धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

धनगढीका थप चार वडा आवाशिय क्षेत्र घोषणा

धनगढीका थप चार वडा आवाशिय क्षेत्र घोषणा

धनगढी । धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवाशिय क्षेत्र घोषणा गर्दै १५ वडाको जग्गा कित्ताकाट फुकुवा गरेको छ ।
उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले वडाका थप चार वडा सहित नौ वडाको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो । १९ वडा रहेको धनगढी उपमहानगरपालिकाले थप चार वडालाई आवाशिय क्षेत्र घोषणा गरेसंगै उपमहानगरपालिका भित्र ६ वडा आवाशिय क्षेत्र भएका छन ।
धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ र ४ लाई असार ३१ गते नै आवाशिय क्षेत्र घोषणा गर्दै जग्गा कित्ताकाट फुकुवा गरेको थियो । बुधबार बसेको बैठकले वडा नम्बर २, ३, ५ र ११ लाई आवाशिय क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।
उनका अनुसार कार्यपालिकाको बैठकले १३ वटा वडाबाट आएको सिफारिस अनुसार जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । उनका अनुसार चार वडा बाहेक उपमहानगरपालिकाका सबै वडाको जग्गाको कित्ताकाट फुकुवा गरेको हो ।
वडा नम्बर ६ का वडा अध्यक्ष भागीराम चौधरीले मुख्य सडक किनारदेखि दायाँ बायाँ ८० मिटर र शाखा सडकको दायाँ बायाँ रहेको ५० मिटरसम्मलाई गैर कृषि क्षेत्र घोषणा गरि जग्गा कित्ताकाट फुकुवा गरेको हो ।
वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमबहादुर भण्डारीले सडक किनारदेखि दायाँ बाँया एक सय ५० मिटर गैरकृषि क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गरेको बताए । उनले भने –‘मुख्य सडक, शाखा सडक, ग्राभेल तथा कालोपत्रे सडकको दायाँ बायाँ एक सय ५० मिटरसम्मलाई हामीले गैर कृषि क्षेत्र मानेका छौं ।’ उनका अनुसार यसरी घोषणा गर्दा वडामा ७५ प्रतिशत कृषि र २५ प्रतिशत क्षेत्रफल आवाशिय हुने छ । 
वडा नम्बर १२ ले पुनर्वास आवास क्षेत्रले उपलब्ध गराएको आवास र कृषि प्लट तथा मुख्य रोडको ३० मिटर दायाँ र बायाँसम्म आवास क्षेत्र बनाउने गरि जग्गा कित्ताकाट फुकुवा गरेको छ ।
उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले २०६८ को जनगणना अनुसार धनगढी उपमहानगरपालिकामा १२ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ । उपमहानगरपालिकाले धमाधम आवाशिय क्षेत्र घोषणा गरेपछि कृषि क्षेत्रमा असर पर्ने उनले बताए । उनले कृषि भईरहेका क्षेत्रलाई आवाशियमा परिणत गर्दा उत्पादनमा ह्रास हुने बताए । उनले भने –‘विगतमा खेती भइरहेका क्षेत्रमा भवनहरु निर्माण भएपछि उत्पादकत्वमा कमी आउने छ ।’ उनले उपमहानगरपालिकाले खेतीयोग्य जमिन पहिचान नगरी आवाशिय क्षेत्र घोषणा गर्न नहुने बताए ।
वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले वडा नम्बर २ लाई आवाशिय क्षेत्र घोषणा गरेपछि वडाबासीलाई सहजता भएको बताए । उनले भने –‘मानिसहरुको बसोबास रहेको यस वडामा कित्ताकाट फुकुवा नहुँदा दुःख पाईरहेका थिए । कसैले छोराछोरीको विद्यालय शुल्क तिर्न पनि जग्गा विक्री गर्न चाहिरहेका थिए, तर कित्ताकाट फुकुवा नहुँदा रोकिएको थियो ।’
दुई वटा वडाको मात्र जग्गा कित्ताकाट फुकुवा गरिदा अन्य वडाका स्थानीयहरु धनगढी उपमहानगरपालिका प्रति रुष्ट थिए । अझै उपमहानगरपालिकाको सबै वडाको जग्गा कित्ताकाट फुकुवा गरिनुपर्ने उनीहरुको सुझाव रहेको छ ।
संघीय भूमि व्यवस्था मन्त्रालयले २४ जेठमा कृषि योग्य भूमि र आवाशिय क्षेत्रको जग्गाको कित्ताकाट गर्न रोक लगाएको थियो । संघीय भूमि व्यवस्था मन्त्रालयले तराई र भित्री मधेसमा एक रोपनी पाँच आना ३.६ दाम (६७५ वर्गमिटर) र उल्लेखित क्षेत्रबाहेकका भूभागमा एक रोपनी १५ आना एक पैसा तीन दाम (एक हजार वर्गमिटर) क्षेत्रफलभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ ।
लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट वडा तहबाट खुलाउने विषय उपयुक्त नभएको स्थानीयहरु बताउँछन् ।