धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारी र यसको रोकथामका लागि गरिएको लकडाउनका कारण आर्थिक रुपमा सक्रिय जनशक्ति बढी प्रभावित रहेको छ । कोरोना महामारीको दोस्रो लहरमा २१ वर्षदेखि ५० वर्ष उमेर समुहका मानिस सबै भन्दा बढी संक्रमित, प्रभावित र पीडित भएको तथ्यांकहरूले देखाएको छ । तथ्यांकहरूले यस पटक कोरोना संक्रमणबाट मुत्यु हुनेहरूको बढी संख्या पनि यही उमेर समुहको छ । तर, अहिले पनि यो उमेर समुह कोरोना विरुद्धको खोप कार्यक्रमको प्राथमिकतामा परेको देखिँदैन ।
कोरोना महामारीको पहिलो लहर चलिरहेकै बेला सुदूरपश्चिम प्रदेशमा भारत सरकारको सहयोगबाट प्राप्त कोरोना विरुद्धको खोप (कोभिडशिल्ड) लगाउन शुरु गरियो । २०७७ माघ १४ गतेदेखि माघ २४ गतेसम्म सञ्चालन भएको खोप कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, सरसफाई कर्मचारी र सुरक्षाकर्मीहरूलाई समेटियो । त्यस्तै, २०७७ साल फागुन २ गतेदेखि १० गतेसम्म सञ्चालन भएको अर्को खोप कार्यक्रममा निजामति सेवाका कर्मचारी, कारागारका कैदीबन्दीहरू, जनप्रतिनिधि र सञ्चारकर्मी, पत्रकारहरू समेटिए । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार यो अवधिमा ३८ हजार तीन सय दुई जनाले कोरोना विरुद्धको खोप लगाउने मौका पाए ।
त्यस्तै, दोस्रो चरणमा २०७७ चैत ११ देखि २० गतेसम्म खोप अभियान सञ्चालन भयो । यो चरणमा ५५ वर्ष भन्दा माथिको उमेर समुहका जेष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखियो । स्वास्थ्य निकायका अधिकारीहरूले २० देखि ५४ वर्षसम्मका मानिसको रोग प्रतिरक्षा क्षमता तुलनात्मक रुपमा बलियो हुने भएकाले हाललाई ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेको बताएका थिए । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले ज्येष्ठ नागरिकहरूको रोग प्रतिरक्षा प्रणाली कमजोर हुने र उनीहरू मध्ये केही दीर्घरोगी पनि हुन सक्ने भएकाले खोपका लागि प्राथमिकता निर्धारण गर्दा उनीहरूलाई महत्व दिइएको बताए ।
नेपाल सरकारले कोरोना विरुद्धको खोपसंगै पठाएको निर्देशनमा “५५ वर्ष माथिका उमेर समुहका नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउन” उल्लेख गरेको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । उनले जैविक आधारमा यसरी प्राथमिकता क्रम निर्धारण गरिएको बताए । स्वास्थ्य निर्देशक डाक्टर अवस्थीका अनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तराइका जिल्लाहरूमा ६५ वर्ष भन्दा माथिका, पहाडी जिल्लामा ६० वर्ष माथिका र हिमाली जिल्लाहरूमा ५५ वर्ष भन्दा माथि उमेर समुहका नागरिकलाई खोपका लागि प्राथमिकतामा राख्न निर्देशन दिएको छ । सुदूरपश्चिम प्रदेशमा दुई तराई, चार पहाडी र तीन हिमाली जिल्ला छन् ।
कोरोना विरुद्धको खोप अभियानको पहिलो चरणमा ५४ वर्ष मुनिको उमेर समुहका मानिसलाई प्राथमिकतामा नराखिए पनि सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट संक्रमित हुनेहरूमा यही उमेर समुहका मानिस अधिक रहेको तथ्यांकले देखाउँछ । सुदूरपश्चिम प्रदेशमा २०७६ चैत १४ गते कोरोना संक्रमणको पहिलो बिरामी फेला परेको थियो । त्यसवेलादेखि २०७७ साल चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा २१ हजार एक सय ५३ जना संक्रमित भएको प्रदेश स्वास्थय निर्देशनालयले जनाएका छ । यसमध्ये करिब ७० प्रतिशत संक्रमित २० देखि ५० बर्षसम्मको उमेर समुहका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोनाको पहिलो लहरमा ५८ जनाको मृत्यु भएको थियो ।
