच वा नीतिलाई । निर्वाचन आयोगदेखि न्याय प्रणालीसम्मको कमजोरीले असमान प्रतिस्पर्धाको अवस्था सिर्जना गर्छ । यसरी समाज नै यस्ता संरचनाबाट प्रभावित हुँदा, नेतृत्व पनि त्यसकै जन्जालमा फस्न पुग्छ जुन नेपालजस्तो देशकोलागि विडम्बना नै हो । विभिन्न प्रतिवेदन अनुसार नेपालको औषत बौद्धिकता (Average Intelligence Quotient) स्तर संसारका सबै देशहरुको तुलनामा पुछारमा रहेको छ  । नेपाल संगै उक्त सूचीमा पुछार तिर रहेका अन्य देशहरुमा दक्षिणी सुडान, एक्किटोरियल गिनी, सेरालियोन, अंगोला, मोजाम्बिक आदि देशहरुको नेतृत्वको अवस्था पनि नेपाल संग मिल्दोजुल्दो नै छ । उक्त देशहरुमा पनि नेपालको जस्तै चरम भ्रष्टाचार, पछौटेपन, अतिकम विकास, अशिक्षा लगायत मानव विकास सूचकांकहरु पनि कम रहेको छ । भन्नुको तात्पर्य औषत कम बौद्धिकता भएको समाजले उत्पादन गर्ने नेता र नेतृत्व निर्माणको अवस्था पनि कहाली लाग्दो नै भएको तथ्यांकले दर्शाएको छ । त्यस्तै उच्च बौद्धिकता भएका देशहरुको नेतृत्वका साथै भौतिक विकासपनि लोभलाग्दो हुन्छ । औषत उच्च बौद्धिकता भएका देशहरुमा विशेषगरी चीन, दक्षिण कोरिया, जापान, सिंगापुर, ताइवान जस्ता देशहरु रहेका छन् र उक्त देशहरुको नेतृत्व र विकासको स्तर तपाइँ आफै प्रत्यक्ष देख्न सक्नुहुन्छ ।

सामाजिक संजालमा हेर्ने हो भने देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरु लगायत सबै पार्टीका शीर्ष नेताहरु सम्बन्धित पोष्टहरुमा अधिकाशं कमेंट/टिप्पणीहरु गालीगलौजले ओतप्रोत रहेका हुन्छन् । यस्तो लाग्छ सामाजिक संजाल खोल्नु भनेको नेताहरुलाई गरेको गालीगलौजको फेहरिस्त हेर्दै मनोरंजन लिनु हो । त्यस्तो गाली सुन्न नसकेरै होला तत्कालीन सरकारले दर्ता नभएका सामाजिक संजालहरुलाई दर्ता गर्न आह्वान गरेको र दिएको समय सीमा नाघे पछी रोक लगाउँदा जेन-जी आन्दोलन (क्रान्ति?) उर्लियो, देश जल्यो र दशकौं लामो नेतृत्वको सिन्डिकेट भत्कियो । सरकार (व्यवस्था?) परिवर्तन गर्न अब माओवादी द्वन्दमा जस्तो हतियार बोक्नु पर्दैन अब सामाजिक संजाल मार्फत पनि सत्तापल्टाउने क्रान्ति हुन सक्दछ भन्ने ज्वलन्त उदाहरण होम्रो सामुन्ने छ ।  सामाजिक संजाल सशक्त भएको छ अब प्रतिमान बदलिएको (Paradigm shift) छ । यद्धपि, विदेशी कम्पनीहरुले संचालन गरेका सामाजिक संजालहरुको नेपालमा दर्ता हुनुपर्छ भन्ने प्रावधान राख्नु तत्कालीन सरकारको एक राष्ट्रवादी कदम अवश्य मान्न सकिन्छ तर भ्रष्ट नेतृत्वको प्रारब्ध भनौं वा कर्तुतले सोहि सामाजिक संजालमाथिको सरकारी रोक नै जेन-जी आन्दोलन (क्रान्ति)को प्रस्थान विन्दु भयो र तत्कालीन सत्ताको पत्तासाफ भयो । व्यवस्था परिवर्तन हुन्छ कि हुँदैन? जुन भविष्यले भन्ने नै छ तर जनताले व्यवस्था भन्दा पनि अवस्था परिवर्तनको अपेक्षा राखेर नै जेन-जी आन्दोलन (क्रान्ति) लाई पूर्ण समर्थन गरेका हुन् ।  

अवस्था जे सुकै भएपनि यहि जेन-जी आन्दोलन (क्रान्ति) लाई प्रस्थान विन्दु मान्दै हामीले राम्रो नेता र नेतृत्व स्थापित गर्न सक्छौं भन्ने आत्मविश्वास आर्जन गर्नुपर्छ । समाजको सोच परिवर्तन गर्नु पर्दछ, हामीले आफैमा भरोषा पैदा गर्न सक्नु पर्दछ, हामी आफै कसैको भनसुन र छहारी बिना पनि सफल हुन सक्छौं भन्ने आत्मविश्वासका साथ अगाडी बढ्नुपर्छ । हामी आफैले स्थापित गरेको नेतृत्वबाट अनपेक्षित र गैरकानूनी आश गर्नु हुन्न, इमान्दार नेतालाई आदर गर्नुपर्छ, गाली गर्नुहुन्न तथा नेतृत्वलाई विचलित हुनबाट रोक्न सक्नु पर्दछ । स्वच्छ र दुरदर्शी नेतृत्व पैदा गर्ने कि भ्रष्ट नेतृत्व पैदा गर्ने? हाम्रो समाजको हातमा छ । भगवान ओशोले भने अनुसार यदि कुनै समाजमा कोहि व्यक्ति भिकारी छ, कोहि व्यक्ति चोर छ वा कोहि व्यक्तिले डकैति गर्छ भने ती व्यक्तिहरु भिकारी, चोर र डाकु हुनुमा उक्त समाजको हरेक व्यक्ति पनि उत्तिकै दोषी हुन्छ किनकि समाजकै व्यक्तिहरुको कारण कोहि भिकारी भएका छन् भने कोहि चोर वा डाँकु । जसरी नकारात्मक व्यक्तित्वहरु समाजका उत्पादन हुन् भने साधु, विद्वान र नेताहरु पनि समाजकै उत्पादन हुन् । आगामी दिनमा नेपाली समाजले नैतिक, जिम्मेवार, भ्रष्टाचारमुक्त, पारदर्शी, सत्यनिष्ठ, राष्ट्रवादी, समावेशी, न्यायप्रिय, दूरदर्शी,  व्यावहारिक, प्रविधिमैत्री, शिक्षित, सेवाभावयुक्त नेतृत्वको कल्पना गरेको छ सोहि मुताविक समाजले नेतृत्वको निर्माण गर्नु परेको छ । परिस्थिति र घटनाक्रमले नेता जन्माउँछ, नेतृत्व आफै जन्मिदैन हाम्रै समाजले आविष्कार गर्दछ ।