धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

भारतीय कामदार आउन नपाउँदा यस बर्ष कैलाली कन्चनपुरमा इटा उत्पादन नहुने

भारतीय कामदार आउन नपाउँदा यस बर्ष कैलाली कन्चनपुरमा इटा उत्पादन नहुने

धनगढी
  कोरोना संक्रमणका कारण भारतीय श्रमिकहरु आउन नपाएपछि कैलाली कन्चनपुरमा रहेका इटा उद्योगहरुमा इटा उत्पादन कार्य प्रभावित भएको छ । इटा उद्योगमा दक्ष श्रमिकको रुपमा रहेका भारतीहरु आउन नपाएपछि अहिले इटा उद्योगहरुले  बिगत बर्ष भन्दा निकै कम मात्रामा काचो इटा उत्पादन गरिरहेका छन् । 
 ‘अहिले स्थानीय कामदाहरुबाट बिगत बर्षको भन्दा आधा मात्र काचो इटा बनाइरहेका छौं ।’ इटा व्यवसायी संघ कैलालीका पुर्व महासचिव एवम खप्तड इटा उद्योगका सञ्चालक दिपेन्द्र श्रेष्ठले भने – ‘भारतबाट दक्ष श्रमिकहरु आएनन् भने इटा पोलिने कुनै सम्भावना छैन ।’
 इटा व्यवसायीहरुले मंसिर पहिलो सातादेखि इटा पोल्ने कामको शुरु गर्ने गर्छन् । तर यस बर्ष भारतीय श्रमिकहरुको अभावमा  सबै व्यवसायीले काचो इटा गत बर्षहरु भन्दा  निकै कम मात्रामा तयार गरिरहेका छन् ।   
 कैलाली र कन्चनपुरमा करिब ७० इटा उद्योगहरु छन् । प्रत्येक इटा उद्योगमा कम्तिमा डेढ शयदेखि चार शयसम्म श्रमिकहरु कार्य गर्छन् । इटा व्यवसायी संघ सुदुरपश्चिम प्रदेश समितिका सदस्य दिपेन्द्र ऐरका अनुसार सुदुरपश्चिमका इटा उद्योगमा ७० प्रतिशत श्रमिकहरु भारतीय नागरिक रहेको छन् ।
 न्यु गणेश इटा उद्योग पुनर्वास ५ कन्चनपुरका संचालक समेत रहेको प्रदेश सदस्य ऐर इटा उद्योगहरु दक्ष कामदारका लागि पुर्णत  भारतीय श्रमिकमा निर्भर रहेका कारण इटा उत्पादन कार्य प्रभावित बनेको बताउँछन् ।
 गत बर्षको इटा उत्पादन कार्य समाप्त भएपछि घर गएका भारतीय श्रमिकहरु कोरोनका कारण सीमा बन्द भएपछि नेपाल  आउन पाएका छैनन् । संघीय सरकारले बिकास निर्माण कार्यमा आवश्यक पर्ने सीमित श्रमिकहरु प्रदेश सरकारको सिफारिशमा भारतबाट आउन दिए पनि उद्योगमा आवश्यक पर्ने श्रमिकहरुलाई भने आउन  अनुमति दिएको छैन ।      
  इटा उद्योगमा इटा छपाई (काचो इटा बनाउने काम), इटाको भट्टीमा ढुवानी (सुकेपछि घोडा गाडीमा राखेर भट्टामा लिने काम), भट्टाभित्र इटा मिलाएर राख्ने काम (बेलदारी), मिलाएको इटा खरानीले ढाक्ने र पाकेको इटा भट्टीबाट निकाल्ने काम मध्य काचो इटा तयार पार्ने काम मात्र नेपाली श्रमिकहरुले गर्दछन् ।
 कैलाली कन्चनपुरमा रहेका इटा उद्योगहरुमा भारत उत्तरप्रदेशको पिलिभित, पुरनपुर, लखिमपुर र बहराइच जिल्लाबाट श्रमिकहरु आउने गर्दछन् । इटा भट्टामा काम गर्न भारतीय श्रमिकहरु पुरै परिवार सहित आउने र भट्टामा नै अस्थायी टेन्ट बनाएर बस्ने गर्दछन् ।
