चन्द्रकान्त जोशी
बिहिबार, ११ भदौ २०७७ मा प्रकाशित
महेन्द्रनगर
आँट गरे के सकिन्न . कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानकी ममता ठाकुर अहिले १८ वर्षकी छन् । उनले एउटा सानो गाई समेत पालेकी छन् ।
ममताले नजिकै गाउँमा पचास रुपैयाका दरले दैनिक एक लिटर दुध समेत बेच्ने गर्छिन । बाल्यकाल अवस्थामै बाबुआमाबाट टाढा भएर गाइको दुधबाट घर खर्चदेखि दुई ओटा भाइको लालनपालनमा लागिरहेकी छन् । दुधको पैसाले सामान्य घर खर्च जोहो गर्ने ममता खेतीपातीको समयमा भने मजुरी गर्न पनि जाने गर्छिन् । बाबु आमा, दुई जना भाई गरेर पाँच जनाको सुन्दर परिवारमा बस्ने ममता र उनका दुई जना भाई टुहुरा जस्तै भएका छन् ।
बाबुको आर्थिक स्थिति एकदमै कमजोर भएकै कारण ममताकी आमाले घर छोडेर गएको आठ महिना जति भयो । आर्थिक स्थिति ज्यादै कमजोर भएको ममताको बुबालाई मानसिक पिडाको चिन्ताले निकै खाएपछि बुबाको निधन भयो । सानै उमेरदेखि परिवार भाई बहिनी माझ आफु जेठी भएकोले पनि ममतालाई बाबुआमाबाट साथ–सहयोग धेरै कम प्राप्त भयो ।
बुवा आर्थिक अवस्था साह्रै कमजोर भएपछि सधैं जसो घरायसी तनावमा हुर्केकी ममतालाई अहिले झनै समस्या भएको छ । जीवनमा धेरै दुख पाएको भए पनि आर्थिक अवस्था बलियो भए अझै आफु बलियो हुने ममताको आशा छ ।
“घरको कामकाज, खेतबारी लगायत सानोदेखि ठूलो आफैले हेर्नुपर्ने र स्याहार्नु पर्ने बाध्यता छ ।” ममता भन्छिन्,“ आफु पछाडिका साना दुई भाईको पनि उत्तिकै चिन्ता छ, समस्या नै समस्या छ, आर्थिक अवस्थामा थोरै सहयोग भए पनि मलाई जीवनमा केही गर्न सक्ने ठुलो आशा छ ।”
विगतमा पनि घरको आर्थिक अवस्था कमजोर भएकै कारण दश कक्षामै पढाई छोडेकी उनले बताइन् । पढाई छोडेको लगभग तीन वर्ष बितिसक्यो । पढाई छोडेको वर्ष धेरै भए पनि कसैले पढ्ने खर्च गराइ दिए आफ्नो पढ्ने चाहना भएको उनी बताउछिन् । ममतासँगै उनका भाई १६ वर्षे दरसी ठाकुर र १३ वर्षका गोपाल ठाकुरको समेत पढाई अलपत्र छ ।
“मलाई मन त पढ्ने थियो, घरमा पैसा थिएन, स्कुलको फिस तिर्न सकिएन, फिस तिर्न समस्या भएपछि विद्यालय जानै बन्द जस्तै भयो । पढ्ने इच्छा त अझै पनि उस्तै छ कसैले पढाइ दिए हुन्थ्यो सोच्छु, कमाएको पैसा बुवा मदिरा पिएर सक्थे, सधै घरमा बुवा आमाको झगडा हुन्थ्यो, सबैतिर मानसिक तनाव भयो पढाइ छोड्नु बाध्यता भयो ।” ममताले भनिन् ।
“ बुबाको राजेगारी भारतमै थियो, भारतीय सँगै चिनजान पनि थियो ।” उनले भनिन्, “भारतबाटै बिहे भयो, बिहे भएको केही वर्षमा घरमा मनमुटाव भैरहन्थ्यो, हुँदै जाँदा आमाले छोडेर गइन् ।” आमा बाबुबाट टाढा बस्दा दैनिक जसो धेरै समस्या हुने गरेको ममताले बताइन् ।
उनको हाल पैसा आर्जन हुने माध्यम भनेको एक लिटर दुध बनेको छ । दुधबाटै उनले सारा घरखर्च जोहो गर्न भ्याउँछिन् । नया बस्तीमा उनको एउटा सानो घर र डेढ कट्ठा जति जमिन छ ।
“कठिन नै कठिन छ, के कति भनेर भन्न सकिने अवस्था नै छैन । विहान बेलुकी के खाने भाइहरुलाई के खुवाउने भन्ने चिन्तै चिन्ताले लागेको भोक पनि हराउने गर्छ ।” उनले भनिन् । गाईको दुधबाट आएको पचास रुपैयाले सामान्य खर्च चलाउन पनि मुस्कील पर्ने गरेको छ ।
उनको घरको नजिकै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवस्थित छ । घाँसपातका लागि उनको जमिन पनि छैन । एउटा गाइलाई चराउन उनी निकुञ्जको किनारमा छोड्ने गर्छिंन् । खेतको धान गहँुले केही महिना पुग्ने भए पनि वर्षभरीलाई पुगाउन किन्नु पर्ने उनको भनाई छ ।
“साझ बिहान कहिले काँही भोकै पनि बस्नु पर्ने अवस्था हुन्छ, कुनै दिन त खाना खाए पनि थोरै खान्छौ ।” ममताले भनिन्, “खाना पकाउनलाई पनि ग्यास छैन, जंगलको किनारबाट चोरेर दाउरा लिएर खाना पकाउनु पर्छ । कहिले भने सुकाएको गोबर जलाएर खाना पकाउने गरेको अवस्था छ ।” उनीसँग घरमा लगाएको विजुलीको बिल तिर्न समेत पैसा छैन । पैसा नतिरेको धेरै भएको र कुनै दिन बिजुली काट्ने समस्या पनि रहेको ममताले बताइन् ।
ममताका जेठा बुवाको परिवार पनि नजिकै छ । स–सानो सहयोग उनका जेठा बुबाले गर्ने भएकोले ममतालाई केही सहज भने भएको छ । जेठाबुवाले उनको सामान्य नुन तेल देखि सोडा साबुनको खर्च हेरिदिने गरेका छन् ।