२०७८ साल बैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म दुई महिनाको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा २० हजार पाँच सय ८७ जना संक्रमित भएका छन् । संक्रमण भएका मध्ये चार सय ९६ को मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य स्वास्थ्य निर्देशनालयले उपलबध गराएको तथ्यांक अनुसार २१ देखि ५० बर्ष उमेर समुहमा सबै भन्दा बढी १४ हजार ५ सय ४५ जना कोरोना संक्रमित भएका छन् । दोस्रो लहरको कोरोना संक्रमणका कारण भएको मृत्यु पनि यही उमेर समुहमा बढी छ । यो उमेर समुहमा प्रदेश भरी जेठ ३१ गतेसम्म दुई सय जनाको मृत्यु भएको छ । यो कुल मृतक संख्याको ४० दशमलब ५ प्रतिशत हो ।
२०७८ बैशाख १ देखि जेठ ३१ सम्मको कोरोना संक्रमित र त्यसबाट भएको मृत्युको तथ्यांकलाई अझ मसिनो गरी हेर्दा सक्रिय रुपमा श्रम गर्ने उमेर समुहका मानिसहरू नै बढी प्रभावित भएको देखिन्छ ।
उमेर समुह जम्मा संक्रमित मृत्यु
१ – १० ४४९ १
११ – २० १,६१२ ४
२१ – ३० ५,७८९ २३
३१ – ४० ५,३६९ ८३
४१ – ५० ३,३८७ ९४
५१ – ६० २,२८१ ११८
६१ – ७० ९९८ ८७
७१ – ८० ५४४ ६३
८० बर्ष माथि १५८ २३
कुल जम्मा २०,५४५ ४९६
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणमा खोप लगाइएका ३८ हजार तीन सय दुई जना मध्ये ३८ हजार दुई सय ७२ जनाले खोपको दोस्रो डोज पनि पाइसकेका छन् । खोपको पहिलो डोज पाएका ३० जनामा खोप लगाएपछि समस्या देखिएकोले उनीहरूलाई दोस्रो डोज लगाइएन । प्रदेश स्वास्थ्य निर्देशक डाक्टर अवस्थीका अनुसार एलर्जी र अन्य केही समस्या देखिपछि उनीहरुलाई खोप नलगाइएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार पहिलो चरणमा खोप पाउनेमा कोरोना उपचारको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरू सबै भन्दा बढी छन् । पहिलो चरणमा पाँच हजार छ सय नौ जना स्वास्थ्यकर्मीले खोप लगाएका थिए । त्यस्तै, सामुदायिक स्वास्थ्य स्वयंसेवक चार हजार ९५, स्वास्थ्य क्षेत्रमा कार्यरत कार्यालय सहयोगी लगायत अन्य एक हजार पाँच सय ३० जना कर्मचारीले पनि खोप पाएका छन् । अस्पताल तथा शहरी क्षेत्रमा काम गर्ने सरसफाईकर्मी मध्ये छ सय ४५ जनालाई कोरोना विरुद्ध खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक शाखाले जनाएको छ ।
त्यस्तै, प्रदेशभरीका एक सय ६० जना एम्बुलेन्स चालकहरूले खोप पाएका छन् । खोपको प्राथमिकतामा राखिएका सुरक्षाकर्मीहरू मध्य नेपाल प्रहरीका चार हजार आठ सय २४ र सशस्त्र प्रहरीका दुई हजार नौ सय २९ जनाले खोप पाएका छन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशका नौ वटै जिल्लामा रहेका कारागारका कैदीहरूलाई पनि खोप लगाइएको छ । कारागारमा रहेका कैदी र सुरक्षाकर्मी गरी एक हजार तीन सय तीन जनाले खोप प्राप्त गरेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक सहायक धर्मानन्द गिरीका अनुसार खोपको पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरू गरी पाँच हजार चार सय २४, निजामति सेवाका कर्मचारीहरू चार हजार तीन सय १३, बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारी दुई हजार चार सय ५१ र प्राधिकरण, संस्थान र सरकारी कम्पनीहरूमा कार्यरत कर्मचारी एक हजार ७८ जनाले खोप लगाएका छन् ।
