हिमाल जोशी
बिहिबार, २९ जेठ २०७७ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशमा लामो समय देखि जारी लकडाउनसंगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भएको छ । खासगरी प्रदेश राजधानी रहेकै कैलालीको धनगढीमा लकडाउनको फाईदा उठाउँदै दैनिक उपभोग्य बस्तुको मुल्यमा अत्याधिक बृद्धि गरिए पनि सरोकारवाला निकायले यसलाई गम्भिरताका साथ नलग्दा उपभोक्ता मारमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कालोबजारी तथा महँगी नियन्त्रणका साथै आपूर्ति व्यवस्थापन लगायतको जिम्मेवारी रहेको छ । प्रदेश सरकारले बजार अनुगमनका लागि निर्देशिका र संरचना तयार गरेको छ, तर बजार अनुगमन भने प्रभावकारी हुनसकेको छैन ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन जारी गरेयता सुदूरपश्चिम प्रदेशमा खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मृल्यबृद्धि भइरहेको छ । त्यस्तै, कतिपय व्यापारीले टेलिफोन रिचार्जमा समेत बढि मुल्य लिने गरेको जनगुनासो छ ।
प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार महिना अघि तयार गरेको प्रदेश स्तरिय संयूक्त बजार अनुगमन निर्देशिका अनुसार उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । भने जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयक प्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था गरिएको छ ।
निर्देशनालयका निर्देशक विनोद मालीले लकडाउनका कारण बजार अनुगमन गर्न नसकिएको बताए । उनले भने– निर्देशिका र संरचना तयार गरि मन्त्रालयमा दुई तिन पटक बैठक बसेको छ भने निर्देशनालयमा समेत एक पटक बैठक भइसकेको छ । तर, बजार अनुगमन भने गर्न सकिएको छैन । उनले कतैबाट उजुरी आए तत्काल बजार अनुगमन गरिने बताए ।
निर्देशक मालीले प्रदेश सरकारले बजार अनुगमन गर्ने अधिकार पाए पनि दण्ड जरिवाना गर्ने अधिकार भने नभएको बताए ।
उपभोक्ता हकहित संरक्षण समितिका कैलाली अध्यक्ष हरि रेग्मीले बजारमा हुने कालोबजारी तथा महंगी नियन्त्रणमा प्रदेश सरकारको खासै भूमिका नदेखिएको बताए । ‘प्रदेश सरकारसंग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने र अत्यावश्यक वस्तुको अभाव हुन नदिने लगायतको जिम्मेवारी छ’ अध्यक्ष रेग्मीले भने– ‘तर, प्रदेश सरकारले जिम्मेवारी अनुसारको काम गर्न सकेको छैन ।’ उनले प्रदेश सरकारभन्दा स्थानीय तह र संघीय सरकारले बजार अनुगमन गरिरहेको बताए । उनले भने– स्थानीय सरकारले बजार अनुगमन गरिरहेको थियो, तर अहिले त्यो पनि रोकिएको छ ।’
त्यस्तै, संंघिय सरकार मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालय पनि धनगढी उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा बजार अनुगमन गर्न सकेको छैन । कैलालीमा तरकारी र फलफूलका साथै चामल, तेल, चिनी, नुन लगायतका दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन । पहिलेको भन्दा ढुवानीमा बढि मुल्य तिर्नु परेपछि सामानको मुल्य बढेको ब्यापारीको भनाई छ ।
लकडाउन जारी भएपछि कैलाली लगायत सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरुमा पनि दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भएको छ ।