धनगढी पोष्ट
बुधबार, २० असोज २०७८ मा प्रकाशित
काठमाडौं । सरकार गठन भएको साढे दुई महिनापछि सत्तारुढ गठबन्धनमा सहभागी चार दलबीच मन्त्रालय बाँडफाँटमा करिब करिब सहमति जुटेको छ ।
गठबन्धनका दलहरुको शीर्ष नेताको मंगलबार बसेको बैठकले मन्त्रालय बाडफाडमा सहमति जुटाएको हो ।
दलीय भागबण्डा अनुसार कांग्रेसले प्रधानमन्त्री र ६ मन्त्रालय पाउने भएको छ । यसअघि नै कांग्रेसबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री डा नारायण खड्का र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जिम्मेवारी पाइसकेका छन् । अब कांग्रेसले थप तीन मन्त्रालय पाउने भएको छ ।
त्यस्तै, पाँच मन्त्रालय पाउने तय भएको माओवादी केन्द्रका पनि दुई मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । माओवादीले पनि अब थप तीन मन्त्रालय पाउनेछ ।
एकीकृत समाजवादी र जसपाले देउवा मन्त्रिपरिषद्मा चार चार मन्त्रालय पाउने भएका छन् ।
गठबन्धनका दलहरुबीच हाल दुई वटा मन्त्रालय प्रधानमन्त्रीसँगै राख्ने सहमति भएको छ । ती दुई मन्त्रालयमा एउटा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रहने सहमति भएको छ । अर्को मन्त्रालयमा शिक्षा र खानेपानी तथा सरसफाइ मध्य एउटा हुने भनिए पनि शिक्षा माओवादीले लिने निश्चित जस्तै रहेकाले प्रधानमन्त्रीसँग रहने दोस्रो मन्त्रालय, खानेपानी हुने गठबन्धनका एक नेताले बताए । यी दुई मन्त्रालय कांग्रेससँगै रहने हुन् कि पछि फेरि अरु दलले पनि पाउन सक्छन् भन्ने प्रश्नमा ती नेताले भने, “अहिले नै यसबारे भन्न सकिन्न, अर्थपूर्ण हिसाबले दुई मन्त्रालयमा मन्त्री रिक्त राखिएको हो ।”
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव सहभागी थिए । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि बैठकमा सामेल गरिएको थियो ।
मंगलबार भएको सहमतिअनुसार गठबन्धनका चार दलले पाउने मन्त्रालयको विवरण यसप्रकार छ :
नेपाली कांग्रेस
१_ प्रधानमन्त्री
२_ गृह
३_ परराष्ट्र
४_ स्वास्थ्य तथा जनसंख्या
५_ सञ्चार तथा सूचना प्रविधि
६_ महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण
७_ युवा तथा खेलकुद
नेकपा -माओवादी केन्द्र_
१_ अर्थ
२_ ऊर्जा, जलस्रोत तथा सिँचाइ
३_ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
४_ श्रम तथा रोजगार
५_ शिक्षा, विज्ञान तथा प्रविधि
नेकपा -एकीकृत समाजवादी_
१_ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२_ रक्षा
३_ सहरी विकास
४_ कानुन तथा न्याय
जनता समाजवादी पार्टी
१_ संघीय मामिला तथा सामान्य प्रशासन
२_ कृषि
३_ भौतिक पूर्वाधार तथा यातायात
४_ वन तथा वातावरण