धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
प्रदेश तथा प्रतिनिधी सभा निर्वाचन

आरजुका लागि कति सजिलो छ कैलाली–५

आरजुका लागि कति सजिलो छ कैलाली–५

धनगढी । नेपाली काँग्रेस कैलालीले प्रदेश सभा सदस्य र संघीय संसद सदस्य पदको उम्मेदवारका लागि क्षेत्रीय समितिबाट सिफारिश भै आएका नामहरु नै सुदुरपश्चिम प्रदेश समितिमा पठाउने निर्णय गरेको छ । क्षेत्रीय समितिबाट आएका नामहरुलाई बर्णानुक्रम अनुसार मिलाएर मात्र प्रदेश समितिमा सिफारिश गरेको छ ।


एउटा पदका लागि कम्तिमा एक महिला सहिता तीन जनाको नाम सिफारिस गर्न काँग्रेस केन्द्रिय समितिले परिपत्र गरेको थियो । तर कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट आरजु देउवा राणाको नाम मात्र सिफारिश भएको छ । “वहाँ (आरजु ) लाई हामीले स्वीकारेर नै निर्वाचन लड्नु पर्छ भनेर सिफारिश गरेका छौं ।” नेपाली काँग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले भने “वहाँ (आरजु ) लड्नु पर्छ भन्ने हामीलाई लागेको छ ।” 


संघीय निर्वाचन क्षेत्र नम्बर १ बाट ४ जना, २ नम्बरबाट ६ जना, ३ नम्बर निर्वाचन क्षेत्रबाट ३ जना र  ४ नम्बर निर्वाचन क्षेत्रबाट ६ जनाको नाम  सिफारिश भएका छन् । 


देउवा २०७४ को निर्वाचनमा कैलाली–५ बाट नै संघीय सांसदको उम्मेदवार बनेकी थिइन् । उनी नेकपा एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् । तर यसपटक अवस्था सहज भएको नेपाली काँग्रेस कैलालीका उपसभापति भीम बडुवालको बुझाई छ । “जीवन्त पार्टीमा केही  समस्या त भैहाल्छन् ।” उपसभापति बडुवाल भन्छन्  “तर यस पटक धेरै मिलेको छ, सहज अवस्था  छ ।”


२०७४ मा नारदमुनी राना बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । यस पटक देउवा सत्तारुढ गठबन्धनका तर्फबाट निर्वाचन लड्ने छिन् । त्यसले निर्वाचनमा केही सहज हुने देखिनछ ।


  २०७४ को निर्वाचनमा आरजु देउवाले प्रतिस्पर्धा गरेको ५ नम्बर निर्वाचन क्षेत्रमै रहेको धनगढी उप महानगरपालिकामा कांग्रेसले स्थानीय तहमा मेयर, उप मेयर सहित १२ वडा जितेको थियो । तर आरजु देउवा एमाले उम्मेदवार नारदमुनी रानासंग ४ हजार ८  शय ८० मतले पराजीति भइन् । यस पटक धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् भने, उप मेयर सहित ६ वडामा नेकपा एमाले विजयी हुँदा कांग्रेसले ११ वटा वडा मात्रै जितेको छ ।


कैलाली–५ मा धनगढी उप महानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् । कैलाली ५ को मतदाता संख्या एक लाख ६ हजार ५ शय ९७ रहेको छ ।  

ओझाको उम्मेदवारी घोषणा
२०७४ को संघीय सांसदको निर्वाचनमा असहयोग गरेको भन्दै कांग्रेसले कारवाही गरेका पुष्करनाथ ओझाको उम्मेदवारी घोषणाले आरजुलाई चुनौती थपेको छ । ओझाले आफु संघीय साँसदको चुनावमा प्रतिस्पर्धा गर्ने भन्दै केही महिना अघिदेखि नै  तयारी तिब्र पारेका छन् ।