त्यस्तै, यो अवधिमा प्रदेश भरी तीन सय १७ जना पत्रकारले समेत खोप पाएका छन् । संयुक्त राष्ट्र संघ र यस अन्तर्गतका कुटनीतिक निकायमा कार्यरत ३९ जना कर्मचारीले पनि खोप लगाएका छन् ।
दोस्रो चरणमा दिइएको खोप पाउनेमा कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कोरोना महामारीका कारण मृत्यु भएकाहरूको शब ब्यवस्थापनमा खटिने नेपाली सेनाका कर्मचारी बाहेक अधिकांश ज्येष्ठ नागरिकहरू रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दोस्रो चरणमा एक लाख २८ हजार नौ सय एक जनालाई खोप लगाइएको छ ।
सक्रिय श्रम गर्ने २१ वर्षदेखि ५० वर्ष उमेर समुहका पाँच हजार सात सय सात जनाले मात्रै कोरोना विरुद्धको खोपका दुबै डोज पाएका छन् । त्यस्तै, सरकारी तथा बैंक तथा वित्तीय संस्थामा कार्यरत ५५ वर्षमुनिका कर्मचारीहरूले पनि खोप पाए पनि निजी क्षेत्रका उद्योग तथा ब्यवसायिक प्रतिष्ठानमा कार्यरत कसैले पनि खोप पाएका छैनन् । खोपको आपुर्ति नै कम रहेकोले प्राथमिकता क्रम निर्धारण गर्दा निजी क्षेत्रका उद्योग र ब्यवसायिक प्रतिष्ठानहरु नपरेको डाक्टर अवस्थीले बताए ।
कोरोना विरुद्धको खोप लगाएपछि पनि जोखिम चाही रहने जनस्वास्थ्य विज्ञहरूको भनाई छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डाक्टर अवस्थीका अनुसार खोप लगाएकाहरूलाई पनि संक्रमणको सम्भावना हुन्छ, तर खोप लिएकाहरूलाई संक्रमण भयो भने पनि मृत्युको जोखिम निकै कम हुन्छ । स्वास्थ्य निर्देशक डाक्टर अवस्थी भन्छन्– ‘यो खोप कोरोना संक्रमण हुनै नदिने वा संक्रमित भएपछि उपचारका लागि लगाइने खोप होइन । यो खोपले मान्छेको शरीररमा कोरोनासंग लड्न सक्ने गरी प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने मात्रै हो ।’
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टर शेर बहादुर कमर कोरोना विरुद्धको खोप पाएकाहरूमा संक्रमण भइहाले पनि जटिलता नआउने बताउँछन् । उनका अनुसार खोपको पहिलो डोज मात्रै लगाएका व्यक्तिमा ६२ प्रतिशत र दुबै डोज लगाएका व्यक्तिमा ८० प्रतिशतसम्म शरीरमा रोग विरुद्धको प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।
डाक्टर कमरले भने– ‘खोपले शरीरमा प्रतिरक्षा प्रणाली बलियो पार्ने हो । कोरोना संक्रमण भइहाल्यो भने पनि जटिलता आउँदैन । र, जटिलता आइहाल्यो भने पनि मृत्युदर चाँही कम गराउँछ । हाम्रै स्वास्थ्यकर्मीहरू संक्रमित हुँदा पनि जटिलता नआएकोले पनि खोप आवश्यक छ भन्ने पुष्टि हुन्छ ।’
खोप पाएपछि कोरोना संक्रमण भएका व्यक्तिहरूमध्ये कति जना जटिल खालको समस्यामा परेनन् भन्ने प्रष्ट तथ्यांक छैन । डाक्टर कमरले सेती प्रादेशिक अस्पताल सहित प्रदेशभरीका अस्पतालहरूमा कोरोना संक्रमितहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुँदा जटिलता नआएको बताए । उनले भने– ‘विभिन्न चरणमा परीक्षण भएपछि मात्रै खोप मान्छेलाई दिइएकोले प्रतिरक्षा प्रणालीलाई सहयोग पु¥याउने कुरा चाँही पुष्टि भए पनि खोप पाएको कति समयसम्म काम गर्छ ? भन्ने चाँही परीक्षणकै क्रममा रहेको छ ।’
