हिमाल जोशी
बुधबार, २१ जेठ २०७७ मा प्रकाशित
धनगढी
सेती अस्पतालमा आइसोलेसन बेड अभाब भएर फिर्ता गरिएका कैलालीका ७ जना कोरोना संक्रमितलाई महाकाली अस्पताल कंचनपुरमा लगिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका–२ मालिका माध्यमिक विद्यालय र वडा–४ को कालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा भेटिएका ७ संक्रमितलाई महाकाली अस्पताल लगिएको हो ।
गौरिगंगा नगरपालिका वडा नं ४ का क्रमस २४, ३२, १९, २८, २०, २६ र २५ बर्षीय पुरुषहरुलाई बुधबार दिउसो महाकाली अस्पतालमा पुर्याइ आईसोलेसनमा राखिएको महाकाली अस्पातालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले बताए । मंगलबार राति एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पु(याइएका उनिहरुलाई अस्पतालले भर्ना गर्न नमानेपछि फर्काइएको थियो ।
महाकाली अस्पताल ल्याइनु पूर्व बुधबार पनि ती ७ संक्रमितलाई गौरीगंगा नगरपालिका–४ स्थित एक मन्दिरको सभाहलमा राखिएको थियो । कञ्चनपुरको पुनर्वासका ५ जना, लालझाडीका १ जना, भिनपाका १ जना र शुक्लाफाँटाका १ जना गरी ८ जना संक्रमितलाई पनि महाकाली अस्पतालमै भर्ना गरिएको छ ।
अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठका अनुसार महाकाली अस्पतालको आईसोलेसनमा संक्रमितको सङख्या १५ पुगिसकेको छ । संक्रमित थपिदै जाने हो भने बेडको अभाव देखिने अस्पतालका मेसु डाक्टर श्रेष्ठले बताए । अस्पतालमा २० वटा मात्रै आइसोलेसन बेड रहेका छन् ।