 भारतीय श्रमिकहरु आउन नपाएपछि इटा उत्पादन नहुने मात्र हैन, व्यवसायीहरुले श्रमिकका लागि गरेको लगानी पनि  डुब्न सक्ने सम्भावना बढेर गएको  सीएन इटा उद्योगका संचालक  सुरेन्द्र  भट्ट बताउँछन् । ‘हरेक इटा उद्योगले भारतीय श्रमिकहरुलाई कम्तिमा    १५।२० हजार भारतीय रुपैया पेश्की दिने चलन छ ।’ भट्ट भन्छन् – ‘अहिले आउन नपाएपछि उनीहरु नेपालको बिकल्पमा भारतमै काममा लाग्न सक्छन् । यसले नेपाली व्यवसायीको लगानी डुब्ने मात्र हैन,  इटा पनि उत्पादन नहुने हुन सक्छ ।’ 
 नेपाल इटा उद्योग महासँघका महासचिव कृष्ण प्रसाद अवाल नेपालको सीमा क्षेत्रका इटा उद्योगहरु भारतीय दक्ष कामदारमा निर्भर रहेकाले भारतबाट श्रमिक नआएमा इटा उद्योगले इटा उत्पादन गर्न गाह्रो भएको बताउँछन् । काठमाण्डौमा समेत प्रत्येक इटा उद्योगमा ५०।६० जना दक्ष भारतीय  कामदार रहे पनि सीमा क्षेत्रमा भारतीयमा निर्भर रहेकोले बढी समस्या रहेको उनी बताउँछन् ।
 संघीय सरकारको उद्योग मन्त्रालयका सचिवलाई  भेटेर  इटा उद्योगका लागि भारतबाट कामदार आउन दिन आग्रह गरेको बताउँदै महासचिव धवनले भने  सचिवज्युले
म छिट्टै छलफल गरेर टुँगो लगाउँछु भन्नु भयो, तर अहिलेसम्म छलफल नै भएको छैन ।’ 
 कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञ राज बोहराका अनुसार नेपाल सरकारले कोरोना संक्रमण निण्न्त्रण गर्न भारतीय नागरिकलाई नेपाल प्रवेसमा रोक लगाएका कारण मजदुरलाई नेपाल भित्रिन नदिइएको हो । ‘इट्टा व्यवसाय लगायत समग्र उद्योग क्षत्रमा भारतीय मजदुर आवश्यक पर्ने गरेको भए पनि सरकारी निर्णयका कारण हाल भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको छ’ प्रमुख जिल्ला अधिकारी बोहराले भने–‘व्यवसायीका समस्याबारे गृह मन्त्रालयलाई पटक–पटक जानकारी गराइ सकेका छौं ।’ 
 केही दिन अघि मात्रै उद्योग बाणिजय तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई उद्योगीका समस्या बारेमा जानकारी  गराइएको उनले बताए । जवाफमा मन्त्रीले छिट्टै भारतीय श्रमिकलाई नेपाल आउन दिने वातावरण मिलाइने जानकारी गराए पनि हालसम्म भारतीय श्रमिक आउने बारेमा आफुलाई कुनै जानकारी  नभएको  प्रजिअ  बोहराले  बताए । 
  उनले कार्तिक २९ गतेपछि संघिय सरकारले उद्योगीका समस्यालाई समेटेर केही निर्णय गर्न सक्ने बताए । ‘कार्तिक २९ सम्म सीमा बन्द गर्ने भन्ने सरकारी निर्णय नै छ’ बोहराले भने– ‘सो पश्चात गृहले नयाँ निर्णय गर्छ, जसमा भारतीय मजदुरलाई आउन दिने व्यवस्था हुन सक्दछ ।’