धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट

कृषिमा पुरानै कार्यक्रमलाई निरन्तरता

धनगढी

    सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्बजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिईएको छ । पुरानै कार्यक्रमको निरन्तरता एबं थप बिस्तारमा बजेट बिनियोजन गरिएको छ ।

  कोरोना संक्रमणका कारण स्वदेश तथा बिदेशमा बेरोजगार भएकालाई कृषि क्षेत्रमा सामान्य सहयोग गर्ने वाहेक बजेटमा खासै नयाँ कार्यक्रम ल्याएको छैन । प्रदेश सरकारले यस अघिल्लै बर्षको नमुना कृषि गाउँ आफै बनाउँ भन्ने अभियानका साथ मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रमलाई थप बिस्तार गर्ने भएको छ ।

    सोमबार प्रस्तुत गरिएको प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेटमा यस कार्यक्रमलाई थप बिस्तार गर्नका लागि ६० करोड बजेट छुट्याईएको छ । कारोना संक्रमणका कारण स्वदेश तथा बिदेशमा राजगारी गुमाएका नागरिकलाई लक्षित गरि कृषि तथा पशुपंक्षी विकास कार्यक्रम मार्फत स्वरोजगार बनाउन १५ करोड बिनियोजन गरिएको छ ।

  प्राकृतिक प्रकोपबाट कृषि तथा पशुपंक्षि क्षेत्रमा हुने हानी नोक्सानी कम गर्न पशुधन विमाको प्रिमियममा अनुदानका लागि ६ करोड छुट्याईएको छ ।

  कंचनपुरको पुर्नवास नगरपालिका, कैलालीको भजनी नगरपालिका, चुरे गाउँपालिका, डडेल्धुराको आलिताल गाउँपालिका, बैतडीको दशरथ चन्द्र नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, डोटीको दिपायलसिलगढी नगरपालिका, जोरायल गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका र अछामको साफँबगर नगरपालिका कोल्ड च्याम्बर निर्माणका लागि  ६ करोड बिनियोजन गरिएको छ ।

यसैगरी एक स्थानिय तह, एक कृषि उपज उत्पादन कार्यक्रम अन्र्तगत कृषि ब्यबसाय संचालन गर्न र उत्पादित कृषि उपज भण्डारणका लागि भवन निर्माण गर्न सहकारीहरुलाई ८ करोड ९० लाख अनुदान  दिने बजेटमा उल्लेख छ ।

  कृषि संगै कृषि बिद्यार्थी कार्यक्रम संचालन गरि कृषि अध्ययन संगै आयआर्जन तथा प्रसारलाई थप टेवा प्रदान गर्न १ करोड बिनियोजन गरिएको छ । जसमा टीकापुर कृषि क्याम्पस, गोकुलेश्वर कृषि क्याम्पस तथा अन्य कृषि क्याम्पस समन्वय एबं साझेदारीमा अनुसन्धान, प्रसार र विकास कार्यक्रम संचालन गर्ने प्रस्ताव गरिएको छ ।

  यी वाहेक भैशीपालन, कुखुरा पालन, माछापालन, घाँस खेति लगायतमा पनि विगतका बर्षहरुमा झै बजेट बिनियोजन गरिएको छ ।