धनगढी पोष्ट
शनिबार, ०६ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिममा कोरोनको उच्च जोखिम रहेको भारतबाट १५ दिनमा एक लाख भन्दा बढी नागरिक भित्रिएका छन् । प्रदेशभर निर्माण गरिएका १ हजार ९ सय ९७ क्वारेन्टाइनमा ३७ हजार २ शय ५ जना क्वारेन्टाइनमा छन् । सुदुरपश्चिममा हरेक दिन ५० भन्दा बढी नागरिकमा कोरोना संक्रमण पुष्टि भइररेको छ । पुष्टि हुनेहरु धेरै जसो कैलाली र कन्चनपुर बाहेकका जिल्लाका छन् । तर ती जिल्लाहरुमा गम्भीर खालका बिरामीका लागि आवश्यक पर्ने आइसीयु र भेन्टिलेटरको सुविधा छैन । यस्तो बेलामा ती जिल्लामा कोरोनाका बिरामीहरुको स्वास्थ्य समस्या गम्भीर बन्न थाल्यो भने उपचार कसरी हुन्छ त ?
हालसम्म आइसोलेसन बेडकै भरमा कोरोना संक्रमितको उपचार भइरहेको छ । आइसियुमा राखेर उपचार गर्नुपर्ने अवस्था आएकालाई महाकाली अस्पताल वा सेती प्रादेशिक अस्पतालमा पठाउनुको विकल्प छैन । तर कोरोना लागेका बिरामीहरुलाई कसले लैजाने धनगढी महेन्द्रनगर ?
भारतबाट नेपाली आउने क्रम बढेसँगै हरेक पालिकाहरुमा क्वारेन्टिनको व्यवस्था गरिएको छ । क्वारेन्टिनमा रहेकाहरुको स्वास्थ्यमा समस्या देखिएमा कोरोना परिक्षण गर्ने गरिन्छ । परिक्षणमा कोरोना पुष्टि भएमा आइसोलेसनमा राखेर उपचार गरिन्छ । आइसोलेनहरु भरिन थालेपछि कतिपय कोरोना संक्रमितहरुलाई घरमै आाइसोलेसनमा राख्ने समेत गरिएको छ ।
सुदुरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थय निर्देशनालय दिपायलका अनुसार प्रदेशभरि अहिले ७ शय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका मध्य कैलालीका २ शय ८ र कन्चपुरका ९५ गरि ३ शय २ जना मात्र आइसीयु र भेन्टिलेटरको सुविधा भएका जिल्लाका छन् । ती सुविधाबाट टाढा रहेका जिल्लाहरु डडेल्धुरामा १ शय ३१ जना, अछाममा ५९ जना, बैतडीमा १ शय २० जना, बझाङमा १९, बाजुरामा ६९ जना, दार्चुलामा १२ जना र डोटीमा ५७ जना कोरोना संक्रमितहरु रहेका छन् । कोरोना संक्रमितहरु मध्य प्रदेशभरि अस्पतालमा उपचार भैरहेका २ शय १४ जना मध्य कोरोना डेडिकेटेड हस्पिटल तोकिएको सेती प्रादेशिक अस्पतालमा १७ जना, महाकाली अस्पतालमा ३५ जना, मालाखेती अस्पताल गोदवारीमा २ जना र टीकापुर अस्पतालमा २३ जना छन् । ३८ जना पहाडी जिल्ला स्थित अस्पतालहरुमा छन् । पालिकाहरुमाले संचालन गरेका आइसोलेसनमा ६ शय ५६ जना कोरोना संक्रमित छन् ।
प्रदेशभरि ३७ हजार २ शय ५ जना क्वारेन्टिनमा रहेका छन् । ती मध्य अधिकांस पहाडी जिल्लाहरुमा रहेका छन् ।
सेती प्रादेशिक अस्पतालमा थप ५ आइसियु वेड निर्माण गरिएको छ भने महाकाली अस्पतालमा थप दुई बेड निर्माण भएका छन् । कोरोना महामारी अघि सेती प्रादेशिक अस्पतालमा ५ बेड र महाकाली अस्पतालमा तीन वेड मात्रै आइसियु कक्ष थिए । अन्य अस्पतालमा भने आइसियू बेड उपलब्ध थिएन । कोरोनाको संक्रमण भएको तीन महिना पुग्न लागिसक्दा पनि अझै उपलब्ध छैनन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा जम्मा ८ वटा भेन्टिलेटर छन् । यस्तै आइसियु बेडको संख्या १४ मात्रै छ ।
हाल प्रदेशमा उपलव्ध स्वास्थ्य उपकरणहरुले कोरोना संक्रमितहरुको उपचार गर्न गाह्रो भएको स्वीकार्छन् । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणाकर अवस्थी तत्कालै भेन्टिलेटर र आइसियु बेडको संख्या थप गरी कोरोनाको उपचारमा सहजता ल्याउने योजना रहेको बताउँछन् । ‘प्रदेश सरकारले आइसियु र भेन्टिलेटर वार्ड थप गर्नका लागि आवश्यक बजेट विनियोजन समेत गरेको छ’ अवस्थीले भने, ‘हामीले त्यसको प्रकृया अगाढी बढाएका छौं ।’