धनगढी । धनगढी उपमहानगरपालिकाको पूर्वतिर हुलाकी राजमार्गको मनेहरा चोकबाट दक्षिणमा वडा नम्बर १२ जुगेडाको ‘डी’ गाउँ । यो गाउँमा प्रवेश गर्ने बित्तिकै ब्यवसायिक रुपमा कृषि पेशामा आवद्ध भएका युवाहरूको उद्यम दृष्टिगोचर हुन्छ । गाउँभरीकै मानिसहरूलाई प्रेरणा दिने गरी उनीहरूले ब्यवसायिक कृषि कर्म शुरु गरेको आठ नौ महिना जति भएको छ ।
जुगेडा डी गाउँमा कोरोना महामारीका कारण रोजगारी गुमेपछि गत वर्ष लकडाउनको अवधिमा भारतबाट घर फर्केका धेरै जना युवा व्यवसायिक कृषि कार्यमा होमिएका छन् । लामो समयसम्म भारतमा रोजगारी गरेका उनीहरू कोरोना महामारीले रोजगारी गुमेपछि आफ्नै गाउँघरमा स्वरोजगार सिर्जना गर्नुपर्छ भन्ने अठोटसंगै कृषिमा जुटेका छन् ।
भांरतको नया औद्योगिक शहर अहमदावादमा १७ वर्ष काम गरेका धनगढी मिश्र कोरोना महामारी फैलिएसंगै रोजगारी गुमाएर गत वर्ष घर फर्के । अहमदावाद शहरको प्रसिद्ध होटल दी ग्राण्ड भगवतीमा काम गर्ने उनी होटलमा राम्रै कमाई गर्ने स्टाफमा पर्दथे । कोरोना महामारी बढ्दै जाँदा लकडाउन शुरु नहुँदै उनी केही महिनाको बिदा लिएर घर फर्के । महामारीसंगै लडकडाउनको अवधि पनि बढ्दै गएपछि होटल ब्यवस्थापनले उनलाई गत वर्ष को मे महिना (बैशाख) मा कारोबार सून्य भएकोले काममा राख्न नसकिने खबर पठायो । त्यसपछि उनले आफुसित भएको जग्गामा ब्यवसायिक रुपमा तरकारी खेतीमा लागे ।
शुरुमा घर वरिपरी दुई कठ्ठा जग्गामा तरकारी खेती गरेका उनले बिस्तारै आफ्नो सात कठ्ठा र भाडामा लिएको तीन कठ्ठा समेत गरी १० कठ्ठा जग्गामा तरकारी खेती गरिरहेका छन् । तरकारी खेती गर्न उनले स्थानीय एक सहकारी संस्थाबाट दुई लाख रुपैया ऋण लिएका छन् । बासुदेवले तरकारी खेतीसंगै तरकारीका बेर्ना समेत उत्पादन गरेर बिक्री गर्ने गर्दछन् । यतिवेला उनको बारीमा बोडी, लौकी, करेला, गोलभेडा, हरियो मकै र हरियो धनिया उत्पादन भइरहेको छ । उनी अहिले वर्षायामको तरकारी लगाउने तरखरमा छन् ।
बासुदेवको तरकारी खेतीमा उनको पुरै परिवार नै जुटेको छ । उनीसंगै भारतमै रोजगारी गरिरहेका उनका भाई नारायण पनि अहिले उनीसंगै तरकारी फार्म मै काम गरिरहेका छन् । बासुदेवले तरकारी खेतीसंगै भैसींपालन व्यवसाय पनि शुरु गरेका छन् । बासुदेवले तरकारी र दूध बजारसम्म पु¥याउन विद्युतीय रिक्सा समेत किनेका छन् ।
बासुदेव र नारायण दुबै जना भारतमा रोजगारीमा रहँदा घरमा बुवाआमाले धान र गहुँ खेती मात्रै गर्ने गर्दथे । उनले भने– ‘घरमा बुवा आमाले सामान्य रुपमा धान तथा गहुँ खेती गर्नु हुन्थ्यो । खासै आम्दानी हुँदैनथ्यो । व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आम्दानी पनि बढेको छ ।’
उनले आफ्नो झण्डै एक वर्षको तरकारी खेती अनुभवबारे भने– ‘हामी ब्यवसायिक तरकारी खेतीसंगै बेर्ना उत्पादनमा पनि जुटेका छौं । बेर्ना उत्पादनमा बढि मिहिनेत लाग्छ, तर आम्दानी पनि राम्रो छ ।’
