धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

च्याउ वेचेर परिवार पाल्दै एकल महिला

च्याउ वेचेर परिवार पाल्दै एकल महिला

धनगढी

 कैलालीको गोदावरी नगरपालिकाकी राजु देवी विक पछिल्लो दुई बर्ष यता च्याउ खेती गरेरै परिवारको जीविको पार्जन गर्न सक्षम भएकी छन् ।

 श्रीमानको मुत्यू हुँदा दुई छोराछोरीलाई पढाउने र हुर्काउने जिम्मेवारी आउँदा संकटमा परेकी विकले गाउँमै दुई दिने च्याउखेती तालिम पाएपछि व्यवसायीक च्याउ खेती गर्ने अठोट गेकी थिइन् ।

  ४ बर्ष अघि श्रीमानको मृत्यु हुँदा छोराछोरीलाई कसरी पढाउने अनि उनिहरुलाई कसरी हुर्काउने भन्ने ठुलो पिरलो परेको थियो उनले भनिन्–‘सुरुका दुई बर्ष आय आर्जनको बाटो नहुँदा निककै दुःख पनि व्यहोरे, तर अहिले च्याउ खेतीले दैनिकी चलाउन सहज भएको छ ।

 घरमै रहेको सानो जग्गालाई सदुपयोग गर्दै थालनि गरेको व्यवसुायीक च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपनि राजुदेवीले अहिले जग्गा भाडामा लगेर समेत च्याउ खेती गर्दै आएकि छन् ।

 प्रयाप्त श्रोत साधन नहुँदा चिसो याममा मात्रै च्याउ खेती गर्ने गरेकी उनले एक सिजनमा १ लाख रुपैंया सम्मको च्याउ वेच्ने गरेको बताइन् । च्याउको माग चिसोमा भन्दा गर्मियाममा बढी हुने गरेको छ उनले भनिन्–‘तर म संग कुलर किन्ने पैसा नहुँदा गर्मिमा खेती गर्न सकिएको छैन, चिसोयाममा मात्रै १ लाख सम्मको च्याउ वेच्ने गरेकी छु ।

 च्याउ वेचेर आर्जेको पैसाले छोराछोरीको स्कुल फि तिर्ने र आवश्यक घर खर्च चलाउने गरेको उनले बताइन् । व्यवसायीक च्याउ खेती थालेपछि पहिले जस्तो आर्थिक समस्या व्यहोर्नुपरेको छैन उनले भनिन्–‘छोराछोरीलाई पठनपाठनमा सजिलो भएको छ, घर खर्च चलाउन पनि चिन्ता मान्नु पर्ने अवस्था छैन ।

 च्याउ खेती गर्दा बजारको समेत सुमस्या नभएको उनले बताइन् । सुरु सुरुमा हाटबजारमा गएर च्याउ विक्रि गर्नेगरेको भएपनि पछिल्लो समय यता भने ग्राहक घरमै आउने गरेको उनले  बताइन् । च्याउ खेती हुनेगरेको जानकारी पाएपछि ग्राहक घरमै आएर च्याउ किन्नथालेका छन् उनले भनिन्–‘ग्राहकको माग धान्न नसक्दा भने समस्या भएको छ ।

 सरकारले किसानलाई सहयोग गर्दै आएको भन्ने जानकारी पाएपनि आफुहरुले भने सो सेवा नपाएको उनले बताइन् । हालसम्म दलित महिला संघ (फेडो) बाहेक अन्य कुनैपनि संस्थाले आफुलाई सहयोग गनरेको उनको गुनासो छ । फेडोले पटक–पटक सहयोग गरेर व्यवसायमा टिक्न सहयोग गरेको उनले बताइन् ।

 कृषिमा सरकारी अनुदान पाइन्छ भन्ने जानकारी पाएपछि मैले पनि पटकपटक गोदावरी नगरपालिका तथा प्रदेश कृषि कार्यालयमा गएर आवेदन दिएको भएपनि कसैले सहयोग नगरेको उनले बताइन् ।

 ठुलो लगानी गर्न आफु संग प्रयाप्त पैसा छैन उनले भनिन्–‘सरकारी निकायबाट सहयोग प्राप्त भए उपकरण खरिद गरेर गर्मियाममा पनि च्याउ खेती गर्ने इच्छा थियो । चिसोयाममा २ सय रुपैंया प्रतिकिलो च्याउ बिक्रि हुने गरेकोमा गर्मिमा भने ५ सय रुपैयाँ सम्म च्याउ बिक्रि हुने गरेको उनले बताए ।

 व्यवसायीक च्याउ खेती गर्दा आफुलाई फाइदा भएपछि बैशाख देखी बाख्रापालन समेत थालेको उनले बताइन् । च्याउ संगै बाख्रा पालनमा समेत हात हालेकी छु उनले भनिन्–‘विस्तारै लोकल कुखुरा पनि पाल्ने सोच बनाएकी छु ।