इन्दु केसी
बुधबार, १० असार २०७७ मा प्रकाशित
सुखड
घोडाघोडी नगरपालिकाको ११ औ नगरसभा सम्पन्न भएको छ । नगर सभामा आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम, नगरको बिनियोजन बिधेयक,आर्थिक बिधेयक पारित गरिएको छ ।
प्रदेश सभा सदस्य अमर बहादुर साउद प्रमुख अतिथि रहेको सभाले आर्थिक बर्ष २०७७÷०७८ का लागि ८१ करोड ४१ लाख २३ हजार ५ सय १७ रुपैया रकमको बजेट प्रस्तुत गरेको छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा यो आर्थिक बर्षमा नगरको बजेट बढाईएको छ । अघिल्लो आर्थिक बर्षमा ७४ करोड ५९ लाख ६ हजार ५ सय ५३ रुपैयाँ बराबरको बजेट रहेको थियो ।
तर यस बर्ष वडागत भने थोरै रकम बिनियोजन गरिएको छ । जसमा एक मुष्ट ३ करोड ४१ लाख ५१ हजार १ सय ५० रुपैयाँ रहेको छ ।
नगर सभाको ६ वडाका वडाअध्यक्षले बहिस्कार गरेका छन् । बजेटमा एकलौटी गर्न खोजेको भन्दै वडा न २, ३, ७, ८,११ र १२ का वडा अध्यक्षले नगर सभा बहिस्कार गरेका हुन् ।
नगर प्रमुखले एकलौटी रुपले कार्यकर्तमुखी बजेट ल्याएकाले नगर सभाको बहिष्कार गरेको वडा न २ का अध्यक्ष हरिराज बिष्टले बताए । उनले भने –‘वडामा यति थोरै बजेटले के गर्नु वडा पनि अब नगर प्रमुखले नै चलाउलान ।’ ‘नगर प्रमुखले केन्द्रिकृत बजेट ल्याएका छन्’ वडा न ३ का अध्यक्ष कमल थारुले भने –‘एकल निर्णयले ल्याएको बजेटलाइ हामी मान्दैनौ त्यसैले बहिस्कार गरेका छौ ।’
‘२८ लाख बजेटले के गर्ने, अरु ठाउँमा सडक कालोपत्रेको समेत डि पि आर बनेको छ’ वडा न ११ का अध्यक्ष दान सिङ जोगीले भने– ‘हाम्रो वडामा सडकको निकै समस्या छ अब बिकास कसरी गर्ने ।’