तरकारी खेतीको आठ नौ महिनाको यात्राबाट उनी निकै हौसिएका छन् । भन्छन्– ‘भारतमा रोजगारी गर्दाको आम्दानी त अहिले तरकारी खेतीबाट आउन सकेको छैन, तर घरपरिवारसंगै बसेर काम गर्न पाएको छौं ।’
‘आम्दानी मात्रै सबै थोक होइन, घरबाट टाढा बसेर काम गर्दा जहिले पनि घरपरिवारको चिन्ता लाग्थ्यो’ बासुदेवले थपे– ‘अहिले सबै जना संगै छौं । घरपरिवारको सञ्चो बिसन्चोदेखि बालबच्चाहरूको पढाईमा पनि ध्यान दिन पाइएको छ । तरकारी खेतीबाट अहिले घरखर्च धानेको छ । बिस्तारै आम्दानी पनि बढ्छ भन्नेमा विश्वस्त छु ।’
बासुदेवकी श्रीमती आशा दुबै जना दाजुभाई घरमै कृषि पेशामा आबद्ध भएपछि घरखर्च पनि चलेको र घर परिवारको हेरचाह, दुःख बिरामी पर्दा पनि सहज भएको बताउँछिन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ कै ३७ वर्षका भीम बहादुर साउदले पनि गत वर्ष असारदेखि एक बिघा जग्गा भाडामा लिएर व्यवसायिक रुपमा भैसीपालन र तरकारी खेती शुरु गरेका छन् । उनले १५ गत वर्ष भारतमा कोरोना महामारी बढेपछि उनी रोजगारी गुमाएर घर फर्केका हुन् । घर फर्केपछि १४ दिनको क्वारेन्टिन बसाईका क्रममा उनले स्थायी रुपमै नेपालमै बसेर कारोबार गर्ने सोच बनाएका हुन् । अहिले उनी ब्यवसायिक तरकारी खेती र भैसीपालन गरिरहेका छन् । तरकारी खेती भैसीपालनका लागि उनले एक बिघा जमिन भाडामा लिएका छन् ।
कोरोना महामारीको दोस्रो लहरका कारण अहिले भारतका विभिन्न स्थानबाट नेपालीहरू घर फर्किने क्रम जारी छ । कोरोनाको पहिलो लहरमा गत वर्ष बैशाखदेखि भदौ महिनासम्म सुदूरपश्चिम प्रदेशका सिमा नाकाहरू हुँदै करिब साढे तीन लाख नेपालीहरू घर फर्किएका थिए । कोरोनाको दोस्रो लहर फैलिएदेखि बैशाख महिनामा ४२ हजार भन्दा बढी सुदूरपश्चिमेलीहरू घर फर्किएका छन् ।
भीमबहादुरले सुदूरपश्चिम प्रदेश सरकारको कार्यक्रमबाट ५६ हजार रुपैयाँ सहयोग पाएको बताए । पशु सेवा अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कैलालीले दिएको सो रकममा आफ्नो पुँजी थपेर उनले ब्यवस्थित गोठ बनाएको बताए । उनले आफ्नो श्रीमतीको नाममा लघु वित्त वित्तीय संस्थाबाट सात लाख रुपैया ऋण लिएर चार वटा भैसी किनेका छन् । उनका अनुसार अहिले दैनिक २० लिटर दूध बिक्री भइरहेको छ । दूध बिक्रीबाट उनले दैनिक एक हजार दुई सय रुपैयाँ आम्दानी भइरहेको बताए । उनले भने– भैसीको आहार, घर खर्च, बैंकको ब्याज र जग्गाको भाडा कटाएर दैनिक पाँच सय रुपैया बचत हुने गरेको छ ।
भीम बहादुरले भैसींपालनसंगै तरकारी खेती पनि गरिरहेका छन् । उनले ससुरालीको एक बिघा जमिन भाडामा लिएर भैंसीपालन र तरकारी खेती गरिरहेको बताए । उनले आधा कठ्ठा जग्गामा भैंसीका लागि गोठ बनाएका छन् । पाँच कठ्ठा जग्गामा घाँस लगाएका छन् भने अरु जग्गामा तरकारी खेती गरिरहेका छन् । उनले घरको अगाडी किराना पसल पनि चलाइरहेका छन् । अब भारत नजाने निर्णय गरेका भीमबहादुरले भने– ‘लगानी गरेको छु । राम्रै भइरहेको छ, अब रोजगारीका लागि फेरि भारत जान्न ।’