 बिद्यार्थी राजनीतिबाट काँग्रेसका लागेका ओझा यसअघि २०५४ मा साँसद र राज्यमन्त्री भैसकेका छन् भने २०७० को निर्वाचनमा  कैलाली ५ सहित २ ठाउँबाट शेर बहादुर देउवा बिजयी भएर  कैलाली छोडेपछि ओझा साँसदको रुपमा निर्वाचित भएका थिए ।  


 काँग्रेसका केन्द्रिय सदस्य नृप वड, प्रदेश कोषाध्यक्ष उत्तम कठायत, कैलाली जिल्ला सभापति नारायण दत्त भट्ट सहितका नेताले ओझालाई भेटेर पार्टी सभापति शेर बहादुर देउवासँग कुरा गर्न आग्रह गरेका थिए । ओझाले पार्टीले  कारवाही गरेकोले कुरा हुन नसक्ने भन्दै कारवाही गरे पनि आफु काँग्रेस नै रहेको र कैलाली ५ कसैका लागि छोड्न  नसक्ने बताएका थिए ।


 २०७४ को निर्वाचनमा ओझाले उम्मेदवार नदिए पनि एमालेका उम्मेदवार रानालाई बिजयी बनाउन भुमिका निर्वाह गरेका थिए ।

शाहको टीम व्यवस्थापन


नेपाली काँग्रेसको सुदुरपश्चिम प्रदेश समितिका महासचिव एवम कैलाली काँग्रेसका निवर्तमान सभापति नरनारायण शाहको टीमको व्यवस्थापन पनि समस्याको बिषय बनेको छ । कैलाली जिल्लामा पार्टीभित्र राम्रो प्रभाव रहेको शाहको टीमका कसैलाई पनि २०७९ बैशाखमा भएको स्थानीय तहको चुनावमा कैलालीका १३  पालिका मध्य कसैमा उम्मेदवारी बनाइएको थिएन । कैलाली ५ मा पनि राम्रो प्रभाव रहेको शाहको टीमको व्यवस्थापन कसरी हुन्छ भन्ने बिषयले निर्वाचनलाई प्रभाव पार्ने छ । कैलालीमा शाहको टीमका प्रदेश सभा र संघीय साँसदका आकांक्षीहरु थुप्रै छन् । 

 

 बाँके र बाग्लुङबाट  पनि सिफारिश 
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य आरजु देउवा राणाको नामा संघीय साँसदको उम्मेदवारीका लागि बाँके र बाग्लुङ जिल्लाबाट पनि सिफारिश भएको छ । 
 राणा देउवाको बाग्लुङ क्षेत्र नम्बर २ र बाँकेको क्षेत्र नम्बर ३ बाट संघीय साँसदका लागि सिफारिश गरिएको हो । बाके ३ बाट राणा देउवाँसँगै काँग्रेसका उपसभापति  पुर्ण बहादुर खड्का र केन्द्रिय सदस्य किशोर  सिंह राठौरको नाम पनि सिफारिश गरिएको छ ।
त्यस्तै बाग्लुङ बाट उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् ।  महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । 

स्थानीय निर्वाचनमा दलले पाएको मत 

कैलाली–५ अन्तरगत धनगढी उप महानगरपालिकाका १९ वटै वडा र कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडा पर्दछन् । 

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा स्तरमा पाएको मतका आधारमा कांग्रेस ठुलो पार्टी बनेको छ । नेपाली कांग्रेसले धनगढीका १९ वडाबाट २० हजार ७ सय २२ मत तथा कैलारीका दुई वडाबाट २०५४ गरी २२ हजार ७ सय ७६ मत पाएको छ ।

त्यसैगरी नेकपा एमालेले धनगढीका १९ वटै वडाबाट १५ हजार ९ सय ९३ तथा कैलारीका दुई वडाबाट १ हजार ४ सय ८ मत गरी १७ हजार ४ सय १ मत पाएको छ ।

नेकपा माओबादी केन्द्रले धनगढीका १९ वडाबाट ८ हजार १ सय ७५ मत पाएको छ । शत्ता घटक नेकपा एकिकृत समाजबादीले  वडा स्तरबाट २ हजार ९ मत पाएको थियो ।