हिमाल जोशी
बुधबार, २१ जेठ २०७७ मा प्रकाशित
धनगढी
पछिल्ला ३ दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालमा उपचारका लागि ठाउँ अभाव भएको छ । सुदूरपश्चिमको सबैभन्दा ठुलो र सुबिधा सम्पन्न सेती प्रादेशीक अस्पतालले समेत वेड अभाव भन्दै कोरोना संक्रमितलाई फिर्ता पठाएको छ ।
आईसोलेसन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको हो । कोरोना संक्रमितका लागि बनाईएको २४ शैयाको आईसोलेसन वार्ड भरिएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले मंगलबार राती पु¥याईएका पाँच जना कोरोना संक्रमितलाई फिर्ता पठाएको छ ।
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ बर्षीय पुरुषलाई अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका मेयर भीमवहादुर देउवाले बताए ।
उनले भने–‘५ जना नयाँ संक्रमित मध्ये दुई जनाको स्वास्थ्यमा समस्या देखिएको छ, ज्वरो आउने, खोकी लाग्ने र बान्ता समेत भईरहेको छ । त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौँ । तर कसैलाई पनि भर्ना गरेन ।’
सेती प्रादेशिक अस्पतालले भर्ना नगरेपछि संक्रमित बिरामीलाई वडा नम्वर ४ को एउटा मन्दिरको हलमा राखिएको मेयर देउवाले जानकारी दिए । उनले सेतीले भर्ना नगरेपछि समस्या भएको बताए ।
सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले २४ शैयाको आईसोलेसनमा २५ जना संक्रमितलाई राखिएको बताउँदै थप संक्रमितको तत्काल व्यवस्थापन गर्न नसकिएको बताए ।
सुदूरपश्चिममा मंगलबार एकैदिन थप २७ जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या ७३ पुगेको छ । मंगलबार धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो । संख्या बढेसंगै सुदूरपश्चिमका अस्पतालमा उपचारका लागि वेड अभाव भएको छ ।