धनगढी पोष्ट
बुधबार, २२ भदौ २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशको भुकम्पिय प्रतिकार्य योजना बनाउने तयारी भएको छ । भुकम्पको उच्च जोखिममा रहेको प्रदेशमा भुकम्पबाट हुन सक्ने क्षतिको आँकलन गर्दै न्यूनिकरणका प्रयाससहितको प्रतिकार्य योजना बनाउन लागेको हो ।
मंगलबार धनगढीमा सुपर परियोजनाद्धारा आयोजित सुदुरपश्चिम प्रदेश तथा धनगढी उपमहानगरपालीको परिदृश्य भुकम्पमा आधारित प्रभाब आंकलन कार्यक्रममा भुगर्भ विद डाक्टर दिपक चौलागाईले विज्ञ तथा सरोकारवालाहरुसंग छलफल तथा रायसुझाव संकलन गरि सो कार्ययोजना बनाइने बताए ।
सुदूरपश्चिम प्रदेश भुकम्पको उच्च जोखिममा रहेको भन्दै ‘ अब भुकम्पीय प्रकोप र जोखीम आँकलन गरी साइस्किम माइक्रोजोनेसन गरी परिदृष्यमा आधारित कुल क्षती र नोक्सानी आँकलन गर्ने योजना बनाउनुपर्ने छ ।’
उनले उच्च भुकम्पीय जोखीम प्रकोप सुदुरपश्चिम प्रदेशको चुरे तथा लेसर हिमालय क्षेत्रमा रहेको बताए । सापेक्षिक रुपमा उच्च भुकम्पीय जोखिम जिल्लामा अछाम, डडेल्धुरा, बैतडी, कञ्चनपुर, कैलाली र डोटी परेका छन् । प्रदेशको जमिनको उच्च प्रवेग शून्य दशमलब ३० जि देखी शून्य दशमलब ३७ जि भुकम्पको कम्पन गएको बताए ।
उनका अनुसार यदि प्रदेशमा आठ दशमलब छ रेक्टरको भुकम्प बिदाको दिन गएमा १० हजार सात सय ९७ जना, रातीको समयमा १६ हजार सात सय ७२ जना र दिउँसो अर्थात कार्यालय समयमा भुकम्प गएमा सात हजार सात सय ६६ जनाको मृत्यु हुन सक्ने आँकलन गरिएको छ ।
कैलाली जिल्लामा मानिसको मृत्यु बढी हुने सम्भावना रहेको छ । जसमध्ये धनगढी उपमहानगरपालीकामा बिदाको दिनमा पाँच सय २३, रातीको समयमा एक हजार एक सय ६८ र दिउँसो अर्थात कार्यालय समयमा भुकम्प गएमा सात सय ७३ मानिसको मृत्यु बढी हुने सम्भावना रहेको आँकलन गरिएको छ ।
प्रदेशमा बाढी पहिरो आगलागी, चट्याङ तथा भुकम्प लगायतका विपदका घटनाबाट जनधनको क्षति हुने गरेको छ । उनका अनुसार बिगत १० बर्षको अवधीमा सुदुरपश्चिम प्रदेशमा दुई हजार एक सय १९ विपदका घटना भएको बताए ।
सन् २०११ देखी २०२१ सम्ममा एक सय २७ जना पुरुष र एक सय ११ जना महिला गरी दुई सय ३८ जना मृत्यु भएको छ । जसमा सबैभन्दा बढी पहिरो र चट्याङ्गका कारण मृत्यु भएको छ । यस्तै नौ सय ३७ जना मानिसहरु बिपदका घटनाबाट घाईते भएका छन् । पाँच हजार तीन सय ४५ घर क्षतीग्रस्त भएकोमा चार हजार दुई सय आठ आशिक र एक हजार दुई सय २७ घरहरु पूर्ण रुपमा क्षती भएका छन् ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा विपदको जोखिमयुक्त प्रदेशका रुपमा रहेको बताए । उनले प्रदेश जोखियुक्त रहेकाले भूकम्पको मात्रै नभई विपद सम्बन्धी सचेतना मुलक कामहरु अगाडि बढाउन आवश्यकता रहेको बताएका हुन ।
सुदूरपश्चिम तराई, चुरेदेखि लिएर महाभारत लगायत हिमालय महत्वपूर्ण भएपनि त्यहाँ भएको भूबनोट संरचनाहरु जोखिमपूर्ण रहेका विपदबारे गम्भिर भएर अगाडि बढनुपर्नेमा जोड दिए । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये केही स्थानीय तहले विपद सम्बन्धी कामहरु गर्दै आएको उनले बताए । सूचाकका आधारमा केही किसानको बिमा समेत गरेकोे भन्दै उनले चालु आर्थिक वर्षसम्म १३ हजार समूहलाई बिमीत गर्न तयारीमा रहेको उनले बताए ।
अब घर बनाउँदा माटो परिक्षण गरेर मात्रै भवन निर्माण गर्नुपर्ने उनको भनाइ छ । विपदलाई न्युनीकरण गर्ने तिनै तहको सरकारले समन्वय गरेर अगाडि बढनुपर्ने उनले बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा रहेको बताए । भकम्पबाट बच्चको लागि पूर्वतयारीमा जुटन स्थानीय तहलाई आग्रह गरे ।
अब बन्ने नयाँ भवन निर्माण गर्दा भूकम्परहित बनाउनुपर्ने उनले बताए । भवन निर्माण गर्दा गुणस्तरीय सामान प्रयोग भएको छ कि छैन चेकजाँच गर्नुपर्ने उनको भनाइ छ । भुकम्प रहित कार्यक्रम गरेर जनचेतना फैलाउनुपर्ने उनले बताए ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल रहेका थिए ।
कार्यक्रममा प्रदेशमा विपदको अवस्था, विभिन्न निकायले गरेका गतिविधी लगायतका बारेमा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी, धनगढी उपमहानगरपालिका विपद शाखा प्रमुख लेखनाथ ओझा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप वेर्शा लगायतले प्रस्तुतिकरण गरेका थिए ।