धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024
बिश्व पर्यटन दिवस

पुर्वाधार अभावमा पर्यटन बिकास हुन सकेन

धनगढी । सुदूरपश्चिम प्रदेशलाई पर्यटन विकासको राम्रो सम्भावना रहेको छ । तर, आवश्यक पूर्वाधारको कमीका कारण पर्यटन विकासले गति लिन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा तराईका दुई तथा पहाडका सात जिल्लामा धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक (हिमाल आरोहण, ¥याफ्टिङ, प्याराग्लाईडिङ), ग्रामीण पर्यटन लगायतको पर्यटनको राम्रो सम्भावना रहेको चर्चा हुने गर्दछ । पर्यटन व्यवसायीहरू आवश्यक पूर्वाधारको कमीका कारण आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था कमजोर रहेको बताउछन्् ।

सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तहहरू तथा संघीय सरकारले पर्यटन पुर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायीहरूको गुनासो रहदै आएको छ । पर्यटन व्यवसायी किशोर खडकाले भने– प्रदेशका पर्यटकीय स्थलसम्म पुग्न पर्यटकलाई सहज छैन । तर, प्रदेश सरकारले त्यसमा ध्यान दिएको छैन ।

उनले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन शीर्षकका नाममा ससाना मन्दिरहरूमा मात्रै बढी बजेट विनियोजन गरिरहेको बताए । पर्यटन व्यवसायी खड्काले भने – यहाँ पर्यटकलाई आकर्षण गर्ने सक्ने गन्तव्य रहे पनि पर्यटकलाई खाने बस्ने, यातायात लगायतका सुविधा कसरी पु¥याउने भन्ने चुनौती रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, बाजुरा र डोटी जिल्लाको भु–भाग समेटिएको प्रसिद्ध खप्तड रहेको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा कर्णाली नदीमा ¥याफ्टिङको निकै सम्भावना रहेको छ । त्यस्तै, टीकापुर पार्क, विश्व रामसार क्षेत्रमा सूचिकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, जाखोर ताल, गोदावरी धाम, शिवपुरीधाम आदि महत्वपूर्ण गन्तव्य रहेका छन्् ।

त्यस्तै, कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुंगे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, बैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका, बुढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निंग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुन लगायतका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थल रहेका छन्् ।

यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको भेषभुषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधारका रुपमा रहेका छन् ।

प्रदेशका तराईका दुई जिल्लामा रहेका पर्यटकीय स्थलहरूसम्म सडक यातायातको सुविधाका साथै सुविधा सम्पन्न होटल, लज र अन्य पुर्वाधारको तुलनात्मक रुपमा विकास भइसकेकोले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पुर्वाधार विकास हुन नसकेकोले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसियसन (नाटा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम विक्रम सिंह बताउँछन ।

उनले भने –‘प्रदेशमा बढी भारतीय नागरिक आवतजावत गरिरहेका छन् । तर, उनीहरुलाई पनि तराईका दुई जिल्ला बाहेक पहाडी जिल्लामा पुगाउन सकिएको छैन ।’

होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले पर्यटकको संख्या बढाएर मात्र नभई लगानी गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले भने –‘पर्यटक आएर मात्र हुँदैन । उनीहरुलाई धेरै दिनसम्म पर्यटकिय क्षेत्रमा भुलाउन सकेमा उनीहरुबाट प्रदेश तथा स्थानीय सरकारले आम्दानी गर्न सक्छ ।’ उनले अहिले भारतीय पर्यटक कैलाली र कञ्चनपुरमा आउने तर, केही खर्च नगरी फर्कने अवस्था रहेको बताए ।

उनले भारतबाट आउने पर्यटकहरुलाई सुरक्षा निकायहरुले पनि सहज वातावरण बनाउनु पर्ने बताए । उनले भने –‘नाकाबाट कोही भारतीय नागरिक यस प्रदेशमा घुम्न आउन खोज्दा त्यही दुःख पाउँछन । यसले गर्दा उनीहरु दोस्रो पटक यहाँ प्रवेश गर्न मान्दैनन् ।’