धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
डोला चक्रपथ सडक निर्माणमा बन फडानी

मिलोमतोमा बन फडानी, भागबण्डा नमिलेपछि बनकर्मी समक्ष गुहार

मिलोमतोमा बन फडानी, भागबण्डा नमिलेपछि बनकर्मी समक्ष गुहार

 

राम धामी

डडेल्धुरा

  डडेल्धुराको आलिताल गाँउपालिका८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा स्थानीयस्तरमा मिलेमतोमै वन फडानी भएको पाइएको छ ।

    स्थानीयस्तरमा कृयासिल राजनीतिक दलका नेता कार्यकर्ताहरु सामाजिक अगुवा, जनप्रतिनिधी र निर्माण व्यवसायीहरुले मिलेमतोमा वन फडानी गरेको भए पनि काठ काटिएको लामो समयपछि रकममा कुरा नमिल्दा डिभिजन वन कार्यालय डडेल्धुरालाई जानकारी गराइएको स्थानीय बताउछन ।

  चक्रपथ सडक निर्माण भईरहेको आलिताल गाउँपालिका८ डोला र आसपासका बस्तीका बासिन्दाहरुको बैठक बसेर सामाजिक कार्यका लागि केही काठ उपलब्ध गराउने र बाँकी काठ बिक्री गरेर सबैले रकम बाडफाँड गर्ने सहमति भई काठ काटिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको वन अधिकारीहरु बताउछन ।

  अनुसन्धानका क्रममा धेरै कुरा अहिले नै भन्न मिल्दैन, डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबल बहादुर बोहराले भने, सामाजिक रुपमा मिलोमतो गरेरै वन फडानी भएको हामीले जानकारी पाएका छौ ।

   गत असार मसान्त नजिकिदै जाँदा निर्माण कार्य गरिएको सो सडकखण्ड आसपासका रुखहरु सोही अवधिमा काटिएका हुन । काटिएका रुखहरु गोलिया बनाएर सडक खण्ड भन्दा टाढा खोल्साखोल्सीमा लुकाइएको पाइएको छ भने केही काठ चिरेर बिक्री समेत गरेको स्थानीयको दाबी छ ।

   काठ लुकाएर अवैध रुपमा बिक्री वितरण समेत गरिन थालेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थानीय केही नेता कार्यकर्ताहरुले वन फडानीका बारेमा चासो राख्दै आठदेखि १० लाख रुपेयाँ पार्टीलाई सहयोग गर्नुपर्ने माग राखेको र काठ बिक्री भइसकेपछि मात्रै रकम उपलब्ध गराउने सहमति गराउन खोज्दा कुरा नमिलेर उनीहरुले डिभिजन वन कार्यालयलाई गुहारेको सडक निर्माण गरिरहेको निर्माण कम्पनी उग्रतारा कन्सट्रक्सन सम्वद्ध श्रोतले जनाएको छ ।

   आलिताल गाँउपालिकाको समपुरक कोषबाट निर्मित सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सडकको एलाईन्मेन्टमा छ सालका रुखहरु पर्ने उल्लेख छ । तस्करी गर्ने उदेश्यले सडकको एलाइन्मेन्टभित्र नपर्ने सालका रुखहरु समेत काटिएको स्थानीय बताउछन् । आलिताल गाँउपालिकाले डोला चक्रपथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरेपछि इबिडिङ मार्फत उग्रतारा कन्ट्रक्सन प्रा.लि.को ठेक्का सदर भएको हो ।

    ८८ लाख ५८ हजार ७८ रुपैयाँमा डोला चक्रपथ सडक निर्माणका लागि गत जेठ ३२ गते निर्माण कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधी मानसिँह घर्ती मगरले गाँउपालिकासँग सम्झौता गरेका छन् । सुदूरपश्चिम प्रदेशको अग्रणी निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रा.ली.कै सहयोगी कम्पनीका रुपमा रहेको उग्रतारा कन्ट्रक्सन प्रा.ली. सुरेन्द्र साँउदको नाममा दर्ता गरिएको छ ।

   सम्वद्ध श्रोतहरुका अनुसार ठेक्का सदर भएको उग्रतारा कन्ट्रक्सन प्रा.ली. ले निर्माण व्यवसायीहरु मानसिँह घर्तीमगर, मोहन कठायत र बीरेन्द्र बहादुर शाहीसँग सम्झौता गरेर पेटी ठेक्का दिएको हो । परशुराम नगरपालिकाका नगर प्रमुख भिमबहादुर साँउदको स्वामित्वमा रहेको राजेन्द्र निर्माण सेवा प्रा. लि.द्वारा आलिताल गाउपालिकाको रंगुन नदीमा निर्माणाधिन पक्की पुलमा समेत घर्तीमगर, कठायत र शाहीले पेटी ठेकेदारका रुपमा काम गर्दै आएका थिए ।

