हिमाल जोशी
बिहिबार, २९ जेठ २०७७ मा प्रकाशित
धनगढी
बिश्वसनिय नभएको भन्दै आरडिटी परिक्षणको चौतर्फी बिरोधसंगै सुदूरपश्चिमका पाँच जिल्लामा स्थानीय सरकारहरुको समन्वयमा जिल्लामा पीसीआर मेशीन खरिद गर्ने तयारी गरेका छन् । स्थानीय सरकारहरुले मेशीन खरिद पनि गर्न सक्लान् । तर ती मेशीनको संचालनको लागि वातावरण तयार गर्ने र मेशीन संचालन गर्ने जनशक्ति व्यवस्थापन गर्न सम्भव छ त ?
हाल प्रदेशको राजधानी धनगढीमा रहेको एउटा मात्र पिसिआर मेशिनबाट कोरोना परिक्षण गर्दा एकदमै ढिलाई भएको भन्दै बिभिन्न क्षेत्रबाट पिसिआर परिक्षण बढाउन माग बढेको छ । यससंगै बझाङ, दार्चुला, डोटी, कंचनपुर र डडेल्धुरामा स्थानीय सरकारहरु मिलेर पिसिआर मेशीन खरिद गर्ने निर्णय गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा हाल क्वारेन्टाईनमा ६६ हजार १ सय १२ जना रहेका छन् । ती मध्य बुधबारसम्म ७ हजार ९ सय ७५ जनाको मात्र पिसीआर बिधिबाट परिक्षण गरिएको छ । कतिपय ठाउँमा आरडिटी परिक्षण गरेर क्वारेन्टाईनबाट घर पठाउने गरेको तर पछि तिनमा कोरोना देखिने गरेकाले पिसीआर परिक्षण गराउनु पर्ने माग चौतर्फी उठिरहेको छ ।
परिक्षणमा ढिलाई गर्दा कोरोनाको जोखिम बढेको भन्दै बिभिन्न जिल्लाले पिसीआर मेशिन खरिद गर्ने निर्णय गरिरहेका छन् । तर संचालन गर्न भने निकै चुनौती रहेको छ । सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले मेशिन किन्ने निर्णय गर्नु स्वागत योग्य रहेको तर यसको संचालनका लागि निकै ठुलो चुनौती रहेको बताए । उनले भने– ‘सुदूरपश्चिम प्रदेशको हाल राजधानी धनगढीमा रहेको एउटा मात्र पिसीआर मेशिन चलाउन पनि निकै समस्या छ, हाम्रो प्रदेशमा मेशिन चलाउने दक्ष जनशक्तिको अभाव छ, अरु मेशिन किनेमा जनशक्ति कसरी ब्यबस्थापन गर्ने भन्ने ठुलो समस्या छ ।’
अवस्थीले सुदूरपश्चिम प्रदेशमा मेशिनको आवश्यकता रहेको तर प्रदेश सरकार संचालन गर्नका लागि आर्थिक सहयोग गर्न नसक्ने बताए । डाक्टर अवस्थीले पिसीआर मेशीनले मात्र नपुग्ने भन्दै त्यो संगै धेरै अन्य कुराको ब्यबस्थापन आवश्यक रहेको सामाजिक संजालमै पोष्ट गरेका छन् ।
अहिले कोरोना परिक्षण भईरहेको धनगढी प्रयोगशालाका ईन्चार्ज रमेश शाहीले कोरोनाको पीसीआर परीक्षणका लागि स्थापना गरिने प्रयोगशालाका लागि कम्तीमा चार वटा कोठा भएको भवन आवश्यक पर्ने बताए । उनले पीसीआर मेसिन मात्र नभएर बायो सेफ्टी मेसिन लगायतका अन्य उपकरण समेत आवश्यक पर्ने भएकाले सबैको व्यवस्थापनका लागि छुट्टाछुट्टै कोठा चाहिने बताए । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली, डोटी र बैतडीमा एकै साथ तीन वटा आरटी–पीसीआर मेसिन सञ्चालन गर्नका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न तयारी थालेको छ ।
बिहिवार धनगढी पुगेका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले पनि सुदूरपश्चिममा थप तीन वटा पिसिआर मेसिन ल्याउने तयारी भइरहेको बताएका छन् । सुदूरपश्चिममा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे बुझ्न संघीय सरकारको एक टोलीको नेतृत्व गर्दै बिहीवार गृह क्षेत्र सुदुरपश्चिम पुगेका मन्त्री भट्टले परीक्षणलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले दुई वटा पहाडी जिल्लाका लागि र एउटा कञ्चनपुरका लागि पिसिआर मेसिन ल्याउन लागिएको जानकारी दिए ।
बझाङ जिल्ला विपद व्यवस्थापन समितिको बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । क्वारेन्टाईनमा बसेकाहरुलाई तिव्र गतिको स्वास्थ्य परिक्षणको भरमा घर पठाउदा झनै जोखिम बढेकोले पीसीआर मेसिन खरिद गर्नु पर्ने अवस्था आएको छविस पाथीभेरा गाउँपालिकाका अध्यक्ष अक्कल बहादुर धामीले बताए । मेसिन खरिदका लागि नगरपालिकाहरुले १५ लाख र गाउँपालिकाहरुले १० तथा जिल्ला समन्वय समितिले १५ लाख दिने निर्णय गरेका छन् ।
यसैगरी दार्चुला जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै दार्चुलाका स्थानीय तहले पनि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । बिहीबार जिल्ला समन्वय समिति, ९ वटै स्थानीय तहका प्रमुख सहित सरोकारवालाको जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले जानकारी दिए । दार्चुलामा मेसिन खरिदको लागि ९ वटै स्थानीय तहले समान रकम व्यवहोर्ने सहमति भएको छ ।
पीसीआर मेसिन खरिदको लागि प्रयोगशाला स्थापनाको अध्ययनको लागि जिल्ला समन्वय समिति प्रमुख कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले जिल्लामा पीसीआर टेस्ट गर्ने मेसिन खरिद गर्न आवश्यक बजेट, जनशक्ति तथा भौतिक संरचना लगायतका व्यवस्थापकीय पक्षका समन्बन्धमा विज्ञसँग छलफल गरि प्रतिवेदन तयार गर्ने जनाएको छ ।
यसैगरी कंचनपुरको भिमदत्त नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाले पनि पिसीआर मेशिन खरिदका लागि प्रकृया अगाढी बढाएको बताएका छन् । डोटी जिल्लामा नेबिसंघले पिसीआर मेशिन खरिद गर्न दबाब दिन एक रुपैयाँ अभियान नै शुरु गरेको छ । यी वाहेक सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि पिसिआर मेशिन खरिदका लागि छलफल शुरु भएको छ । धनगढीमा एक संस्थाले मेशिन खरिदका लागि पैशा संकलन नै शुरु गरेको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डाक्टर अवस्थीे मेशिन संचालनका लागि समन्वय गर्न तयार रहेको तर ब्यबस्थापन भने समन्धित जिल्ला तथा क्षेत्रले नै गर्नु पर्ने बताउँछन ।