१५ वर्षसम्म भारतमा रोजगारी गरेका भीमबहादुर अहिले घरमै व्यवसायिक रुपमा कृषि पेसामा लागेकोमा उनको परिवार निकै खुसी छ । उनकी श्रीमती सरस्वतिले भनिन्– ‘उहाँले भारतमा कति मिहिनेत गर्नहुन्थ्यो, थाहा भएन । घर जहिले पनि थोरै रकम पठाउनु हुन्थ्यो । त्यो पैसा घरखर्चमै ठिक्क हुन्थ्यो । अहिले सबै घरमा छौं, निकै सन्तुष्टि लागेको छ ।’
एक वर्षदेखि गाउँमै ठूलो भैसीं फार्म चलाईरहेका डी गाउँकै ४३ वर्षीय जेठमा भारतबाट घर फर्केका हुन् । उनले घर फर्केपछि पारिवारिक सल्लाहपछि ब्यवसायिक रुपमा भैसीपालन शुरु गरे । मदनराजको गोठमा अहिले आठ वटा भैसीं र दुई वटा जर्सी गाई छन् । उनी दैनिक ५० लिटर दूध बिक्री गरिरहेका छन् । उनले भने– ‘दैनिक तीन हजार रुपैयाँको दूध बिक्री गर्छु । सबै खर्च कटाएर दैनिक एक हजार पाँच सय रुपैयाँ बचत हुने गरेको छ । भारतमा लामो समय काम गरे । मासिक बढिमा २५ हजार रुपैयाँसम्म कमाई हुन्थ्यो । अहिले आफ्नै कामबाट निकै सन्तुष्ट छु ।’
मदनराजले भैंसीपालनका लागि बैंकबाट १५ लाख रुपैया ऋण लिएको बताए । काम गरेका डी गाउँकै ५६ वर्षका गोरख बहादुर सिंह पनि कोरोना महामारी फैलिएपछि रोजगारी गुमाएर घर फर्किए । घर फर्केपछि उनले छोराहरूको सहयोगमा भैसीपालन शुरु गरेका छन् । अहिले उनको फार्ममा छ वटा भैसी छन् । उनका अनुसार उनले बिहान र साँझ गरेर दैनिक २५ लिटर दूध बिक्री गरिरहेका छन् ।
गोरख बहादुरसंग आफ्नो एक बिघा जमिन छ । उनले ब्यवासयिक रुपमा भैंसीपालन व्यवसाय शुरु गरेपछि उनका दुई छोराहरू पनि बुवाको काममा जोडिएका छन् । उनका छोराहरू यसअघि निजी कम्पनीहरूमा सानोतिनो जागिर गर्दथे ।
गोरख बहादुरले भैसींपालनका लागि बैंकबाट पाँच लाख रुपैयाँ ऋण लिएका छन् । उनले गाउँबाट समेत दूध संकलन गरेर बिक्री गर्दै आएका छन् ।
डी गाउँकै ४९ वर्षीय कृष्णबहादुर खडायत अहिले कुखुरापालन व्यवसायमा मग्न छन् । उनले भारतको पञ्जाब राज्यको लुधियाना शहरमा २२ वर्षसम्म गारमेन्ट उद्योगमा सुरक्षा गार्डका रुपमा काम गरेका थिए । कोरोना महामारीबीच उनले पनि रोजगारी गुमाए । उनी गत वर्ष घर फर्के । “भारतमा कोरोनाको महामारी फैलियो । कम्पनीले जागिरमा राख्न नसक्ने भन्यो” उनले भने– ‘घर आएपछि कुखुरापालन व्यवसाय थाले ।’
उनले शुरुमा गत वर्ष एक सय कुखुराबाट ब्यवसाय शुरु गरेको बताए । अहिले उनको फार्ममा करिब दुई सय स्थानीय जातको कुखुरा छन् । उनी अण्डा, जिउँदो कुखुरा र मासु बिक्री गर्दछन् ।
उनले भने– भारतमा लामो समय रोजगारी गरे । उताको कमाईले मुस्किलले घर खर्च चल्थ्यो । यति लामो समयसम्म भारतमा काम गर्दा एक पैसा पनि बचत गर्न सकिएन ।’
उनले थपे– ‘२२ वर्षसम्म भारतमा काम गरेको मेरो त रोजगारी जोगिएन भने नयाँ जाने मान्छेको के हाल भयो होला ?