   निर्माणाधिन सो पुलमा प्रयोग गरिएका हेभी इक्युमिेन्ट र उपकरणहरु प्रयोग गरेर डोला चक्रपथ सडक निर्माण गरिएको स्थानीयहरु बताउछन । पेटी ठेकेदारहरुले स्थानीय स्तरमा कृयाशील सत्तारुढ दल सम्वद्ध नेता कार्यकर्ताहरुलाई माग गरिए अनुसार रकम दिन नसकेपछि सो प्रकरणको खुलासा भएको हो । स्थानीयबाट प्राप्त सूचनाका आधारमा डिभिजन वन कार्यालय डडेल्धुराले सशस्त्र वनकर्मीहरुको टोली सहित सो सडक खण्डको निरिक्षण गर्दा गत शुक्रबार पहिलो पटक एक सय १० थाल गोलिया सालको काठ बरामद गरेको हो ।

  कुरा नमिलेपछि वन कार्यालयलाई जानकारी गराइएको पाईएको छ, स्थानीय एक अगुवाले नाम नछाप्ने सर्तमा भने, सहमतिमै काठ काटिएपछि केही काठ आमा समुहको भवन निर्माणका लागि र केही अन्य सामाजिक कामका लागि छुट्ट्याइएको थियो । सहमति अनुसारनै केही स्थानीयलाई दाउरा र काठ उपलब्ध गराइएको स्थानीय बताउछन ।

   प्रदेश सभा सदस्य कुन्ति जोशीको घर नजिकै ढालिएको रुखबाट उनका स्वकिय सचिव समेत रहेका सहोदर भाई शर्मानन्द जोशी र अन्य सामाजिक अगुवाहरुलाई पनि सहमतिमै काठ उपलब्ध गराइएको निर्माण व्यवसायी सम्वद्ध श्रोतको दाबी छ । पोल खोल्ने क्रम शुरु भएपछि जोशीको घरमा लुकाएर राखिएको काठ बरामद गर्न केही स्थानीयले वनकर्मीलाई दबाब दिएका थिए भने स्थानीयकै सूचनाका आधारमा डिभिजन वन कार्यालयको टोलीले दोस्रोपटक निरिक्षण गर्दा जंगल क्षेत्रबाट थप ४२ थान गोलिया सालको काठ बरामद गरेको थियो ।

    जंगलमा बरामद गरिएको काठ संकलन गरेर आलिताल वन सव डिभिजन कार्यालयमा राखिएको छ । साँसद जोशीको घरमा बरामद गरिएको काठ भने उठाइएको छैन । सुदूरपश्चिम प्रदेश सभामा समाजिक समितिकी सभापति समेत रहेकी साँसद जोशीको घरमा गोलिया सालको काठ अन्दाजी ६० क्युफिट र चिरान गरिएको सालको काठ तीन क्युफिट बरामद गरिएको छ भने २०÷२२ थान गोलिया दुई फिट लम्बाईभित्र पर्ने दाउरा समेत बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

    जंगल क्षेत्रमा अझै काठ लुकाइएको हुन सक्ने आशंकामा खोजी कार्य जारी रहेको र सो      प्रकरणको गम्भीर किसिमले अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख बोहरा बताउछन । गाउँपालिकाको कार्यालयबाट सो सडक योजना सम्बन्धि सम्पुर्ण कागजातहरु झिकाईएको र सरकारी वकिल कार्यालयसँग नियमित परामर्श भइरहेको उनले जानकारी दिए । सो घटनाको थप अनुसन्धानपछि सवुत प्रमाणका आधारमा दोषी उपर कारवाही माग गर्दै मुद्दा लगाईने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

   यसअघि गत आईतबार सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिको पाँच सदस्यीय साँसदहरुको टोलीले सो प्रकरणको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनका क्रममा डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको संसदीय समितिले ठहर गरेको छ । आलिताल गाउँपालिका अन्तरगतको गोदाम बजार देखि डोला गाउँ जोड्ने सडकको निर्माणका क्रममा रजनी सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका हुन । सडक क्षेत्रमा रहेका रुखहरु वन कार्यालयको अनुमति विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा वनकर्मीहरुको टोलीले बरामद गरेको हो । हालसम्म झण्डै एक हजार एक सय भन्दा बढी क्युविक फिट सालको काठ बरामद भईसकेको वनकर्मीहरु बताउछन ।