धनगढी पोष्ट बिहिबार, १७ माघ २०८१   January 30, 2025
कोरोना कहर

टीकापुरमा ३० शैयाको अस्थायी कोरोना अस्पतालबाट सेवा सुरु

टीकापुरमा ३० शैयाको अस्थायी कोरोना अस्पतालबाट सेवा सुरु

धनगढी

     टीकापुरमा तयार गरिएको अस्थायी कोरोना अस्पताल बिहीबार देखि सञ्चालनमा आएको छ । कैलालीका सात स्थानीय तह मिलेर टीकापुरको सिटीहलमा तयार गरिएको अस्थायी अस्पताल सञ्चालनमा आएको हो ।

    टीकापुर अस्पतालमा कोरोना संक्रमित नअटेपछि सिटीहलमा अस्थायी अस्पताल तयार गरिएको हो । बुधबार स्थानीय तहका जनप्रतिनिधि र टीकापुर अस्पतालबीच भएको छलफलमा टीकापुर अस्पतालले प्राविधिक सहयोग गर्ने र आर्थिक व्ययभार स्थानीय तह मिलेर गर्ने सहमति भएको  छ ।

     ‘चिकित्सकको परामर्श लगायत कार्य टीकापुर अस्पतालले गर्नेछ, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले भने– ‘आइसोलेसनमा ड्युटी हरेक स्थानीय तहका स्वास्थ्यकर्मीले १५१५ दिन गर्ने सहमति भएको छ ।

   रावलका अनुसार आइसोलेसनमा उपचारमा खट्ने स्वास्थ्यकर्मीका लागि समेत त्यही बस्ने व्यवस्था मिलाइएको  छ । केही दिनअघि टीकापुर अस्पताल विकास समितिको समन्वयमा बसेको स्थानीय तह सहितको सर्वदलीय बैठकले टीकापुर अस्पतालमा रहेको १२ शैयाको आइसोलेसन कक्ष अपुग भएकाले टीकापुरको सिटीहलमा अस्थायी अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो ।

   अस्थायी अस्पताल सञ्चालनका लागि टीकापुर, लम्कीचुहा, भजनी र घोडाघोडी नगरपालिका, जानकी, वर्दगोरिया र जोशीपुर गाउँपालिकाले सहकार्य गरेको छ ।

    आज सम्म टीकापुरमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । टीकापुरका संक्रमित चार जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ भने बाँकी नौ जना संक्रमित शैया अभावमा बिभिन्न ठाउँका क्वारेन्टिनमै रहेका छन् ।

   उनीहरुलाई आजबाट सञ्चालनमा आएको आइसोलेन वार्डमा ल्याउने तयारी भइरहेको टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी     दिए ।