धनगढी पोष्ट
शुक्रबार, ०३ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । नेपाल र भारतबीच महाकाली सन्धि भएको २६ वर्षपछि टनकपुर बाँधबाट नेपालले कञ्चनपुर तर्फ पानी पाउने भएको छ । नेपालले आगामी नयाँ जनवरीदेखि टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउने सिंचाई विभागले जनाएको छ ।
सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले डिसेम्बरको अन्तिमदेखि टनकपुरबाट कञ्चनपुर हुँदै नेपाल तर्फको भू–भागमा पानी छाड्न लागेको हो । ‘संन्धिको २६ बर्ष पछि टनकपुर ब्यारेजबाट हामिले पानी पाउँदैछौं,’ महाँनिर्देशक आचार्यले भने, ‘यो महाकाली सन्धिको एउटा महत्वपूर्ण पाटो हो ।’
महाकाली सन्धिअनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीनसय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्ने छ । नेपालले टनकपुर ब्यारेजबाट पाउने पानी उपयोगका लागि महाकाली सिँचाइ आयोजना तयार गरिरहेको छ ।
महाकाली सन्धिले टनकपुर बाँधको बायाँतर्फ हेड रेगुलेटर (पानी नियन्त्रक संयन्त्र) सहित नेपाल–भारत सीमासम्मको नहर भारतले नै निर्माण गर्नुपर्ने सहमति छ । भारतले टनकपुर ब्यारेजबाट कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–९ मटिनाको नेपाल–भारत सीमा १२ सय मिटर नहर बनाउनुपर्ने सन्धिमा उल्लेख छ ।
महाकाली सिंचाइ आयोजना बनेपछि मूल रुपमा व्रह्मदेव र त्रिभुवननगर क्षेत्रमा बाह्रैमास सिंचाइ सुविधा पुग्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिंचाइ पूर्वाधार भने तयार भइसकेको छैन
तर, लामो सयमको अन्तरविरोध समाधान गरेर भारतले गत डिसेम्बरदेखि मात्रै सन्धिअनुसार नहर बनाउन थालेको थियो । सीमासम्मको नहर आगामी डिसेम्बर अन्तिमसम्म तयार भएर पानी छोड्ने भारत सरकारले बताएको सिंचाइ विभागका उपमहानिर्देशक कृष्ण खनालले बताए ।
नेपालले सन् २०१४ मा नै यो नहर तयार गर्ने गरी आफ्नो प्राविधिक प्रस्ताव पठाएको थियो । तर, भारतीय पक्षले प्राविधिक कारण देखाउँदै निर्माणमा आनाकानी गर्दै आएको थियो ।
पुस २०७७ मा तत्कालीन ऊर्जासचिव दिनेशकुमार घिमिरेको भारत भ्रमणमा सीमासम्म जोड्ने लिंक नहर भारतले तत्कालै निर्माण गर्ने सहमति भएको थियो । त्यसपछि मात्रै भारतले नहर निर्माणको काम तीव्र पारेको उपमहानिर्देशक खनालले बताए ।
आर्थिक वर्ष २०६३÷६४ देखि नेपालले यही नहरबाट पानी ल्याएर सिंचाइ गर्ने गरी महाकाली सिंचाइ–तेस्रो आयोजनामा लगानी गरिरहेको छ । आयोजना अन्तरगत कञ्चनपुरको मटिनादेखि कैलालीको मालाखेतसम्म मूल नहर बनाइँदैछ । करिब ५५ किलोमिटरको मूल नहरमध्ये १२ किलोमिटर तयार भइसकेको जनाइएको छ । अझै करिब २८ किलोमिटर मूल खण्ड भने निर्माणको प्रक्रियामा रहेको छ ।
यो नहर बनेपछि कैलाली र कञ्चनपुरको ३३ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा पुग्ने छ । यही नहरबाट आएको पानीलाई सिंचाइका लागि दोधारा चाँदनीसम्म पुर्याउने सरकारी योजना रहेको खनालले बताए ।
भारतले सन् १९२८ मा महाकालीको पानी उपयोग गर्न शारदा ब्यारेज बनाएको थियो । तर, नेपालले शारदा ब्यारेको पानी लिन सन् १९७५ बाट मात्रै महाकाली पहिलो आयोजनामार्फत आफ्नो तर्फ पानी ल्याउन नहर खन्न थालेको थियो । पछि शारदा बाँधबाटै पानी ल्याउने गरी महाकाली दोस्रो आयोजना पनि बनाएर सिँचाइ सुविधा विस्तार गरिएको थियो ।
अहिले शारदा ब्यारेजबाट नेपालले पानी पाइरहेको छ । शारदा ब्यारेज कमजोर भएपछि वि.सं. २०४७ मा टनकपुरमा अर्को बाँध निर्माण गरिएको थियो । तर, टनकपुरबाट पानी दिन भने भारतले आनाकानी गरिरहेको थियो । अब टनकपुरबाट पनि नेपालले पानी पाउने तय भएको छ ।