धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

पलाष्टिक मुक्त अभियानमा एक्ला लोक बहादुर

पलाष्टिक मुक्त अभियानमा एक्ला लोक बहादुर

धनगढी

  धनगढी उपमहानगरपालिका ५ जाँई, भैरबटोलका लोक बहादुर खडका हरेक बिहान २ देखि ३ घण्टा सडकमा बिताउँछन । उनले यसो गर्न लागेको ९ महिना भयो ।

    धेरैलाई अचम्म लाग्छ हरेक दिन लोकबहादुर सडकमा किन हिडछन भनेर तर उनि त्यत्तिकै समय बिताउन नभई पलाष्टिक मुक्त अभियानमा जुटेका छन् । लोकबहादुर हरेक दिन बिहान सडकमा रहेका पलाष्टिकजन्य बस्तु जम्मा गर्छन र तिनको ब्यबस्थापन गर्छन ।

    गत कार्तिक देखि यस अभियानमा जुटेका लोकबहादुर हरेक दिन झण्डै २ किलोमिटर सडक क्षेत्रमा रहेका पलाष्टिकजन्य बस्तुहरु  उठाउँछन । उनी आफ्नो घर आसपासका ४ वटा सडकमा दैनिक सरसफाईमा जुटेका छन् । कुटानी पिसानी मिल संचालन गरिरहेका लोकबहादुरलाई यो काम गर्न नत कसैले सहयोग ग¥यो नत कसैले खटायो उनी आफै स्वईच्छाले यस अभियानलाई निरन्तरता दिईरहेका छन् ।

   ‘शुरुमा आफ्नो घर अगाडी रहेका पलाष्टिकहरु हटाउन शुरु गरे लोकबहादुरले भने–‘अलि अगाडी बढ्दै जाँदा सबै ठाउँ पलाष्टिक नै पलाष्टिक देखेपछि मनमा बिझ्यो र जता देख्यो त्यताको उठाउँदै गएँ,    अहिले आसपासका ४ वटा सडकमा दैनिक २ देखि ३ घण्टा हिडछु र पलाष्टिक हटाउँछु । शुरुवाताका दिनमा आफ्नो काम देखेर टोलका सबैले कचरावाला आयो भन्दै गिज्याउने गरेको सुनाउँदै उनले भने–‘शुरुमा पलाष्टिक उठाउँदै जाँदा बाटोमा भेटिएकालाई यसरी नफाल्नु भन्दा उल्टै झगडा गर्थे तर अहिले टोलका अरुले पनि सकभर जथाभावी पलाष्टिक फाल्न छोडेका    छन् ।

    पलाष्टिक मुक्त अभियान सफल बनाउन एक्लैले सम्भव नभएको  लोकबहादुरको अनुभव छ ।  तर उनि भन्छन–‘अहिले सफाई गरिरहेको एरियामा कसैले सहयोग नगरेपनि निरन्तर लागिरहने छु । लोकबहादुर हरेक बिहान उठने बित्तिकै हातमा पंजा लगाएर पलाष्टिक जम्मा गर्न फलामको छड सहित सडकमा निस्कन्छन र आफुले नियमित घुम्ने एरियामा घुमेर सडकमा फालेका पलाष्टिक जन्य बस्तु संकलन गरि एक ठाउँमा जम्मा गरि घर फर्कन्छन् ।

   ‘शुरुमा यो काम गर्न आफुलाई अली लाज लाग्दथ्यो, घरका मान्छे पनि खाली समय बर्बाद गरेको भन्दै रिसाउँथे उनले भने–‘अहिले घर आँगन र टोल छिमेकमा सफा भएपछि घर र टोलका मान्छेले पनि सहयोग गर्न थालेका छन् ।

‘  लामो समयदेखि सडकमा लगातार फोहोर टिपेको देखेर कसले लगाएको रहेछ भन्ने लागेको थियो लोकबहादुरका छिमेकी टोल जाँईका प्रेम बहादुर थापाले भने–‘अहिले बुझ्दा उनको अभियानले ठुलो प्रेरणा जगायो अन्य ठाउँका मानिसले पनि लोकबहादुरको सिको गरेर आआफ्नो टोल पलाष्टिकमुक्त बनाउन लाग्नु पर्छ । उनले लोकबहादुरको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए ।

   लोकबहादुर कै टोलका उद्धबबहादुर क्षेत्री उनको मेहेनत र लगनशिलता देखेर अचम्मित छन् । उनले भने–‘९ महिनादेखि हरेक दिन एक्लै सडकमा रहेका पलाष्टिक सफा गर्न  लागेका छन्, उनको अठोट र लगनशिलताले अहिले टोल सफा बनेको  छ । लोकबहादुरको अभियानमा अब टोलवासीको पनि सहयोग रहने क्षेत्रीले बताए ।

 पंजा, फोहोर उठाउने केही साधन र डष्टवीन कसैले सहयोग गरे आफ्नो अभियानलाई सहयोग पुग्ने लोकबहादुरको भनाई  छ । धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड सहित वडा अध्यक्षलाई आफुले सफा गरिरहेको टोल घुमाई अभियानका बारेमा जानकारी गराए पनि धन्यबाद समेत नदिएको लोकबहादुरको गुनासो छ ।