उनले अर्काको देशमा जति नै लामो समय काम गरे पनि समस्या आउने बित्तिकै रोजगारी नै धरापमा पर्ने तितो अनुभव भएपछि आफ्नै गाउँघरमा केही गर्नुपर्छ भन्ने सोचसहित घर फर्किएको बताए । भने– कोरोना त बहाना भइदियो । कोरोना नआएको भए म सायद रोजगारी छोडेर घर आउने थिइन होला । कोरोनाले रोजगारी खोस्यो, तर यहाँ आफैं रोजगार बनेको छु । उनले गत वर्ष असारबाट कुखुरापालन व्यवसाय शुरु गरेका हुन् ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ डी गाउँमा अहिले भारतमा रोजगारी गुमाएर फर्किएकाहरू प्रायः व्यवसायिक रुपमा कृषि पेसामा लागेका छन् । यतिवेला डी गाउँमा जहातही तरकारी खेती, कुखुरापालन, पशुपालनका फार्म देखिन्छन् । गत वर्षदेखि व्यवसायिक रुपमा भैसींपालनमा जुटेका भवराज मिश्र आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । गत वर्षसम्म उनी भारतमा रोजगारी गर्दथे । कोरोना महामारी फैलिएपछि नेपालमा लकडाउन शुरु हुनुको १५ दिन अघि उनी घर फर्केका थिए । उनले भने– ‘कम्पनीसित बिदा मागेर घर आए । पछि साहुले फोन गरेर “लकडाउन कम्पनी घाटामा गएकोले रोजगारी दिन नसक्ने” खबर गरे । मैले धेरै सोचविचार गरे । अनि फार्म दर्ता गरेर भैसीपालन शुरु गरे ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नाका ललित शाहले पनि धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ मा १० कठ्ठा जग्गा भाडामा लिएर भैसीपालन गरिरहेका छन् । उनी भारत राजस्थान, जयपुरमा रोजगारी गर्दथे । कोरोना कहरकै बीच घर फर्किएका ललितले ससुरालीको जमिन भाडामा लिएर भैसीपालन शुरु गरेको बताए ।
उनको फार्ममा अहिले चार वटा भैसी छन् । “विस्तारै व्यवसाय विस्तार गर्छु” उनले भने– ‘अछाम पनि भैसीपालन गरेको थिएँ, तर बजारको समस्या भएपछि यता आएँ ।’
कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्केका तथा गाउँमै व्यवसायिक रुपमा कृषि पेसामा लागेकाहरूका कारण अरुहरूलाई पनि प्रेरणा मिल्ने शिक्षक तर्कराज जोशीको बझुाई छ । उनी भन्छन्– ‘आफ्नो जमिन बाँझो राख्ने, तर बजारबाट तरकारी किनेर खानेहरूले पनि अहिले उनीहरूको सिको गरेर आफ्नै लागि भए पनि तरकारी लगाउन थालेका छन् । गाउँमा यतिवेला तरकारी लगाउने लहर जस्तै चलेको छ ।’
वडा नम्बर १२ का अध्यक्ष गणेशराज जोशी पनि कोरोना महामारी कारण भारतबाट घर फर्केकाहरू गाउँमा ब्यवसायिक रुपमा कृषि व्यवसायमा लागेका कारण वडाभरी विस्तार हुँदै गएको बताउँछन् । वडाध्यक्ष जोशीले भने– ‘अहिले वडा नम्बर १२ का बिभिन्न गाउँबाट दैनिक पाँच सय लिटर बढी दूध बिक्रीका लागि गइरहेको छ ।’
