धनगढी पोष्ट बुधबार, ०९ माघ २०८१   January 22, 2025

सिक्दै अघि बढ्ने हो : मुख्यमन्त्री भट्ट

सिक्दै अघि बढ्ने हो : मुख्यमन्त्री भट्ट

धनगढी

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले काम गर्दा कमजोरी हुने र त्यसबाट सिक्दै अघि बढ्ने बताए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री भट्टलेमुख्यमन्त्री भट्टले प्रदेश सरकारलाई केही संयन्त्र अभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको उल्लेख गरे ।

   उनले भने– ‘कुनै सरकार र ब्यक्ति असफल हुन सक्छ, तर ब्यवस्था असफल हुनुहुदैन, ब्यवस्था असफल गर्ने तर्फ कोही पनि लाग्नु हुँदैन । ब्यवस्था सफल पार्नु प्रदेश सरकारको दायित्व भएको उनको भनाई छ ।

   यसअघि पूर्व बजेट छलफलका क्रममा सत्तापक्षीय प्रदेश सांसदहरुले नै मुख्यमन्त्री र सरकारका गतिबिधिका कारण संघीयता नै खतरामा रहेको टिप्पणी गरेका थिए । नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा बोल्दै पूर्व मन्त्री तथा सत्तापक्षी प्रदेश सभा सदस्य दीर्घ सोडारीले सरकारको ब्यवहारका कारण संघीयताको आफुहरु जन्ति र मलामी हुनुपर्ने त होइन, भन्ने टिप्पणी गरेका थिए ।

  नीति तथा कार्यक्रम प्रस्तुत हुनुपूर्व सदनमा सरकारको तीब्र विरोध गरेका सत्तापक्षीय प्रदेश सासंदहरुले नीति तथा कार्यक्रम माथिको छलफलमा भने सरकारको समर्थन गरे ।

   शुक्रबारको छलफलमा बोल्दै सत्तापक्षीय प्रमुख सचेतक तारा लामा तामाङले नीति तथा कार्यक्रम राम्रो भए पनि बिगत बर्षको अनुभवका आधारमा कार्यान्वयन हुनेमा शंका ब्यक्त गरे ।

  प्रमुख प्रतिपक्षी नेता रण बहादुर रावलले बर्तमान सन्दर्भमा रोजगारीको प्रवद्र्धन प्रदेश सरकारको प्राथमिकतामा पर्नु पर्ने बताए । शुक्रबारको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा सत्तापक्षका प्रदेश सांसदहरु हर्कबहादुर कुँवर, लाल बहादुर खड्का, कुलबीर चौधरी, बल बहादुर सोडारी र प्रकाश रावलले पनि बोलेका थिए । प्रतिपक्षी प्रदेश सभा सदस्यहरु मालमति राना, कुमारी नन्दा बम र उमा वादीले बोलेका थिए ।