श्रम बजारमा रहेका अधिकांश युवाहरूमा कोरोना संक्रमण देखिए पनि सरकारले अझैं यिनीहरूलाई खोपको प्राथमिकतामा राखेको छैन । नेपाल उद्योग वाणिज्य महासंघको सुदूरपश्चिम प्रदेश समितिका अनुसार सुदूरपश्चिम प्रदेशमा साना ठूला गरेर आठ सय उद्योग रहेका छन् । उद्योगहरूमा तीन हजार भन्दा बढी मजदुर कार्यरत छन् ।
त्यस्तै, यातायात क्षेत्रमा प्रदेश भरी १५ हजार मजदुर कार्यरत छन् । प्रदेशमा आर्थिक उपार्जनका क्रियकलापमा संलग्न यो जनशक्ति अधिकांश ५५ वर्षमुनिको रहेको महासंघको दावी छ ।
सुदूरपश्चिम प्रदेशमा निर्माण क्षेत्रमा मात्रै ५० हजार भन्दा बढी मजदुर आवद्ध रहेको निर्माण ब्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष चिरञ्जिवी भट्टले जानकारी दिए । निर्माण ब्यवसायमा कार्यालयमा लेखा र अन्य ब्यवस्थापनका काम गर्ने केही बाहेक अधिकांश युवा कामदारहरू रहेको उनले बताए ।
ब्यवसायिक क्षेत्रमा रहेका युवाहरू अहिले कोरोना महामारीको जोखिममा छन् । ‘कामका लागि बिभिन्न ठाउँ जानुपर्ने हुन्छ, बिभिन्न खालका मानिसहरूसित भेटघाट गर्नुपर्ने हुन्छ, हामी र हाम्रा मजदुरहरू जोखिममै छौं । कतिपय संक्रमित भएका पनि छन्, तर खै खोप लाउँदा भने यतातिर वास्ता नै गरेको पाएनौं’ अध्यक्ष भट्टले भने ।
रोजगारीमा लागेका मात्रै नभई निजी क्षेत्रमा ब्यवसायिक रुपमा बिभिन्न क्षेत्रमा लगानी गर्नेमा पनि ५० बर्ष मुनिका नागरिक नै बढी सक्रिय रहेको नेपाल उद्योग वाणिज्य महासंघको सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष शंकर बोगटीले बताए । बिभिन्न क्षेत्रमा लगानी गरेर आर्थिक गतिविधि बढाइरहेका युवाहरू महामारीको बेला सरकारको प्राथमिकतामा नपर्नु दुखद रहेको उनले बताए ।
भारतबाट प्राप्त खोपमा बिभिन्न क्षेत्रका कर्मचारी, सुरक्षाकर्मी र जनप्रतिनिधि प्राथमिकतामा परे । त्यसपछिको प्राथमिकतामा ५५ बर्ष माथिका ज्येष्ठ नागरिकहरू परे । अहिले नेपालमा चीनबाट प्राप्त भएको अर्को खोप आइपुगेको छ । यसका लागि पनि ज्येष्ठ नागरिकहरूलाई नै प्राथमिकतामा राखिएको छ ।
खोप आयात संघीय सरकारले मात्रै गर्ने र कसलाई लगाउने भन्ने सम्पूर्ण निर्णय पनि संघीय सरकार कै हुने सामाजिक विकास मन्त्रालयका प्रवक्ता समेत रहेका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए ।
खोप कार्यक्रममा जैविक दृष्टिबाट मात्रै हेरिएको बताउँदै मन्त्रालयका प्रवक्ता कार्कीले घर बाहिर काममा जानेलाई पनि खोप दिने गरी ब्यवस्था मिलाउन लागेको बताए । उनका अनुसार संघीय सरकारले असार १५ गतेसम्म देशैभरी एक करोड ५० लाख मानिसहरूलाई खोप लगाउने लक्ष्य राखेको छ । सुदूरपश्चिम प्रदेशमा पनि त्यो अवधिमा १२ लाख ५० हजार मान्छेलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा तथ्यहरूले बिभिन्न पेशा तथा रोजगारी गरिरहेका र स्वरोजगार रही अर्थिक उपार्जनमा सक्रिय जनशक्ति नै कोरोना संक्रमणमा परेको देखाउँछ । तर सरकारको प्राथमिकतामा अझै यो समुह परेको छैन ।