धनगढी पोष्ट
बिहिबार, १० भदौ २०७८ मा प्रकाशित
धनगढी । प्रदेश नम्बर १ मा एमाले नो भीम आचार्य मुख्यमन्त्री बनने भएका छन् । एमाले पार्टी विभाजनको क्षति कम रणनीति अनुसार नेकपा एमालेले प्रदेश नम्बर १ सरकारको नेतृत्व परिवर्तन गर्न लागेकोहो । सोही अनुसार प्रदेश १ का वर्तमान मुख्यमन्त्री शेरधन राईले राजिनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउन लागिएकोहो । मुख्यमन्त्री राईले तत्कालै राजिनामा दिने तयारी समेत गरेका छन् ।
‘एमाले प्रदेश १ ले बिहीबार एमाले संसदीय दलको बैठक बोलाएकोछ’ एमाले सांसद विमल कार्कीले भो–‘संसदीय दलको बैठकबाट नयाँ नेतृत्व आउनेछ ।’
उनकाअनुसार मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाउने र आजै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी छ ।
लामो समयदेखि झलनाथ खनाल–माधवकुमार नेपाल समूहमा रहेका एमाले सचिव भीम आचार्यले पार्टी विभाजनका बेला उनीहरुको साथ छाडेर एमालेमै रहने निर्णय लिएका थिए । उनलाई यसअघि नै अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी एकता अभियानमा सक्रिय थिए ।
तर पार्टी विभाजन नरोकिएपछि माधव नेपाल समूहका सांसदहरुलाई नयाँ दलमा जान नदिन उनलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको एमाले नेताहरुको भनाइ छ ।
माधव नेपाल समूहमा प्रदेश १ का १५ सांसद रहेको उक्त समूहको दाबी छ । आचार्यलाई मुख्यमन्त्री बनाउँदा त्यसको ठूलो संख्या आफूले एमालेमै राख्ने आचार्यले दाबी गर्दै आएका छन् । त्यहीअनुसार आचार्यले सांसदहरुलाई फकाउँदै पनि आएका छन् ।
तर नेपाल समूहले एमाले छोडेर माधव नेपालको साथ रोजेकोखण्डमा भने भीम आचार्य नेतृत्वको सरकारको आयु छोटो हुने निश्चित छ ।
आचार्यले यसअघि शेरधन राईसँग एमाले संसदीय दलमा प्रतिष्पर्धा गरेर हारेका थिए। पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि तत्कालीन नेकपाको प्रचण्ड नेपाल पक्षले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा आचार्यलाई नै मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेको थियो । फागुन २३ को सर्वोच्चको फैसलाले एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि आचार्यको मुख्यमन्त्री बन्ने दौड रोकिएको थियो ।
प्रदेश संसदमा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन्। यसअघि माओवादी केन्द्र संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि उनी कारबाहीमा परेका छन् ।
एमालेका ५१ सांसदमध्ये १५ जना समाजवादीमा रहेको दाबी सो पक्षले गरिरहेको छ । तर एमालेमा दोस्रो पुस्ताका नेताहरु फर्केसंगै सो संख्या केही घटबढ भएको अनुमान गर्न सकिन्छ ।
एमालेले आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेसँगै नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले पनि आचार्यको सत्तारोहण रोक्न उपायको खोजी सुरु गरेको छ ।
देशमा मुख्यमन्त्री बन्नका लागि ४७ जना सांसद आवश्यक पर्छ । एमालेका ५१ मध्ये १ जना सभामुख, १ जना गुलेफुन मियाँलाई मुद्दा लागेको कारण हाल एमालेका ४९ जनामात्रै सांसद छन् । स्रोतकाअनुसार फौजदारी अभियोग लागेकी गुलेफुन मियालाई पनि संसदीय दलको बैठकमा सहभागी गराउने तयारी एमालेले गरेको छ ।