उनले कोरोना माहामारीका कारण वडाले पाउने बजेटमा कटौती भएकोले कृषकहरूलाई प्रत्यक्ष सहयोग गर्न नसकिए पनि स्थिति केही सहज भएमा उनीहरूलाई सहयोग पुग्ने खालका कार्यक्रम ल्याउने बताए ।
कोरोना महामारी फैलिएपछि गत वर्ष भारतका विभिन्न स्थानमा रोजगारी गरिरहेकाहरू घर फर्किने क्रममा धनगढी उपमहानगरपालिकाका दुई हजार चार सय ४५ जना फर्केको तथ्यांक छ । उपमहानगरपालिकाको बिपद ब्यवस्थापन शाखा प्रमुख हरिप्रसाद भट्टका अनुसार गत वर्षको चैत १५ गते यता फर्किएका व्यक्तिहरूको मात्रै तथ्यांक राखिएको छ ।
धनगढी उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले जोड्न कुनै कार्यक्रम नबनाइएको जानकारीं दिए । उनले भने– ‘कोरोना कहरमा हामीले सबै भन्दा बढी क्वारेन्टिन ब्यवस्थापन र आइसोलेसन वार्ड सञ्चालन गर्नमा नै बढि खर्च गर्नु परेकोले कृषि कार्यक्रमका लागि बजेट राख्न सकिएन ।’
त्यस्तै, धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखाले पनि पशुपालक किसानहरूका लागि यस्तो कुनै कार्यक्रम बनाएको छैन ।
उपमहानगरपालिकाका कृषि शाखा प्रमुख उपाध्यायले कार्यक्रम नै नभएपछि कोरोना महामारीका कारण रोजगारी गुमेपछि भारतबाट फर्केकाहरू कति जना कृषि पेसामा संलग्न भए भन्ने कुराको पनि कुनै खोजी नगरिएको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारले भने कृषि र पशुपालनमा लाग्न चाहनेहरूका लागि केही रकम सहयोग कार्यक्रम ल्याएको छ । प्रदेश सरकारको मातहतमा रहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत खगेन्द्र शर्माका अनुसार धनगढी उपमहानगरपालिकामा ४० जनाले ब्यवसायिक कृषि व्यवसायमा सहयोग पाएका छन् ।
कृषि ज्ञान केन्द्रले किसानहरूलाई आफ्नो ५० प्रतिशत लगानी रहने गरी परियोजना बनाउन लगाएको र ब्यवसाय शुरुवातका लागि ४० जनालाई ३० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको प्रमुख बरिष्ठ कृषि विकास अधिकृत शर्मा बताउँछन् । उनका अनुसार यसरी सहयोग पाएका ४० जना कोरोना महामारीका कारण भारतबाट रोजगारी गुमाएर घर फर्केकाहरू हुन् ।
त्यस्तै, भेटेरेनरी अस्पताल तथा पशु सेवा विंज्ञ केन्द्र कैलालीले पशुपालनक लागि व्यवसाय शुरु गर्न सहयोग गरेको जनाएको छ । पशु सेवा बिज्ञ केन्द्र कैलालीका प्रमुख बसन्त सिंहका अनुसार गाई र भैंसीपालन ब्यवसाय गर्न चाहनेका लागि ५६ हजार रुपैयाँ, बंगुरपालन गर्न ६० हजार, कुखुरापालन गर्न ४० हजार रुपैयाँ सहयोग गरिएको छ ।
पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख सिंहका अनुसार जिल्लाभरीबाट चार सय ५० जनाले र धनगढी उपमहानगरपालिकाका विभिन्न वडाबाट दुई सय जनाले आवदेन दिएका थिए । उनले भने– ‘प्राप्त भएका आवेदनमध्ये एक सय ७० जनाका प्रस्ताव स्वीकृत गरेर सहयोग रकम उपलब्ध गरायौं ।’