धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

दुई दशकपछि विद्युत विस्तार

 

महेन्द्रनगर

  कञ्चनपुरको भीमदत्त नगरपालिका९ स्थित खल्ला मछेट्टीमा दुई दशकपछि विद्युत विस्तार सुरु भएको छ । विक्रम सम्वत २०५५ सालमा बसेको बस्तीमा अहिले आएर विद्युत विस्तार हुन लागेको हो ।

  नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर शाखा र भीमदत्त नगरपालिकाको संयुक्त साझेदारीमा नगरकै दुर्गम क्षेत्र खल्ला मछेट्टीमा विद्युत विस्तार गरिन लागिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राम नाथले विद्युतको मेनलाइनको विस्तार गर्ने कार्य भैरहेको जानकारी दिए । नाथले द्धन्द्धकालिन समयबाट बसोबास रहेको खल्ला मछेट्टीलाई विकाससँग जोड्नका लागि विद्युत विस्तार गरिएको बताए ।

  लामो समयदेखि ऐलानी जमिनमा बसोबास गरिरहेका समुदायलाई विकाससँग जोड्न विद्युत विस्तारको कार्य भैरहेको छ । अध्यक्ष राम नाथले भने, केही वर्षमै खल्ला मछेट्टीका समुदायलाई सडग मार्गमा जोडियो, यसपटक समुदाय स्तरमा भने विद्युत जोड्ने योजना छ ।

 वडा कार्यालय स्थित ब्रहम्देव बजारबाट झण्डै ६ किलो मिटर टाढा रहेको उक्त बस्तीलाई विद्युतसँग जोड्न पोल गाड्ने काम भने सकिएको छ । नगरको दुर्गम वडाका रुपमा चिनिने वडामा पछिल्लो समयमा भने विकासका पुर्वाधारलाई जोड्ने काम भने तिव्र रुपमा भैरहेकोे वडा अध्यक्ष नाथले बताए ।

खल्ला मछेट्टी र टुडिखेल गरी तीन ओटा गाउँ रहेको उक्त ठाउँका मानिसहरु ब्रह्रमदेव एक घण्टा हिडेर पुग्ने गर्दछन् । विगतका दिनमा बिरामी भएको बेला तथा कुटाई पिसाई गर्न पनि हिडेर जानुपर्ने बाध्यता भए पनि अघिल्लो दुई वर्षदेखि गाउँमा मोटर बाटो पुग्दा हिड्नु पर्ने बाध्यता भने हटेको छ । झण्डै ३ सयदेखि ४ सय घर परिवार रहेको खल्ला मछेट्टीलाई आर्थिक वर्ष भित्रै विजुली जडान कार्य सक्ने योजनामा वडा कार्यालय रहेको छ ।

पोल गाड्ने काम सकिए पनि भने मेनलाइन जडानकोे काम चलिरहेको छ, सडक किनारमा भएका घरपरिवारलाई भने साउन महिना भित्रै मेनलाइनबाट बिजुली जडान गर्ने गरी विद्युत जडानको कार्य भैरहेको छ । अध्यक्ष नाथले भने, आर्थक वर्षभित्र गाउँभरीका सवै घरधुरीमा विजुलि जडान गरिनेछ ।

  साउन महिनाबाटै भोल्टेज कम हुन नदिनको लागि तीन ओटा गाउँमा तीन ओटा ट्रान्समिटर राखेर विद्युत आपुर्ती समेत उनले बताए ।

खल्ला मछेट्टी क्षेत्रमा द्धवन्द्ध कालमा बसोबास गरेकोले यहाँका स्थानिय सवैको जमिन दर्ता नभई ऐलानीमै छ । विद्युत जडान गर्दा लालपुर्जा चाहिन्छ । तर वडा कार्यालयले भने बसोबासका आधारमा मिटर वितरण गर्ने योजना बनाएको छ ।

 दुई दशक भन्दा लामो समयदेखिको बसोबास भए पनि जमिन भने दर्ता प्रक्रियामै छ, जमिन दर्ता प्रक्रियामै भए पनि वडाबासीलाई बसोबासका आधारमा मिटर वितरण गर्ने योजना छ । विद्युतको पहुँच गरिए सँगै आगामी दिनमा दर्ता प्रक्रिया दर्ता मै रहिरहने भने होइन, ढिलोचाँडो दर्ता गर्ने कार्य पनि सकिने विस्वास छ । वडाध्यक्ष नाथले भने, । वडाध्यक्ष नाथले विद्युतको पहुँच पुगाए पनि आउँदो दिनमा भने खानेपानी लगायतको पहुँच सृजना गरिने बताए ।

विगतका दिन देखी अहिले सम्मै विद्युत नभएर धेरै समस्या भएको छ, कुटाई, पिसाई लगायत मोवाइल चार्ज गर्न पनि एक घण्टाको दुरीमा बजार जानु पर्ने बाध्यता थियो । भीमदत्त नगरपालिका९ स्थित खल्लाकी अञ्जली देवी बोहराले भनिन्, विद्युत आउने भनेर सुन्ने मात्रै गरिन्थ्यो, अव विद्युत जडान कार्य भएपछि भने थोरै भएपनि खुसी लागको छ । विद्युत विस्तार भएपछि कुटाई पिसाई लगायत चार्ज गर्न एक घण्टा टाढा जानु पर्ने समस्या पनि हट्ने उनले बताइन् ।