धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024
डडेल्धुराको आलितालमा चक्रपथ निर्माणमा बन फडानी

रुख काटने नियतले आलितालमा चक्रपथ निर्माण गरिएको संसदीय समितिको ठहर

रुख काटने नियतले आलितालमा चक्रपथ निर्माण गरिएको संसदीय समितिको ठहर

डडेल्धुरा

  डडेल्धुराको आलिताल गाँउपालिका८ मा निर्मित डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समिति अन्तर्गतको उपसमितिले ठहर गरेको छ ।

  डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा सालका रुखहरु काटिएको बिषयमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिको उपसमितिले आईतबार स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको र रुख काटेर तस्करी गर्न नियोजित रुपमा सडक निर्माण गरिएको संसदीय उपसमितिले जनाएको छ ।

  प्रदेश सभा सदस्य दिर्घराज सोडारीको नेतृत्वमा आएको पाँच सदस्यीय संसदीय उपसमितिले सोमबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै वातावरणीय प्रभाव मुल्याकन नगरि निर्माण गरिएको डोला चक्रपथ सडक काठ तस्करी गर्ने नियतबाट निर्माण गरिएको र अन्धाधुन्ध सालका हरिया रुखहरु काटिएको जनाएको छ । सडक निर्माणका नाममा सालका रुखहरु काटेर गोलिया बनाएर धनगढीतिर तस्करी भइसकेको र धनगढी तस्करी हुन नसकेको काठमात्रै डिभिजन वन कार्यालय डडेल्धुराको टोलीले बरामद गरेको पाइएको छ, संसदीय टोलीको नेतृत्व गरिरहेका साँसद सोडारीले भने । उनले स्थलगत अध्ययनका आधारमा छानबिन प्रतिवेदन तयार गरेर दोषी निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याईने बताए ।

   डोला चक्रपथ सडक निर्माणका लागि गाँउसभाबाट कुनै निर्णय भएको नपाइएको र अवैध रुपमा वन फडानी गर्ने कुत्सित मनसायका साथ काम भएको पाइएको संसदीय समितिका अर्का सदस्य महेशदत्त जोशीले बताए । उनले कामदारहरुलाई भन्दा पनि निर्माण कम्पनीलाई कारवाही गरिने बताए । संसदीय समितिमा सोडारी र जोशीसँगै साँसदहरु पुर्णा जोशी, अक्कल बहादुर रावल र प्रेमप्रकाश जोशी छन् ।

   आलिताल गाँउपालिका अन्तर्गतको गोदाम बजारदेखि डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका हुन् । आलिताल गाँउपालिकाको समपूरक कोष अन्तर्गत निर्माण सुरु गरिएको सडकमा रहेका रुखहरु वन कार्यालयको अनुमति विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल वन अधिकृत डबल बहादुर बोहराले जानकारी दिए ।

   सो सडक निर्माणका क्रममा कोटिएका एक सय १० थान गोलिया काठ बरामद गरिएको र बाँकी लुकाएर राखिएको काठको खोजी भईरहेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । सो सडक निर्माणका लागि आलिताल गाँउपालिकाले ठेक्का मार्फत उग्रतारा कन्स्ट्रक्सनसँग सम्झौता गरेर काम गरेको आलिताल गाँउपालिकाले जनाएको छ । पहिलानै ट्रयाक खोलिएको सडक भएको र समयावधि निकै कम भएकाले वातावरणीय प्रभाव मुल्यांकन नगरेरै निर्माण शुरु गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष बल बहादुर गुरुङले बताए । उनले प्रदेश र संघीय सरकारबाट निर्माण गरिएका सडक योजनाहरुमा समेत वातावरणीय प्रभाव मुल्यांकन नगरिएको जिकिर गरे ।

    डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णु प्रसाद आचार्य जिल्लाका बिभिन्न स्थानमा संघ, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका अधिकांस सडक योजनाहरु वातावरणीय प्रभाव मुल्यांकन नगरिकनै निर्माण भइरहेको बताउछन् । अधिकांस सडक निर्माणका क्रममा रुख काटिएको बताउदै उनले यस्तो समस्या देशभरी देखिएको उनले जिकिर गरे । प्रदेश सरकारले वन ऐन ल्याउन नसकेकाले कानूनी जटिलता कायम रहेको बताउदै उनले सडक निर्माणका क्रममा रुख काटने ठेकेदार कम्पनीलाई थप अनुसन्धान गरेर मुद्दा लगाईने बताए ।